|

काठमाडौं : नेपाल सरकारको मुख्यसचिवमा बढुवा हुनका लागि सचिवहरूबीच प्रतिस्पर्धा सुरु भएको छ। २०७४ कात्तिक ६ गते मुख्यसचिव नियुक्त भएका लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिन लाग्दा सचिवहरू दौडधुपमा लागेका हुन्‌।

गृह मन्त्रालयको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मी वन तथा भू-संरक्षण मन्त्रालयको सहसचिव, अर्थ मन्त्रालयको उपसचिव, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशासक, वन तथा भूसंरक्षण मन्त्रालयको सचिव, अर्थ सचिव र गृह सचिव हुँदै हाल मुख्यसचिव छन्। पदबाट रेग्मीले अवकाश पाएपछि सो स्थानमा आफू पुग्‍न सचिवहरू यतिखेर तीव्र लभिङमा लागेका छन्‌।

तत्कालीन अवस्थामा रेग्मी पनि सहजै मुख्यसचिव भएका भने होइनन्। ‘उहाँ कहाँ मुख्यसचिव बन्न पाउनु हुन्थ्यो त!’ मुख्यसचिवकै प्रतिस्पर्धामा सामेल भएका एक सचिवले भने, ‘रेग्मी सरभन्दा पहिले मुख्यसचिव रहनुभएका सोमलाल सुवेदीलाई एडिबी (एसियाली विकास बैंक)मा वैकल्पिक कार्यकारी निर्देशक नियुक्तिका लागि रेग्मी लगायतले नै दु:ख गर्नु भने। सुवेदी उता गएपछि मात्रै रेग्मी सर मुख्यसचिव बन्नुभएको हो।’

मुख्यसचिव पद छाडेर सोमलाल सुवेदी २०७३ फागुन २० गतेदेखि एडिबीमा जागिर खान गएका थिए।

ती कर्मचारीका अनुसार अहिले पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार अधिकारी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा पनि लोकदर्शन रेग्मीले सोमलाल सुवेदीलाई एडिबीमा नियुक्ति गर्न दबाब दिए जसरी नै कुनै एउटा बाटो खोजिरहेका छन्।

अधिकारी, वैरागी र सापकोटा उमेरका कारण आगामी असोजबाट सरकारी जागिरबाट सेवानिवृत्त हुनेवाला छन्। सेवानिवृत्त हुनुअघि नै रेग्मीलाई कुनै आकर्षक तलब हुने निकायमा नियुक्तिका लागि अधिकारी, वैरागी र सापकोटाले जोडबल गरिरहेका छन्। 

‘रेग्मी सरले छोड्नुहुन्छ या हुँदैन, थाहा छैन। अहिलेसम्म पूरै कार्यकाल बिताउने मनस्थितिमा हुनुहुन्छ,’ मुख्यसचिव सचिवालयका एक सदस्यले भने, ‘त्यस्तो छोड्नैपर्ने अवस्था आए उहाँले शंकर वैरागीलाई छोड्नु होला। वैरागी नआएर अरू कोही आउने अवस्था भए रेग्मी सरले कसैलाई छोड्नु हुन्न। उहाँले हामीहरूसँग आफू पूरै कार्यकाल बिताएर मात्रै यहाँबाट बिदा हुन्छु भन्नुभएको छ।’

तर, वैरागीले जागिरको अधिकांश समय परराष्ट्रमै व्यतित गरेकोले कर्मचारी प्रशासन धान्न नसक्ने आँकलन पनि गरिएको छ। त्यसो त, वैरागी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट भएकोले उनको सम्भावना बढी नै रहेको बताइन्छ। 

यता, नागरिक उड्डयनका सचिव केदार अधिकारी भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग हिमचिम बढी भएका प्रशासक हुन्।

लोकदर्शन रेग्मीले आफ्नो तीनवर्षे कार्यकाल पूरै बिताए भने उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे मुख्यसचिवको लाइनमा अगाडि आउँछन्। उनले रेग्मीपछि वरिष्ठताको आधारमा आफू नै मुख्यसचिव हुनुपर्ने दाबी गर्दै आइरहेका छन्। उनी तुलनात्मक रुपमा चुस्त र छरिता प्रशासक मानिन्छन्। यद्यपि, उनी निर्णय लिने कुरामा भने अलिक हिम्मत नगर्ने खालको भएको बताइन्छ।

तर, पटक-पटक वरिष्ठतालाई पन्छाएर आँखैअघि अन्य सचिव मुख्यसचिव भएको देखेका सचिवहरू अहिले पनि शक्ति केन्द्र धाउन व्यस्त छन्। मुख्यसचिव बन्न प्रतिस्पर्धामा रहेकाहरू वरिष्ठतालाई तोडेर अघि बढ्न प्रधानमन्त्री निकटस्थ शक्तिसँग नजिक भइरहेका छन्। 

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीकी भान्जी बुहारीसमेत रहेकी महिला तथा बालबालिका मन्त्रालयकी सचिव यामकुमारी खतिवडा बाँस्कोटा पनि मुख्यसचिव बन्ने प्रतिस्पर्धामै छिन्। उनले यसअघि सूचना आयोग र उद्योग मन्त्रालयमा सचिव, सहसचिव र उपसचिव भएर काम गरिसकेकी छन्। राजनीतिक पहुँचका आधारमा भन्ने हो भने उनी अरूभन्दा अघि रहेकोले धेरैले याम कुमारीलाई मुख्यसचिव बन्‍न सक्ने पात्रको रुपमा हेरेका छन्।

'उनका श्रीमान् पहुँचकै आधारमा डाक्टर भगवान् कोइरालालाई पन्छाएर त्रिभुवन विश्वविद्यालयका कुलपति भएको उदाहरण घरैमा देखेकी खतिवडाले यो आकांक्षा राख्नु अस्वाभाविक मानिँदैन' एक पूर्वसचिवले टिप्पणी गरे ।

शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी र अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना पनि मुख्यसचिव बन्नका लागि शक्ति केन्द्र धाउनेमा पर्छन्‌। मुख्यसचिव बन्ने दौडलाई नजिकबाट नियालिरहेका कर्मचारीहरूका अनुसार वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली पनि प्रधानमन्त्री र प्रधानमन्त्रीसँग निकटहरुसँग नजिक हुने सूत्र तयार पार्न व्यस्त छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.