ट्रकमै पाक्छ खाना, ट्रकमै सुत्छन् सोनु

|

काठमाडौं : अर्घाखाँचीका सोनु रोयलले हाँक्‍ने ट्रक समय जस्तै गतिशील लाग्छ। जति कुदाइयो-कुदाइसकियो। फेरि त्यही समय र मितिमा उही सडकमा स्टेरिङ घुमाउँदै यात्रा कहाँ सम्भव र ! समयलाई पछाडि या अगाडी धकेल्ने भनी कल्पना गरिएको 'टाइम मेसिन' आविष्कार भए चाहिँ यस्तो हुन सक्थ्यो होला।

तर, समयलाई रोक्न नसकेपनि त्यतिखेरका घटना या कर्मलाई द‌ृश्यमा कैद गर्न सकिन्छ नै। अहिलेको डिजिटल युगमा श्रव्यद‌ृश्य साझेदारी गर्न युट्युबदेखि टिकटकसम्मका सुविधा  छन्‌। विशेषगरी मनोरञ्‍जनका लागि युवापुस्ता निकै झ्याम्मिने गरेको यही टिकटकलाई सोनुले आफ्नो यात्रा र दैनिकी साझेदारी गर्ने माध्यम बनाएका छन्‌।

​यतिखेर उनी टिकटकमा धेरै फलोअर्स भएका एकजना लोकप्रिय पात्र पनि हुन्। टिकटकमा नाचेको, गाएको वा अरूको म्युजिक भिडियोमा अभिनय र लिप सिंकले मात्रै उनले आफ्नो यो छवि बनाएका होइनन्। ट्रक ड्राइभर सोनु देशका विभिन्‍न गन्तव्यमा पुग्‍ने क्रममा देख्‍ने अनेक गतिविधिलाई रमाइलो शैलीमा प्रस्तुत गरेकाले रुचाइएका हुन्। उनका कयौँ भिडियोमा हजारौँले माया बर्साएका छन्। फलोअर्स नै ९० हजारबाट उकालो लागिसके।

उनी जहाँ पुग्यो त्यहीँ रोचक भिडियो खिचेर अपलोड गर्छन्। नयाँ नौला मान्छे देख्नेबित्तिकै मान्छेहरू परपर भइरहेको यो कोरोना कालमा सोनुले बाटोमा गाडी बिग्रेर अलपत्र पर्दा आफूलाई खाना खान दिने ग्रामीण वृद्धप्रति कृतज्ञता व्यक्त गर्दै भिडियो बनाए। त्यसले धेरैको मन छोयो।

टिकटकमा उनको प्रोफाइल स्क्रोल गरियो भने कहिले ट्रकमै खाना पकाइरहेको, कहिले ट्रक साइड लगाएर सडक छेउको धारामा भाँडा माझिरहेको देख्‍न सकिन्छ। उनका अधिकांश भिडियो ट्रकमै खिचिएका हुन्छन्। @sonuroyal110 मा भेटिने सोनुलाई टिकटकले नयाँ पहिचान दिएको छ। ‘जहाँ पुग्छु त्यहीँको गतिविधि प्रस्तुत गर्ने कोशिश गर्छु’‚ उनी भन्छन्‚ ‘धेरैले माया गर्नुभएको छ‚ रमाइलो लागिरहेको छ।’

कामको सिलसिलामा उनलाई कहिले पूर्व पुग्नुपर्छ त कहिले पश्चिम। खानेबस्ने ठेगान नै हुँदैन। त्यसमाथि महामारीको समय छ। त्यसैले‚ ओढ्ने ‍ओच्छ्याउनेदेखि पकाउने तुल्याउनेसम्मका सबै सामान बोकेरै हिँड्न थालेका छन् सोनु। लु २ ख १५५३ नम्बरको ट्रक उनका लागि ढुवानीको साधन मात्रै होइन‚ भान्सादेखि सयनकक्षसम्म सबै हो। ट्रकमै पकाउँछन् ट्रकमै खान्छन्, ट्रकमै सुत्छन्। अनि, तिनै गतिविधिको भिडियो खिचेर अपलोड गर्छन्।

तीन सयभन्दा धेरै भिडियो अपलोड गरिसकेका सोनु टिकटकलाई अभिव्यक्तिको माध्यमको रुपमा अर्थ्याउँछन्। ‘हरेक मानिसभित्र कला हुन्छ, भावना हुन्छ, कतै न कतै पोख्न पाए हुन्थ्यो भन्ने हुन्छ’‚ उनले भने, ‘मैले टिकटकलाई राम्रो माध्यमको रुपमा पाएँ। छोटा–छोटा भिडियोबाटै भए पनि मनमा लागेका कुरा पोख्न पाइरहेको छु।’

हाम्रो छेवैबाट गुज्रने ट्रक ड्राइभरको जीवन कस्तो हुन्छ, भोगाइ कस्तो हुन्छ, हामीलाई थाहा हुँदैन। सोनुले अभिव्यक्त गरेकाले त धेरैले सराहना गरे। त्यही ट्रकमा खाना पकाएको भिडियो नै उनको पहिलो लोकप्रिय भिडियो हो। जहाँ ड्राइभिङ सिटको ठीक पछिल्तिर ग्यास सिलिन्डर तेर्सिएको छ‚ सिटमाथि अड्याइएको ग्यास चुलोमा सोनु खाना पकाइरहेका देखिन्छन्। सुत्नका लागि छेवैमा ओछयान छ। त्यो भिडियोलाई धेरैले रमाइलो मानेर हेरे। कतिले बनावटी भने, तर सोनुले थप भिडियोमार्फत आफ्नो जीवनशैली देखाए। आफू ट्रक ड्राइभर भएको बताउन कति पनि संकोच मानेनन्, उनको त्यही पेशाप्रतिको गौरवले नै धेरैको मन छोयो।

तर, कतिपयले जाबो ट्रक ड्राइभर भएर टिकटकमा बडो फुर्ती देखाउँछ पनि भन्‍ने गरेका छन्।

'सवारी चालकहरुलाई हेर्ने दृष्टिकोण घरदेखि सामाजिक सञ्जालसम्म आइपुग्दा सम्मानित र मर्यादित छैन', उनी भन्छन्, 'यद्यपि टिकटकमा हजारौं व्यक्तिले मैले निर्माण गरेका टिकटकलाई माया दिइरहँदा केही व्यक्तिले पेशामै नै अपशब्द प्रयोग गर्छन्। हजारौंको मायाले आएको खुसीका अगाडि केहीले दिएको घृणित अभिव्यक्तिले बढी चित्त दुख्दो रहेछ।'

समाजले प्रश्‍न उठाउँदा शिर झुकाउनु नपर्ने गरी कुनै पनि पेशामा लागेका व्यक्तिको सम्मान हुनु जरूरी छ। तर, नेपालमा सवारी चालकलाई हेर्ने नजर आज पनि सम्मानजनक छैन। 'पेशामाथि प्रश्‍नभन्दा व्यवहारलाई हेरेर दृष्टिकोण बनाइदिए कुनैपनि असल पेशा खराब हुँदैन थियो', उनी अगाडि भन्छन्।

प्रशंसाले पुलकित सोनु टिकटकबारे भन्छन्, 'कम्तिमा लुकेको प्रतिभा आफ्नो क्षमता अनुसार देखाउने प्लेटफर्म बनेको छ।' १५ सेकेन्डदेखि १ मिनेटबीचको छोटो भिडियो बनाएर टिकटकमा रमाउने पुस्ता अहिले उल्लेख्य छ। टिकटकबाट नै विभिन्‍न म्युजिक भिडियोमा आउने अफर र म्युजिक भिडियोबाट धेरै टिकटक प्रयोगकर्ताको जीवन बदलेको छ।

यद्यपि, टिकटकमा पनि अश्लीलता बढ्दो छ। कुनै पनि माध्यम आफैँमा खराब हुदैन। यसलाई प्रयोग गर्ने तरिका सही नभए असल बाटो पनि खराब बनिदिन्छ। यदि खराब बाटोमा पनि असल कर्म गर्न सके त्यसले दिने उपलब्धि पनि सकारात्मक हुन्छ। अहिले टिकटक पनि धेरैका लागि अवसरका ढोका खुल्ने माध्यम बनेका छ। केही खराब आचरणकाले यसको प्रयोग गरिदिँदा बदनामीका स्वर सुनिनु स्वभाविक हो।

लकडाउन सुरू भएपछि उनी टिकटकमा बढी सक्रिय भएका हुन्। मालबाहक ट्रक हाँक्ने भएकाले सारा संसार ठप्प हुँदा पनि उनको काम रोकिएन। मालसामानको ओसारपसारमा निरन्तर जुटिरहनु पर्‍यो। त्यस क्रममा उनले थरीथरीका समस्या भोग्नुपर्यो। रातारात गाडी बिग्रँदा सडकमै वा जंगलमै अलपत्र पर्नुपर्‍यो‚ होटल नखुल्दा भोकभोकै हिँड्नुपर्यो। गाडीमै खाने सुत्ने नगरी धरै पाएनन्।

‘संकटका बेला हामी कसरी काम गरिराखेका छौँ‚ कसरी खानपिनको जोहो गर्दैछौं भन्‍ने कुरा देखाउन चाहन्थेँ। आफ्नो दैनिकी र भोगाइ देखाउन मन थियो’‚ उनले भने, ‘त्यसैले ट्रकमा खाना पकाएको भिडियो खिचेर अपलोड गरें। मानिसहरूले रमाइलो माने।’

‘केहीले ट्रक ड्राइभर भनेर हेयपूर्ण कमेन्ट पनि नगरेका होइनन्’‚ सोनु भन्छन्‚ ‘तर‚ मेरो पेशा टाउको झुकाएर हिँड्नुपर्ने पेशा होइन। म मेरो कामप्रति सन्तुष्ट छु।’ हरेक पेसालाई सम्मानजनक दृष्टिले हेरिनुपर्ने धारणा राख्ने सोनुको मन केही हेयपूर्ण टिप्पणीले नराम्ररी कुँडिएको रहेछ।

एघार वर्षदेखि ट्रक हाँकिरहेका उनी सडकका मोडमोडसँग परिचित छन्। तर‚ अब उनलाई चिन्‍नेको संख्या पनि कम छैन। बाटोमा हात हल्लाउनेदेखि उनीसँग सेल्फी खिच्न रहर गर्नेको संख्या बढेको बढ्यै छ। ‘लकडाउनका कारण फुर्सदिला बनेका कतिपयले मनोरञ्जनका लागि टिकटक हेर्न थाले। यही अवधिमा मैले पनि धेरै भिडियो बनाएँ’‚ उनी भन्छन्‚ ‘अरू मेरो भिडियो हेरेर रमाइलो मान्छन्, म उनीहरूले रमाइलो मानेको देखेर खुशी हुन्छु।’

टिकटककै लागि विशेष समय छुट्याएका छैनन् सोनुले। जहाँ पुगिन्छ, जे देखिन्छ, त्यसैलाई विषय बनाउँछन्। अब त उनलाई म्युजिक भिडियो खेल्ने अफर पनि आउन थालेको छ। त्यसैले‚ चाँडोभन्दा चाँडो कोरोना संकट हटोस् भन्‍ने कामना गर्दैछन्। भन्छन्‚ ‘स्टेरिङमा नचाइराखेको हात गीतको धुनमा नचाउन आतुर छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.