अस्पताल र आफन्त नै झुक्किए, तर महानगर भन्छ : सबैको कोरोना जाँच आवश्यक छैन

|

पर्वत : अहिलेको सामान्य अवस्थामा मानिसको मृत्यु हुँदा त शवलाई ढुक्क भएर व्यवस्थापन हुन नसकिरहेको बेलामा पोखरामा भने लापरबाही पनि सीमा नाघेको छ। 

कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन घर भएकी ४५ वर्षीया महिलाको भदौ २५ गते बिहीबार राति सवा १ बजे फिस्टेल हस्पिटलमा मृत्यु भयो। अस्पतालले भने कोरोना परीक्षणको रिपोर्ट नआउँदै आफन्त र अस्पताल दुवैले शवलाई उम्काउन खोज्दा पोखराका सामान्यदेखि उच्च तहका व्यक्तिहरू नै जोखिममा परेका छन्।

क्यान्सरबाट ग्रस्त उनलाई २४ गते उपचारका लागि फिस्टेलमा भर्ना गरिएको थियो। सोही दिन नै स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो, तर स्वाब नतिजा नआउँदै २५ गते राति आइसियुमा उनको मृत्यु भयो। 

उपचार क्रममै मृत्यु भएकोमा विश्वस्त हुँदै परीक्षणको रिपोर्ट नै नआउँदै आफन्तले हतारमै शव मागे, अस्पतालले पनि आफन्तलाई दाहसंस्कारका लागि शव बुझायो। २६ गते पोखराकै रामघाटमा महिलाको दाहसंस्कार भयो। तर स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान ती महिलामा सङ्क्रमण रहेको पुष्टि गरिदियो।

झन्डै २ सयको संख्यामा मलामी उपस्थित भएर दाहसंस्कार गरिसकेपछि सङ्क्रमणको पुष्टि हुँदामा मलामी बनेर गएकाहरू त्रासमा परेका छन्। मृतक महिला पोखराका अग्रज पर्यटन व्यवसायीको श्रीमती भएका कारण पनि मलामी जानेहरूमा पर्यटन व्यवसायी, सांसद, जनप्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत गरी धेरै थिए।

पोखरा महानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त न्यौपानेले भने आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँदै मलामी गएका सबै जनाको स्वाब परीक्षण पनि गर्नु नपर्ने बताए। 

‘मलामी जाँदैमा सबै जना शवको सम्पर्कमा गएको भन्ने हुँदैन। हामी पनि मलामी त गएका हुन्छौँ। तर शवलाई छुने र त्यससम्बन्धी काम गर्ने एउटा कोर टिम हुन्छ। सबै छोइएको त हुँदैन,’ उनले भने, ‘उनमा सङ्क्रमण पुष्टि भएपछि आज बिहानै सहभागी भएकाको खोजी गरेर स्वाब सङ्कलनका लागि लिस्ट तयार पारिसकेका छौँ। त्यो लिस्टमा त्यही कोर टिममा रहेकाको नाम छ।’ सबैको स्वाब सङ्कलन नहुने भए पनि मलामी गएकालाई होम क्वारेन्टाइनमा बस्न भनिसकिएको पनि पौडेलले बताए।

यसरी झुक्किए दुवै पक्ष

मृतक महिलाका श्रीमान् र फिस्टेलका निर्देशक अशोक पालिखे साथी हुन्। ती महिलामा पहिलेबाट नै क्यान्सर र मिर्गौलाको समस्या थियो। पछिल्लो पटक उनको स्वास्थ्य बिग्रिएपछि भदौ २४ मा उनलाई साबिकमा लैजाने गरेको फिस्टेलमा नै लगियो। २५ गते स्वास्थ्य अवस्था झनै जटिल बनेपछि १ सय १३ नं. को क्याबिनबाट आइसियुमा सारेर भेन्टिलेटरबाट उपचार थालियो, तर उनको मृत्यु भयो।

महिलाका श्रीमान् र केही आफन्त राति पनि अस्पतालमै थिए। उपचारमा संलग्न चिकित्सक र श्रीमानबीचमा भएको कुराकानीमा महिलामा क्रोनिक समस्या रहेकोले कोरोनाले नभई क्यान्सर र मिर्गौलाकै कारण मृत्यु भएको जानकारी लेनदेन भयो। न त अस्पतालले शव लगिहाल्न भन्यो, न त आफन्तले दिइहाल्न भने। तर दुवै पक्षको छलफलमा कोरोना लागेको हुन सक्ने आशंकै नहुँदा आफन्तले शव लैजान तयार हुँदासाथ अस्पतालले पनि दियो। शुक्रबार बिहान करिब ९ बजेतिर मृतकको दाहसंस्कार भयो।

निर्देशक पालिखेले मृतकका श्रीमान् आफ्नो साथी भएको नाताले केसलाई साम्य पार्न नखोजेको बताए। तर वास्तविकता यही भएको बताए। मृतक महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको उपचारमा संलग्न ३ जना डक्टरसहित स्टाफ नर्स र सहयोगीहरू पनि शनिबार नै आइसोलेसनमा बसिसकेका छन्। निर्देशक पालिखेका अनुसार अस्पताललाई सिल गरेर सबै सेवा बन्द गरिएको छ।

उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत्यु भएको मान्छेको रिपोर्ट छिटो दिनुसक्नुपर्ने पनि बताए। अस्पतालमा उपचार क्रममा मृत्यु भएका बिरामीको शव आफन्तले छिटै लैजान खोज्ने र अस्पतालले पनि छिटो उम्काउन खोज्ने भएकोले मृत्यु भइसकेको रिपोर्ट ५ देखि १० घण्टामा दिएमा सङ्क्रमणको अवस्थालाई नियन्त्रणमा राख्न सजिलो हुने पालिखेको भनाइ छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.