|

ताराप्रसाद ओली

सत्ताधारी पार्टी नेकपाको अढाई महिना लामो तानातान स्थायी कमिटीमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मिलापत्रको कागज अनुमोदन गर्दै टुंगिएको छ।

प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा दिनु परेन, महिनौँ लामो अन्तरसंघर्षको परिणाम हात्ती आयो, हात्ती आयो फुस्सा भनेजस्तै भयो।

प्रचण्ड, माधव नेपाल पक्ष चिसो पानीले नै नुहाउन बाध्य भए, आउँदो चैत २५ गतेदेखि महाधिवेशन गर्ने निर्णयसहित पार्टीभित्रको द्वन्द्वमा अल्पविराम लाग्यो, अस्थायी युद्धविराम भयो।

भनिन्छ, फलहरू पाकेपछि झर्छन्, विवादहरू थाकेपछि मिल्छन्। विधिको आवरणमा भएको पदीय अन्तरकलह पनि अन्ततः अध्यक्षद्वयको कार्यविभाजन, महाधिवेशन, संघीय तथा प्रदेश मन्त्रीपरिषदको पुनर्गठन जस्ता विषयमा सहमति भएर मिल्न पुग्यो। विभाजनको संघारमा रहेको भनिएको नेकपा दुर्घटनाबाट जोगियो।

पार्टीभित्रका विवादहरू छताछुल्ल सडकमा पोखिए। नेताहरूका हैसियत देखिए। एकले अर्कालाई नंग्याउने भन्दै आफैं नांगिए पछि स्थायी कमिटीको बैठकले पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा लेख्न बन्देज लगाउने गजबको निर्णय गर्यो।

समस्याका कारक नेताहरू

चे ग्वेभाराको प्रसिद्ध कथन छ, “पूँजीवाद भनेको ब्वाँसाहरूको दौड हो, एक अर्कालाई सिध्याउन, एकले अर्कालाई खान दौडिरहेका छन्।” नेपाल कम्प्युनिष्ट पार्टीका नेता कार्यकर्ता पनि अहिले पुजीँवादको भासमा जाकिएका छन्।

उनीहरूलाई असिमित धन थुपार्ने लालसा जागेको छ। शहरमा महंगा गाडी, करोडौँका घर घडेरीले नेताहरूको मन तानेको छ। शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा समेत नेता कार्यकर्ताहरूको लगानी अत्याधिक रुपमा बढ्दो छ।

नेकपासँग अहिले समाजवादी चरित्र छैन्। नेताहरूको जीवनशैली तडकभडकपुर्ण र विलासी बनिरहेको छ। नेताहरूमा व्यक्तिवादी चिन्तन एवं मपाईंत्व झांगिदै गएको छ। कम्युनिष्ट नेताहरू छोटे महाराज, नवसामन्त तथा नव धनाढ्यको रुपमा परिचित हुन थालेका छन्।

पार्टी र सरकार अहिले बिचौलिया एवं दलालहरूको घेराभित्र कैद भएको छ। वर्तमान सरकारले काण्डहरूमा रेकर्ड कायम गरेको छ। अर्का अध्यक्ष प्रचण्ड घरबेटीका कारणले बदनाम छन्। नेता र कार्यकर्ताभित्र कमरेड्ली भावना छैन, हार्दिकता छैन, सुमधुर सम्बन्ध छैन। सम्बन्धहरू व्‍यापारमा परिणत भएका छन्।

नेकपाका शिर्ष नेताहरू महिनौँ सम्म आरोप प्रत्यारोपमा उत्रिए, अरुको साख गिराउन खोज्दा आफु ध्वस्त भएको सुइको नै पाएनन्। कार्यकर्ताको नजरमा, जनताको नजरमा नेकपाका सबै शिर्ष नेताहरू अलोकप्रिय भइसकेका थिए।

कोराना महामारीका कारण जनताको चुल्हो बल्न छोडेको बेला पदको लडाईको बेमौसमी बाजा बजाएको भनेर नेताहरू आलोचित भइरहेका थिए। नेकपाको विवाद सामान्य शुभचिन्तक एवं समर्थक सम्म पुगिसकेको थियो।

पार्टीको नेतृत्व सम्हालिसकेका प्रधानमन्त्रीको सिंहासनमा बसिसकेका नेकपा शीर्ष नेताहरू नै पार्टी निर्णयको पालना गर्दैनन् नेतृत्वको सम्मान गर्दैनन्, पार्टी नीतिअनुसार चल्दैनन् अनि कार्यकर्तालाई खबरदार! पार्टी नीति, नेतृत्व निर्णयको विरोध गर्न पाइदैन भनेर धम्काउँछन्, तर्साउँछन, हप्काउँछन्

शिर्ष नेताहरू आफैँ गतिछाडा भएर कार्यकर्तालाई  नैतिकवान बन भनेर उपदेश दिनु अनैतिक कुरा हो। सबैभन्दा पहिले नेताहरू नै सच्चिनुपर्छ, सुध्रनुपर्छ, अनुशासित बन्नुपर्छ, विधि र प्रक्रिया अनुसार चल्नुपर्छ अनि समस्याको समाधान स्वत हुनेछ।

निष्ठामाथिको अनुचित प्रश्न

कुनै पनि कार्यकर्ता आफ्नो पार्टी प्रति प्रतिवद्ध हुन्छन्। पार्टी प्रति उनीहरूको आस्था जोडिएको हुन्छ, विश्वास जोडिएको हुन्छ, सपना जोडिएको हुन्छ, जिन्दगी जोडिएको हुन्छ, भविष्य जोडिएको हुन्छ।

जुन पार्टीमा आफ्नो लगानी छ, मेहनत छ, संघर्ष छ, लगाव छ, त्यो पार्टी समाप्त होस्, अस्तव्यस्त होस, लथालिङ्ग होस भनेर कोही पनि चाँहदैनन्। कार्यकर्तालाई मुटु माथि ढुंगा राखी हास्नु पर्या छ भन्ने अवस्थामा पुर्‍याएर कुनै पनि पार्टी बलियो हुन सक्दैन।

सामाजिक सञ्जाल अन्तिम विकल्प

जब पार्टीभित्र कार्यकर्ताको आवाज र मागको सम्बोधन हुँदैन, उनीहरूलाई पीरमर्का सुनाउने अवसर प्राप्त हुदैन, गम्भीर छलफल हुदैन, मन माझामाझ हुदैन तब मात्र पार्टीभित्रका अन्तर्कथाहरू छताछुल्ल सडकमा पोखिन्छन्।

हरेक कार्यकर्ताको चाहना घरभित्रको झगडा घरभित्र नै मिलोस भन्ने हुन्छजब कार्यकर्ता सडकमा कराउन थाल्छन, तब नेतृत्वले बुझ्न जरुरी कि कार्यकर्ताले अन्तिम अस्त्र प्रयोग गर्दैछन्आफ्ना प्रिय नेताका विरुद्ध सामाजिक सञ्जालमा पिडा पोख्ने रहर कुनै पनि कार्यकर्तालाई अवश्य हुँदैन

पार्टीभित्र कार्यकर्ताको गुनुवाई सुनवाई हुने परिपाटीको थालनी नभएसम्म विवादहरू सडकमा पोखिने क्रम रोकिन सक्दैन। पार्टी विधि, प्रक्रिया र संस्थागत रुपले सञ्चालन भएमा मात्र पार्टीभित्रका अन्तरद्वन्द्व हल भएर जान्छन्।

जुन पार्टीको केन्द्रिय समिति नै ४४१ जनाको छ। जुन पार्टीमा केन्द्रिय सदस्यहरूले नै खुलेर आफ्ना कुराहरू राख्न पाउँदैनन्। त्यो पार्टीमा कार्यकर्ताहरूले मनमा लागेका कुराहरू निर्धक्क नेतृत्व समक्ष राख्न पाएका छन् भनेर परिकल्पना गर्न सकिँदैन।

जुन पार्टीभित्र पनि थोरै कार्यकर्ताहरू मात्र नेतृत्वको पहुँचमा हुन्छन्। पार्टीभित्र सिमित तप्काको मात्र हालीमुहाली हुन्छ, थोरैले मात्र अवसर प्राप्त गरिरहेका हुन्छन्। पार्टीमा त्याग, तपस्या र लगानी भएका हजाँरौ कार्यकर्ताहरूले अवसर प्राप्त गर्न सकिरहेका हुँदैनन्।

जिम्मेवारी पाएका नेता कार्यकर्ताहरू पनि अवसरवादमा चुर्लुम्म डुबेका हुन्छन्। अवसरवादी नहुनेले जिम्मेवारी नै पाउँदैन। पार्टीभित्रका कार्यकर्ताहरूले न नेतालाई भनेको समयमा भेट्न पाउँछन्, न उनीहरूको फोन उठ्छ, न कार्यकर्ताको भावना कदर गरिन्छ। न त पार्टीका भेला, बैठकहरू नियमित रुपमा हुन्छन्।

पार्टीभित्र आफ्ना कुराहरू सुनाउने सबै प्रयत्नहरू असफल भएपछि मात्र कार्यकर्ताहरू चोक, चौतारी, सामाजिक सञ्जालमा आफ्ना दुखेसो तथा गुनासा पोख्ने गर्छन। यो कार्यकर्ताको अन्तिम विकल्प हो, कार्यकर्तालाई धित मरुन्जेल पार्टीभित्र आफ्ना कुरा राख्न दिने हो भने स्वतः यस्ता समस्याहरू हल भएर जान्छन्।

हिटलरको भाले नेकपा कार्यकर्ता

जर्मन तानाशाह हिटलरले एकदिन संसदमा एउटा जिउदो भाले लिएर आए अनि सबैका अगाडि एक एक गर्दै भालेको प्वाँख उखेल्दै गए।

प्वाँख उखेल्दै जाँदा भाले पिडाले छटपटाउदै गयो, तर हिटलरले सबै प्वाँख नसकिएसम्म उखेल्न छाडेनन्। तर भाले जिउँदै रह्यो, अनि भालेलाई स्वतन्त्र छोडिदिएर एक दुई दाना मकैका दाना दिन थाले।

जब हिटलर अरु एक दुई दाना झार्दै हिड्थे तब त्यो घाइते भाले दानाको आशामा पछिपछि लागिरहन्थ्यो। दानाको आशामा हिटलरलाई पछ्याइरहँदा भालेले बिर्सियो कि आफ्नो त्यो हाल बनाउने व्यक्ति हिटलर नै थिए। त्यसपछि हिटलरले सभामुखलाई सम्बोधन गर्दै भने सभामुख महोदय, “संसदीय व्यवस्थामा जनता र नेताविच यस्तै सम्बन्ध हुन्छ। नेताले देशलाई पुरै नांगो बनाउदा पनि जनता नेताको पछिपछि लाग्न छोड्दैन।”

आजका नेकपा कार्यकर्ता पक्कै पनि तानाशाह हिटलरका भालेहरू होइनन् नेताहरूले देश पार्टीलाई तहसनहस खोक्रो बनाउदा पनि वडा सदस्यको लोभले, गाँउपालिका अध्यक्षको लालसाले, सांसदको प्रलोभनले, मन्त्रीको आशाले नेतृत्वको पछिपछि लाग्नेछन्

आजको दिनमा देश, जनता र कार्यकर्ताको भविष्य नै चौपट र बर्बाद पार्ने क्रियाकलापहरू नेतृत्वबाट भइरहदा कार्यकर्ताले त्यसको विकल्प खोज्ने छैनन् भनेर कल्पना गर्नु मुर्खता सिवाय अरु केही पनि होइन।

रू बांगै महाराज !

प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणासँग जोडिएको एउटा सन्दर्भ यहाँनेर सान्दर्भिक हुन्छ। कुनै दिन जंगबहादुर राणा सैनिकहरूको फौजसहित चितवनको दक्षिणी भेगमा शिकार गर्न गएछन्।

त्यसै समयमा उनले फौजका विभिन्न कमाण्डरहरूको इमान्दारी र सत्यनिष्ठा जाँच्नका लागि यौटा गजबको जुक्ति निकाले। उनले जंगलमा सबैभन्दा धेरै बांगो टिंगो परेको रुखलाई देखाउँदै भनेछन्,  “हेर त कमाण्डरहरू हो, यो रुख कस्तो सर्लक्क परेको सिधा रुख रहेछ। हो कि हैन ? भन त।”

उनको यस्तो कुरा सुनेर चाकरी गर्न खप्पिस कमाण्डरहरूले हो मा हो मिलाउन थालेछन्, जंगबहादुर राणाको मन जित्ने अवसरको रुपमा देखेर कसैले सुतेर हेर्दा रहेछन् र भनेछन्, “महाराज यो रुख त यहाँबाट झन सिधा देखियो।”

अर्को कमाण्डरले दुरविनले हेरेजस्तो गरेछ र भनेछ, “ महाराज, यहाँबाट त झन् सिधा देखियो। यो रुख त काटेर लैजानपर्छ, रानी साहेबहरूलाई डोली बोक्न काम लाग्छ।” यसरी पालैपालो धेरैजनाले बांगो रुखलाई सिधा भएको भनेछन्।

एकजना सैनिक कमाण्डरले डराईडराई साहस जुटाएर भनेछन्, “महाराज, हजुरका आँखा फुटेका हुन् कि मेरो गर्धन चिलाएको हो, मैले त मेसो पाउन सकिनँ। यो रूख त ज्यादै बांगो पो छ महाराज। महाराजले भनिबक्स्यो भन्दैमा बांगोलाई सोझो भन्न सकिएन।”

सत्य बोल्ने आँट गर्ने ती सैनिक कमाण्डर पुरस्कृत भएछन्। दुई थप फुली हात पारे रे। शासकको अगाडि साँचो कुरा बोल्ने औकात, साहस र हिम्मत जो कोहीको हुँदैन।

निरक्षर र अल्लारे उमेरका राणा प्रधानमन्त्री जंगबहादुर राणा जत्तिकै चेतना केपी ओली र  पुष्पकमल दाहाल जत्तिको नेतामा नहुने कुरै भएन। तर कार्यकर्ताले भने सहास गुमाउँदै गएका छन्।  

पार्टी एकताले पूर्णता पाएको छैन। पार्टी केवल गुटहरूको मोर्चा बनिरहेको छ। पार्टीभित्र चर्को अन्तरकलह छ, अन्तरद्वन्द्व छ, पार्टी प्रणाली भत्किएको छ। जनताको नजरमा सरकार गिर्दै गएको छ, नेता र कार्यकर्ताको जीवनशैलीमा आकाश र जमिनको अन्तर छ।

जनताका नजरमा सरकार र कार्यकर्ताका नजरमा नेता गिरेका छन्। अर्को चुनावमा कसरी जनताको विचमा अनुहार देखाउने भनेर कार्यकर्ता तनावमा छन्।

यस्तो अवस्थामा कार्यकर्ताले कसरी पार्टी र सरकार ठिक ढंगले चलिरहेको छ भन्न सक्छन्?

पार्टीले बाटो बिराएको बेला हिम्मत गरेर कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने कार्यकर्ताको मुख थुनेर कम्युनिष्ट पार्टी कसरी जिउँदो रहन सक्छ ? रुख त बांगो छ महाराज भनेर साँचो बोल्ने साहस गर्ने कार्यकर्तालाई अनुशासनको डण्डा बर्साएर पार्टीको अस्तित्व कसरी जोगिन सक्छ?

अझैँ नांगिने कि सच्चिने?

डेनिस लेखक ह्यान्स क्रिस्चियन एनडरसनको एउटा कथा चर्चित छ, महाराजको नयाँ पोशाक। कथामा दुई सूचीकारले सम्राटलाई एउटा यस्तो पोशाकको बाचा गर्छन् जसलाई अक्षम र मूर्खहरूले देख्न सक्दैनन्।

खासमा उनीहरूले कुनै पोशाक बनाउँदैनन् र राजालाई पोशाक अदृश्य भएको पत्याउन बाध्य पार्छन्। जब सम्राट् पोशाक लगाएर प्रजासामु उपस्थित हुन्छन्। तब अक्षम र मूर्ख सावित हुने भ्रम र राजाको भयले कोही चुइक्क बोल्दैनन्। तर, एउटा सानो बालकले भनिदिन्छ – महाराज त नांगै छन्।

सैद्धान्तिक विचलन, जनविरोधी र अलोकप्रिय निर्णय, नेताहरूको विलासी र भ्रष्ट चरित्रको कारण नेताहरूको छवि धुमिल हुँदै गएको। जनताको नजरमा उनीहरू गिर्दै गएका छन्, नांगिदै गएका छन्।

कार्यकर्ताहरू नेताको चित्र र चरित्र देखाउन सक्ने वास्तविक ऐना बन्न सक्नुपर्छ। तब मात्र नेकपा पार्टी नेपाली राजनीतिमा जिउदो रहन सक्छ, अन्यथा यो पार्टी पनि संसारभरका कम्युनिष्ट पार्टी जस्तै इतिहासको पानामा सिमित हुन पुग्नेछ।

ओली प्रचण्ड स्टालिन बन्न सक्दैनन्

सोभियत कम्युनिष्ट पार्टी भित्र स्टालिनको नेतृत्व कस्तो थियो भन्ने बारेमा कमसेकम नेकपा नेता कार्यकर्ताहरू राम्रोसँग जानकार छन्।

सन् १९३४ देखि १९३९ सम्मको पाँच वर्षको अवधिमा लगभग ५० लाख पार्टी सदस्य गुटगत प्रतिसोधका कारणले प्रताडित भए। तीमध्य झण्डै पाँच लाखको हत्या नै गरियो।

स्टालिनले पार्टीको केन्द्रिय कमिटिका १३९ जना मध्य ९३ सदस्यको हत्या गराएको आरोप छ, सेनाका १०३ जना जनरल र एडमिलरमध्ये ८१ जनालाई मारेको आरोप छ।

रोचक प्रसंग के छ भने सन् १९३४ मा पार्टीको सत्रौँ महाधिवेशमा भाग लिन आएका १,८२७ प्रतिनिधिहरू मध्ये सन् १९३९ को अठारौँ महाधिवेशनमा ३७ जना मात्र बचेका थिए।

५ मार्च १९५३ को राति तत्कालिन सोभियत युनियनका राष्ट्रपति जोसेफ स्टालिनको मृत्यु भयो, ६ मार्चको बिहान ४ बजे रुसी जनतालाई स्टालिन यो धर्तीमा नरहेको जानकारी गराइयो।

रेड स्क्वायर मस्कोमा सोभियत युनियन र कम्युनिष्ट पार्टीको झण्डा ओडाएर राखिएको स्टालिनको लासलाई ट्रेड युनियन हलमा सार्ने आदेश दिइयो।

सत्ताको बागडोर सम्हाल्न वित्तिकै निकिता ख्रुस्चेभ आफ्ना लावालस्कर सहित स्टालिनको मृत शरिर राखिएको हलमा पुगे। मृत स्टालिनको जुंगा मुर्सान थाले, मृत शरिरको जुंगा मुसारको देखेपछि भीडबाट कसैले सुस्तरी बोल्यो, “बाँचुन्जेल केही गर्न सकेनन्, मरेपछि जुंगा मुर्साछन्।"

भीडको आवाजलाई ख्रुस्चेभले प्रष्ट सुने र ठुलो गर्जनका साथ प्रश्न गरे, कसले भनेको बाँचुन्जेल केही गर्न सकेन? मरेपछि जुंगा मुर्साछ। निकिताको सवाल र गर्जनको अगाडि कोही बोलनन्, सबका सब चुपचाप भए, वातावरण शान्त भयो।

 सियो खसेको वातावरणलाई भङ्ग गर्दै ख्रुस्चेभले हाँस्दै भने, “हो, स्टालिन  जिवित हुँदा सम्म मेरो हालत पनि तपाईहरूकै जस्तो थियो, जस्तो आज मेरो अगाडि तपाईहरूको छ।”

लोकतान्त्रिक प्रणालीको अवलम्बन गरेका कुनै पनि पार्टीका कार्यकर्ता स्टालिनका कार्यकर्ता जस्ता नेतृत्वको विरोध गर्न नसक्ने कायर पक्कै पनि हुने छैनन् आजका दिनमा केपी, प्रचण्ड स्टालिन जस्ता नेता बन्न सक्छन्, कार्यकर्ताहरू ख्रुस्चेभ जस्तो मरेजति नेतृत्वको जुंगा उखेल्ने अवस्थामा हुन सक्छन्

कार्यकर्ताको मतबाट महाधिवशेनबाट नेतृत्व चयन गर्ने प्रणालीलाई स्वीकार गरिसकेपछि नेताहरू अधिनायकवादी बन्ने सपना देख्नु भनेको समाप्तिको बाटोमा अग्रसर हुनु हो। अहिलेको समयमा आदेशको पालना मात्र गर्ने कम्युनिष्ट स्कुलिङ काम लाग्ने देखिदैन। जनवादी केन्द्रियताका नाममा कार्यकर्तालाई रोबोट बनाउन सकिदैन।

खुला राजनीतिमा आइसकेपछि सबै कुराहरू गोप्य हुन सक्दैनन्। एक्काइसौं शताव्दीका कम्युनिष्ट कार्यकर्ता नेतृत्वलाई खवरदारी गर्ने हिम्मत र ल्याकत अवश्य राख्छन्। नेतृत्वको देवत्वकरण अब संभव छैन, कार्यकर्ताको विवेकलाई बन्धक बनाएर नेकपा प्रतिस्पर्धात्मक राजनीतिमा कुनै पनि हालतमा खरो उत्रन सक्दैन।

कर्म गर, फलको आशा नगर

सूचना र प्रविधिको  उच्चतम विकास भएको एक्काइसौं शताव्दीमा प्रचारप्रसारको चिन्ता गर्नु पर्दैन। तपाई राम्रो काम गरेर देखाउनुहोस्, जनप्रिय काम गर्नुहोस्, जनताको जीवनस्तर उकास्ने काम गर्नुहोस्, प्रचारको चिन्ता गर्नुपर्दैन।

मिडियाहरूले तपाईको सु कर्म जनतासमक्ष लैजाने छन्, सामाजिक सञ्जालहरूमा तपाईहरूकै प्रचारप्रसार हुनेछ।

कार्यकर्ताहरूले विहान झिसमिसेमै उठेर चिया पसल देखि सुर्य अस्ताउदै गर्दा भट्टी पसलसम्म पुगेर सरकारको कामको व्याख्या गर्नेछन्। सरकारले जनताको मन जित्ने काम गरेमा ससुराली जाँदा सरकारकै कामको व्याख्या गर्नेछन्, जिउँदाको जन्ती देखि मर्दाको मलामी जाँदा सम्म नेताहरूकै गुणगान गाएर बस्नेछन्।

आफ्नो गाँउ आफै बनाउको चर्चा कार्यकर्ताले गरेकै छन्, वृद्धाभत्ताको प्रचारप्रसार गरेकै छन्। मनमोहन अधिकारीको महिमा गाएकै छन्, मदन भण्डारीलाई आदर्श नेता मानेकै छन्, समस्या कामको हो, परिणामको हो,  प्रचारप्रसारको होइन।

अन्त्यमा,

एउटा राजनीतिकर्मी प्रश्नको घेराबाट भाग्न पाउदैन, उम्कन मिल्दैन। आलोचना ग्रहण गर्ने र पचाउने हिम्मत गर्नैपर्छ। यहाँनेर टोयटा कम्पनीको उदाहरण सान्दर्भिक हुन सक्छ। टोयटा कम्पनी विश्वकै प्रसिद्ध र चर्चित कम्पनी हो। यो कम्पनीले हरेक वर्ष आफ्नो आविष्कारको सबैभन्दा कठोर आलोचना गर्नेलाई पुरस्कृत पर्छ र कमजोरीहरू सुधार गर्छ।

एउटा राजनीतिकर्मीको लागि ताली गाली स्वभाविकै घटनाक्रम हुन।  विभाजित समाजमा समर्थन आलोचना हुनु साधारण कुरा होकुनै पनि पार्टीका खम्बा भनेका नै कार्यकर्ता हुन्, प्राणवायु भनेका नै कार्यकर्ता हुन, पार्टीलाई टिकाउने जिताउने हतियार नै कार्यकर्ता हुन्आँखामा आँखा जुधाएर नेतृत्वसँग प्रश्न गर्न सक्ने कार्यकर्ताले मात्र पार्टी जोगाउन सक्छन्

कार्यकर्ताको मुख बन्द गरेर कुनै पनि पार्टी बलियो हुदैन, पार्टीको भविष्य सुन्दर हुदैन। कार्यकर्ताको बोलीमा बन्देज लगाएर कुनै पनि पार्टी  जिउँदो रहन सक्दैन। संसारभर भएको कम्युनिष्ट पार्टीको पतन, असफलता र समाप्तिबाट नेपालका कम्युनिष्ट पार्टीले पनि पाठ सिक्नुपर्छ।

कार्यकर्तालाई पार्टीको नीति, नेतृत्व र निर्णयको बारेमा खुलेर अभिमत व्यक्त गर्न दिएको खण्डमा मात्र पार्टी भित्रका मत मतान्तर कम हुदैँ जान्छन् र पार्टी सुदृढ हुन्छ। नेकपा नेतृत्वले यति साधारण कुरा बुझेर अघि बढ्नु नै नेकपाको राजनीतिक स्वास्थ्यका लागि लाभदायक हुनेछ।

(लेखक अधिवक्ता हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.