|

डिसेम्बरको अन्तिम दिनले प्रत्येक वर्ष केही न केही सन्देश दिएर जाने गर्दथ्यो । तर २०१९ को डिसेम्बरले नयाँ भाइरसको जन्म दिएर गएको छ र आज विश्व त्यही कोरोना भाइरसको वरिपरि रुमलिई विभाजित भएको छ। यसै विषयको सेरोफेरोमा रही कोरोना भाइरसको उत्पति, विश्व भूराजनीतिमा देखिएको दृश्य,  अर्थतन्त्रमा पारेको र पार्न सक्ने प्रभाव र भावी संभावना र अवसरको अनेक हुन सक्छन् । 

कोभिड १९ को उत्पति र प्रभाव 

सन् २०१९ डिसेम्बरको चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस सुरुमा सार्स भाइरससँग मिल्दोजुल्दो भाइरसको रुपमा बुझिएको थियो । चमेरोबाट फैलिएको यो भाइरसलाई ३ महिना पछि डब्लुएचओले कोभिड १९ भनि नामकरण गर्यो । कोरोना भाइरस फैलन थालेको ८ महिनाको अवधिमा विश्वको २१६ देशमा यो भाइरस फैलिएको छ । यो लेख तयार गर्दा सम्म ३ करोड भन्दा बढी मानिस संक्रमित भएका छन् भने १० लाखको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ ।

डब्लुएचओको अनुसार यो भाइरस सार्स भाइरस भन्दा १० औ गुणा बढि हानिकारक र शक्तिशाली रहेको छ। इकोनोमिक्स इन्टेलिजेन्स युनिटको अनुसार कोभिड १९ बाट करिब विश्वको आधा जनसंख्या अर्थात ४ खर्ब मानिस संक्रमण हुने र सोको १ देखि ३ प्रतिशत मानिसको मृत्यु हुने । यसको असर सन् २०२६ सम्म देखिने अनुमान गरिएको छ।

खाद्य तथा कृषि संगठनले कोभिड १९ को कारण विश्वमा झण्डै ८ करोडमा मानिसलाई भोकमरी लाग्ने प्रक्षेपण गरेको छ भने आईएलओले विश्वको झण्डै २ करोड ५० लाख मानिसको रोजगारी गुम्ने अनुमान गरेको छ। अर्कोतर्फ आईएलओकै अर्को तथ्यांक अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरुको कामको घण्टामा निरन्तर कमी आई यस क्षेत्रमा काम गर्ने १ अर्व ६० करोड मजदुरहरुको आधा अर्थात ८० करोड कामदारको रोजीरोटी जोखिममा रहेको बताएको छ । 

विश्व भूराजनीतिमा देखिएको दृश्य 

सुरुका दिनहरूमा चीनमा मात्र कोरोना भाइरसको संक्रमण रहदा यसलाई विश्व समुदायले हल्का ढंगबाट व्याख्या र विश्लेषण गरिएको थियो । पछि भाइरस छिमेकी मुलुक हुँदै युरोपेली मुलुकहरु र अमेरिकामा पुग्यो । कोभिडको संक्रमण दर विकसित देशहरु अत्यन्तै द्रुत रुपमा फैलिन पुग्यो । विकसित भनिएका देशहरु नराम्रोसँग प्रभावित भए। कोरोना व्यापक रुपले धेरै देशमा फैलन थालेपछि विश्व समुदाय चीनसँग रुष्ट भए ।

भाइरसको सुचना लुकाएको आरोप खाएको डब्लुएचओले आफ्नो आम्दानीको ठुलो हिस्सा गुमाउन पर्यो । डब्लुएचओले मास्क लगाउन अनुरोध गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरसको संज्ञा दिए र मास्क लगाउनु अमेरिकी स्वतन्त्रता विरोधी कदम हो भनि भाषण समेत दिए। अन्ततः अमेरिकाले कोडिभ–१९  को कारण ठुलो क्षति व्यहोरिरहेको छ। आजकल मास्क लगाउन थालेका डोनाल्ड ट्रम्प, उत्तर अमेरिकाका देशहरु र पश्चिमा राष्ट्रहरु कही न कही चीनको कारण समस्या भोग्नुपरेको तर्क गर्न पछि पर्दैनन् । 

पश्चिमा र अमेरिकी चर्को विरोध खेपेको चीनले भाइरसलाई समयमै नियन्त्रण गर्न सक्यो । करिब १ लाख भन्दा कम संक्रमित र ५ हजार भन्दा कम व्यक्ति मृत्यु भएको चीनले व्यापक मात्रामा मास्क, सेनिटाइजर, थर्मगन, सुरक्षा सामाग्रीहरु उत्पादन गरि विश्व वजारमा पु-याउन सफल भयो । उसको “मेडिकल डिप्लोमेसी” ले देशहरुमा सम्वन्ध मात्र बढाएन धेरै आम्दानी गरी अर्थतन्त्र गतिशिल समेत बनाउन सफल भएको छ ।  

अमेरिका भने डब्लुएचओ लाई दिदै आएको सहायता बन्द गरी संयुक्त राष्ट्रसंघ मार्फत विश्वभरी गरि आएको शासनबाट एक्लिएको छ। अहिले विश्व परिदृश्यमा अमेरिका, रुस जस्ता शक्तिशाली देशहरु डब्लुएचओबाट बाहिरिनुले विश्व शासनमा समेत फेरबदल आउने अनुमान गर्नु गलत हुने छैन । विश्व अर्थतन्त्र माइनस ३ प्रतिशत हुने अनुमान भइरहँदा चीनको अर्थतन्त्र १.२ प्रतिशतको हाराहारीमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान रहेको छ।  

कोभिड १९ ले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव 

अन्तराष्ट्रिय मुद्रा कोषको प्रक्षेपणमा सन् २०२० को विश्वको अर्थतन्त्र  ३ प्रतिशतमा ऋणात्मक हुनेछ भने विकसित देशको अर्थतन्त्र  ६.१ प्रतिशत ऋणात्मक हुने अनुमान छ । कोरोनाको असर युरोपेली मुलुकहरुमा झन् बढि हुने प्रक्षेपण गरिएको छ भने विकाशशील एशिया लगायतको क्षेत्रमा यसले तुलनात्मक रुपमा फाइदा अर्थात १ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ।

दक्षिण एशियाली मुलुकहरुमा माल्दिभ्स, अफगानिस्तानमा कोरोनाले ठुलो असर पार्ने अनुमान गरिएको छ भने भुटान, भारत र नेपालले तुलनात्मक रुपमा राहत पाउनेछ । यद्यपि अहिलेसम्म पश्चिमाहरुले गरेको यो अनुमान हालसम्म अनुमान मैं सिमित छ।

कोरोनाको कारण अर्थतन्त्रमा युरोप र विकसित मुलुक भन्दा एसिया अफ्रिकी मुलुक कम प्रभावित देखिए पनि यी देशहरुमा मुद्रास्फीति भने उच्च रहने देखिएको छ । मुद्रा कोषकै प्रक्षेपणमा विकसित अर्थतन्त्र भएको देशमा २०२० को मुद्रास्फीति ०.५ प्रतिशतमा देखिएको छ भने एसिया, अफ्रिकी तथा विकासशील मुलुकको अर्थतन्त्र क्रमश ४ देखि ९ प्रतिशत रहने देखाएको छ । यस आँकडाबाट पनि विकशिल मुलुकहरुमा कोरोनाको प्रभाव कम भए पनि मुद्रास्फीति रोक्न नसक्दा मूल्य वृद्धिदर अत्यन्तै उच्च हुने अनुमान गर्न सकिन्छ।

भावी अवसर तथा चुनौती 

कोरोनाको खोपका परिक्षण भइरहेका समाचार दिनहुँ जसो आएपनि डब्लुएचओले कोरोनाको औषधी वजारमा आउन अझै २ वर्ष लाग्ने विश्लेषण गरेको छ । यसको असर सन् २०२६ सम्म रहने कुरा गरेको छ। यद्यपी कोरोनाको औषधीमा ठुलो सफलता मिलेको, वैज्ञानिकहरु औषधीको नजिक नजिक पुगेको भन्ने समाचार सुन्दा मात्र पनि आम जनमानसको मुहारमा खुसी आउँछ ।

अबको विश्व राजनीति र अर्थतन्त्र कोरोनाको औषधीमा रहेको सहजै अनुमान गर्न सकिन्छ । कोरोनाको औषधी पत्ता लगाउने देश अबको विश्व राजनीतिको केन्द्रविन्दुमा रहने छ। औषधी त्यही विकसित देशहरु वाहेक अरुबाट पत्ता लाग्ने अपेक्षा गर्न सकिन्न। किनकी वैज्ञानिक अनुसन्धानको क्षेत्रमा उनीहरुको पर्याप्त श्रोत र जनशक्ति रहेको छ ।

अमेरिकाले कोभिड १९को औषधि निकाल्न सफल भएका अमेरिकी “फस्ट” भन्ने उसको नारालाई थप पुस्ट्याईं गर्नेछ। वेलायत सफल भएमा उसको ओरालो लागेको अर्थतन्त्र सुध्रिने छ । चीन, भारत अगाडी आएमा उनीहरुले कोरोनाले थिलथिलो पारेको अर्थतन्त्रलाई सजिलै पार लगाउने छन् भने रसिया सफल भएमा शीतयुद्धबाट नराम्रो हार खाएको रसीयाले नयाँ तरिकाले विश्वमा आफुलाई पुन शक्तिशाली स्थापित गर्नेछ। करिब ८ खर्ब जनसंख्याको लागि औषधी बनाउने कम्पनी विश्वकै धनाढ्यको सूचीमा आउने पक्का छ। 

कोरोना भाइरसको कारण अहिले प्रयोग भएको मास्क, स्यानिटाइजर, अन्य सेफ्टी सामग्रीहरूले मानव स्वास्थ र वातावरणमा थप प्रतिकूलता ल्याउने देखिन्छ । मास्कको व्यवस्थित तवरबाट “डिस्पोजल” नहुँदा यसले वातावरणमा क्षति पु–याउने छ। 

स्यानिटाइजर तथा अन्य सुरक्षा सामग्रीहरुको “साइड इफेक्ट”को कारण मानव स्वास्थमा समेत यसले नराम्रो प्रभाव पार्ने अध्ययनहरुले देखाएको छ । यस नकरात्मक प्रभावमा कमी  ल्याउनको लागि पनि सरकार तथा नागरिक समाजले आजबाटै काम थाल्न जरुरी रहेको छ अन्यथा कोरानाको रोकथामको लागि गरिएको कामहरु थप मानव जीवन तथा वातावरणको लागि हानिकारक हुन सक्नेछ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.