|

पर्वत : पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङ घर भएका जिल्ला स्तरीय नेतामा कोरोना सङ्क्रमण पुष्टि भयो। तर, संक्रमणको असर ती नेतामा मात्र सीमित रहेन। ती नेतासँगै नगरपालिकाको वडा नम्बर ४, कुश्मामा बस्दै आएका २३ वर्षीय पुरुष मजदुरमा पनि सङ्क्रमण देखिँदा पर्वत सदरमुकामवासी यतिखेर त्रसित छन्‌।  

महामारीकै रूपमा फैलिएको कोरोनाबाट नगर क्षेत्रमै कार्यकर्ता भेटिरहेका नेता नै संक्रमित भएपछि सजगता अपनाउनु आवश्यक थियो नै! त्यसैले प्रशासनले पनि शुक्रबार राती १२ बजेदेखि नै कुश्माका ४ वटा वडामा अत्यावश्यक बाहेकका सबै सेवा सञ्‍चालनमा रोक लगायो। 

नेपाली कांग्रेसका ती नेता संक्रमण पुष्टि हुनुअघि राजनीतिक कार्यक्रमसहित जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठकमा पनि सहभागी हुने गरेका थिए। यसरी बैठकमै सहभागी नेता संक्रमित भएपछि शुक्रबार बसेको डिसिसिएमसी बैठकले नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ का पसलसहित सरकारी सेवा प्रदायक कार्यालय तथा वित्तीय संस्थाहरु पनि बन्द गर्ने निर्णय लिएको थियो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा ४ वटा वडा सिल गर्ने उल्लेख नभएपनि बजारको अवस्था सिल गरेको भन्दा कम छैन। विज्ञप्तिमा कडाइका साथ पालन गर्न भनिएका आदेशहरू असोज ३ गते राती १२ बजेसम्म कायम रहने र अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताएका छन्‌।

पर्वतको कुश्मामा समुदायमा कोरोना सङ्क्रमणको अवस्था बुझ्न ६८ जनाको स्वाब सङ्कलन गरिएको थियो। संकलन गरिएकामध्ये अहिलेसम्म ४७ जनाको रिपोर्ट आएको छ। थप २१ जनाको रिपोर्ट आउन बाँकी छ।

शुक्रवार थपिएका २ जनासँगै  पर्वतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १२ पुगेको छ। १ सय ३ जना संक्रमित उपचारपछि फर्किसकेका छन् भने ९ जनाको पर्वत कोरोना अस्पताल (अस्थायी) को आइसोलेसनमा उपचार भइरहेको छ।

कर्फ्यु लागे झैं सुनसान बनेको पर्वत सदरमुकामका केही तस्बिर :


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.