कैयौँ पटक सरकार र जनप्रनिधि गुहार्दासमेत बेवास्ता

|

काठमाडौं : सिन्धुपाल्चोक जिल्लालाई ०७१ सालको जुरे पहिरोदेखि निरन्तर प्राकृतिक प्रकोपले छाडेको छैन। जुरे पहिरोपछि सिन्धुपाल्चोक जिल्लामा श्रृंखलाबद्ध प्राकृतिक विपत्तिको सामना गर्नु परिरहेको छ। 

सिन्धुपाल्चोक जिल्लामा बाह्रबिसे नगरपालिका–७ मा शनिबार राति गएको पहिरोमा १० जनाको मृत्यु भएको छ। भने, अझै २१ जना बेपत्ता भएको बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले बताए। 

‘अहिलेसम्म १० जनाको शव भेटिएको छ। भने अझै २१ जना बेपत्ता छन्। उनीहरुको खोजीकार्य भइरहेको छ’ उनले भने, असार २४ गते गएको बाढी–पहिरोबाट विस्थापित भएको जम्बु र खागदलका विस्थापितलाई त्यहाँ राख्नेबारे छलफल गरिरहेका थियौँ। तर, अहिले पहिरो गयो’ उनले भने, ‘हामीले त्यो बस्ती सुरक्षित ठानेर त्यहाँ विस्थापित राख्नेबारे सोचेका थियौँ। त्यहाँ पनि पहिरोले ठूलो क्षति पुग्यो।’

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजी कार्य जारी राखेका छ। पहिरोमा परेर दर्जन बढी घरमा बगाएको छ। बाढी पहिरो, भूकम्प लगायतको प्राकृतिक प्रकोपबाट सिन्धुपाल्चोक जिल्लामा धेरै क्षति पुगिरहेको छ। तर, सरोकारवाला निकायले बाढीपहिरो नियन्त्रण र बस्ती अवस्थाबारे अनुगमनसमेत गर्ने गरेको छैन। 

घटना घटिसकेपछि उद्धार र राहत भन्दै केही दिन पुग्ने जनप्रतिनिधिहरू त्यसअघि जनताको अवस्थाबारे बुझ्न कहिल्यै पुग्दैनन्। यसअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीका बासिन्दाले बस्ती स्थानान्तरणका लागि कैयौँ पटक सरकार र जनप्रनिधि गुहार्दासमेत बेवास्ता गरेकै कारणले ३९ जनाले अकालै ज्यान गुमाए। क्षतिको त तथ्यांक नै छैन।

बाढीपहिरोका ठूला घटना  

सिन्धुपाल्चोकमा जुगल गाउँपालिकाको लिदी गाउँ नै पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति भयो। पहिरोले ३७ घर पूर्णरुपमा पुर्‍यायो। बेपत्ता ३९ मध्ये ३७ जनाको शव भेटियो २ अझै बेपत्ता छन्।

पहिरो पीडितलाई सोही गाउँपालिकाको बाँसखर्कमा लगेर अस्थायी रुपमा टेण्ट हालेर राखिएको छ। तर, उनीहरुको स्थायी बाँसको टुंगो छैन। यता, गत असार अन्तिममा अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बुलगायतका ठाउँका दुई दर्जनभन्दा बढी घर बगायो। २० जना बेपत्ता भए। दुई जनाको मात्रै शव फेला पर्‍यो। 

मेलम्ची बजारमा साउन १८ गते रातिको पहिरोमा पुरिएर आठ मजदुरको मृत्यु भयो। एक जनाको जीवितै उद्धार गरिएको थियो। अविरल वर्षाको कारण सडकमाथिबाट आएको पहिरोमा परी कभर्ड हल बनाउन बसेका मजदुरहरुको मृत्यु भएको थियो।

मृत्यु हुनेमा बारा तथा केही भारतीय नागरिक रहेको भन्दै प्रहरीले मृतकको सनाखतपछि शव परिवारलाई बुझायो। सोही दिन पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि एक दम्पतीले पहिरोमै परेर ज्यान गुमाए। 

२०७१ साउन १७ गते जुरे पहिरोले १ सय ४५ जनाले ज्यान गुमाए। नदी थुनिएपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत १ सय ५३ घर पूर्णरूपमा ध्वस्त भए। जुरे पीडितको नाममा उठेको २ करोड २४ लाख रुपैयाँ अझै वितरण हुन सकेको छैन।

यस्तै, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनको सुरुङ परीक्षणको क्रममा गत असार ३० मा भत्कियो। घटनामा एकको मृत्यु भयो भने एक जना कर्मचारी अझै फेला परेका छैनन्। 

विनाशकारी भूकम्प

गोरखा जिल्लाको बार पाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख भूकम्प गयो। भूकम्पबाट सबैभन्दा धेरै भौतिक र मानवीय क्षति सिन्धुपाल्चोकमै भयो।

भूकम्पबाट सिन्धुपाल्चोकमा ३ हजार ५ सय ७१ जनाले ज्यान गुमाए। हजारौँ निजी घर, सरकारी कार्यालय, विद्यालय, सांस्कृतिक सम्पदाहरू निमेशमै ढल्न पुग्यो। अहिले विस्तारै निर्माण भइरहेका छन्। 

श्रृंखलाबद्ध विपत्ति

भूकम्पले लपेटेको सिन्धुपाल्चोकलाई भोटेकोशी बाढीले त्यसयता छाडेको छैन। २०७३ सालमा भोटेकोशीमा आएको बाढीले नदी किनारका दर्जनौँ घर बगाए।

सयौँको संख्यामा स्थानीय घरबारविहीन बन्न पुगे। भोटेकोशी बाढीले भोटेकोशी करिडोरमा साना ठूला जलविद्युत आयोजना पूर्ण रुपमा क्षति पुर्‍यायो। 

भूकम्पको त्रासबाट विस्तारै लयमा फर्कन लागेका स्थानीयलाई भोटेकोशीको बाढीले फेरि  अत्यायो। २०७४ सालमा नेपाल चीन सीमानजिकै १० किलोमा रहेको पक्की पुल पहिरोमा माथिबाट आएर पहिरो खस्यो।

माथिबाट आएको बाढीले पुल भाँचेर भोटेकोशीले बगायो। पुल भाँचिएपछि नेपाल चीनबीचको सडक सम्बन्ध मात्रै टुटेन। तातोपानी क्षेत्रका स्थानीयलाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामाग्रीको समेत आपूर्तिमा समस्या पर्यो। लामो समय र दबाबपछि बेलीब्रिज निर्माण भयो। 

तर, बेलीब्रिच निर्माणको काम अन्तिम चरणमै नपुग्दै भाँचियो। निरन्तरको प्राकृतिक विपत्तिसँग जुधिरहेको सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका र भोटेकोशी क्षेत्र २०७५ साल पनि अछुतो रहेन। ०७५ सालमा बाह्रविसे, खुर्सानी बारीको साँधी खोलामा रहेको पक्की पुल नै बगायो। लामो कसरतपछि सीमा जोड्ने बेलिब्रिज बनेको केही समय नबित्दै बाढीले साँधी खोलामा रहेको अर्को पक्की पुल पनि लग्यो। 
पुल मात्रै लगेन, बाढीले बाह्रविसे बजार पूरै बगरमै परिणत गर्‍यो।  

गत साल पनि सिन्धुपाल्चोक प्राकृतिक विपत्तिबाट अलग रहन पाएन। सीमा क्षेत्रमा निरन्तर बाढीपहिरोको प्रलय भइरह्यो। भोटेकोशी बाढीले करोडौँको क्षति गर्‍यो। बाढीले निर्माणाधीन शीवश्री हाइड्रो पावरमा कार्यरत दुईजना बेपत्ता पार्‍यो। निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना, लाफिङ बुद्ध र शिव श्री हाइड्रो पावरमा क्षति पुर्‍याएको थियो। 

सडकदेखि हवाई दुर्घटनाले पनि छाडेन

सिन्धुपाल्चोक जिल्लामा प्राकृतिक प्रकोप मात्रै नभएर ठूला सडकदेखि हवाई दुर्घटनासमेत व्यहोरेको छ। गत असोजमा इन्द्रावती गाउँपालिका १० बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो एक सयभन्दा धेरै यात्रु बोकेको बस दुर्घटनामा परेको थियो। 

गत साल कात्तिक १७ मा पनि दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशी नदीमा खस्यो। सो दुर्घटनामा १७ जनाको ज्यान गयो। दोलखाकै  कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस मंसिरमा पनि दुर्घटनामा पर्‍यो। लामो साँघु जिरी सडकखण्डको ६ किलोमा भएको सो दुर्घटनामा १५ जनाको ज्यान मृत्यु भयो। 

यस्तै, सिन्धुपाल्चोक २०७२ जेठ १ र १९ गते दुई ठूला हेलिकोप्टर दुर्घटनामा परेका थिए। सो दुर्घटनामा १२ जनाले ज्यान गुमाए। भूकम्प पीडितका लागि राहतका लागि उडेको हेलिकोप्टर दुर्घटना परेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.