|

भक्तपुर : मध्यपुर थिमि–९ निकोशेरा कुण्डोलमा एउटै परिवारका तीन जना मृत अवस्थामा फेला परेको घटना हत्यापछि आत्महत्या हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको छ।

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार मृतक सुदिप अधिकारीले छोरा सुशान्त र श्रीमती सम्झनाको सुतेकै स्थानमा हत्या गरेर त्यसको तीन दिनपछि आफूले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने देखिएको जानकारी दिए।

प्रहरीले घटनास्थलसँगै रहेको धानखेतबाट आज शनिबार बिहान २ वटा सेल्फस नामको विषादीको बट्टा बरामद गरेको छ। सेल्फस एकदमै कडा विषादीको रुपमा लिइन्छ।

प्रहरीका अनुसार सुदिपले भदौ २२ गते राती श्रीमति र छोराको हत्या गरेर २५ गते आफूले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने अनुसन्धानले देखाएको छ।

‘२२ गते राति सुतिरहेको अवस्थामा पहिला श्रीमतीलाई टाउकोमा फलामको दाउले हानेर मारेर तल आई छोरालाई त्यही दाउले टाउकोमा हानी मारेको अनुसन्धानले देखाएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘श्रीमतीको शव हेर्दा खासै मर्नका लागि संघर्ष गरेको देखिँदैन। तर, छोराको शव हेर्दा टाउकोमा गहिरो चोट देखिएको छ। सुतिरहेको अवस्थामा बेडमै दाउले अन्धाधुन्ध प्रहार गरेर मारेको देखिएको छ। छोराको शव भएको कोठाका भित्ताहरुमा रगत छरपष्ट देखिएको छ।’

प्रहरीका अनुसार सम्झनाको शव उत्तरपट्टि टाउको राखेर आनन्‍दले सुतेको र रामराम लेखिएको कात्रोले छोपिएको, शरीरको पछाडि टाउकोमुनि पूरै भिजेको र किरासमेत परेको अवस्थामा थियो भने छोरोको शव पहिलो तल्लाको बेडमा घोप्टो परेर किरै किरा परेको अवस्थामा फेला परेको थियो। छोराको शवलाई पनि रामराम लेखिएको कात्रोले छोपिएको थियो।

‘सुदीप भने माथिल्लो तल्ला कौशी जाने ढोकामा लडिरहेको अवस्थामा भेटिएको हो। सँगै बमिट गरिरहेको छ। सबभन्दा तल ढोकाबाट भर्‍याङमाथि कुकुर मरिरहेको अवस्थामा फेला परेको थियो,’ ती प्रहरी अधिकृतले भने।

घटनास्थलको प्रकृति हेर्दा २२ गते छोरा र श्रीमतीलाई मारेर सुदिपले २३ र २४ गते खाना पकाएर खाएको देखिएको छ। भान्छामा फर्सीका मुन्टाहरुको साग फेला परेको तर खासै नकुहिएको र अलि पहेँलो अवस्थामा रहेको प्रहरी स्रोतले जानकारी दिए।

‘२५ गते श्रीमती र आफनो मोबाइल स्विच अफ गरेर सेल्फस भन्ने २ वटा विष सेवन गरी आत्महत्या गरेको देखिन्छ,’ ती प्रहरी अधिकृतले भने, ‘आज बिहान घरसँगैको धानबारीमा सेल्फस विषको २ वटा बट्टा भेटिएको छ।’

प्रहरीका अनुसार अधिकारी दम्पतीमा पारिवारिक मेल थिएन। प्रहरीलाई सुदीपको नातेदारले बताएअनुसार सुदीप बेरोजगार थिए।

घर बैंकमा धितो, २ लाख ऋण लिएर पसल

उनको कुनै काम नभएपछि श्रीमती सम्झनाले माइतीबाट २ लाख ऋण लिएर पसल गरेको देखिन्छ। घर पनि बैंकमा धितो रहेको भन्ने बुझिन आएको छ। तर, शनिबार बैंक बिदा भएका कारण विस्तृत जानकारी खुल्न सकेको छैन। अधिकारी दम्पतीबीच बारम्बार झगडा भइरहने बुझिन आएको प्रहरीले बताएको छ।

प्रहरी स्रोतका अनुसार अधिकारी परिवार भदौ २१ गते श्राद्धको भोज खाएर राति घर फर्केको खुल्न आएको छ। स्थानीय एक महिलाले पनि २१ गते करिब ७ बजेतिर माथि घरमा सोह्रश्राद्धको भोज खाएर आएको भनी मृतक सम्झना अधिकारीले बताएको जानकारी दिए।

‘३ दिन अगाडिसम्म खुलेको पसल अचेल बन्द थियो। लकदाउन भएर पसल नखोलेको होला भनेर बसेको यस्तो घटना हुन्छ भनेर सोचेकै थिएन,’  उनले नाम नबताउने शर्तमा भने, ‘२१ गते ७ बजेतिर माथि घरमा सोह्रश्राद्धको भोज खाएर आएको भनी हामीलाई बोलेरै गएको थियो। खासै हत्या किन भयो, कसले गर्‍यो केही थाहा छैन। केही आवाज सुनेको पनि थिएन।’

प्रहरीले तीन जनाको शव पोष्टमार्तमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ। पोष्टमार्तमको रिपार्ट आएपछि मात्र घटनाको बारेमा थप जानकारी हुने र घटना कहिले भएको भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ। घटनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विज्ञको टोलीले समेत अध्ययन गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.