जथाभावी अन्तर्वार्ता नदिन आग्रह

|

काठमाडाैं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हिजो सोमबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा एउटा कुरा भने –डाक्टर सा'ब, जनस्वास्थ्यविद्, चिकित्सकहरुलाई म के अनुरोध गर्छु भने आफ्नो लेबल नमिल्ने मान्छेसँग गएर अन्तरवार्ता नदिन र आफ्नो साइटबाट कमजोर प्रस्तुति नगर्नसमेत म अनुरोध गर्छु।  

सधैं झैं कोरोना रोकथाममा केही न केही टिप्स र विज्ञलाई प्रत्यक्ष प्रसारणमा लिएर आउने गरेका डा. गौतमले नियमित मिडिया ब्रिफिङको अन्त्यतिर भनेका थिए- अहिले सामाजिक सञ्जालमा, टेलिभिजनमा रेडियोमा, एफएमहरूमा कोरोना केही पनि हैन, यो भ्रम मात्र हो भनेर दुष्प्रचार गर्ने, व्यक्तिहरु निकै सक्रिय छन्। बिनातथ्य, बिनाआधार बोलिरहेका छन्। यसमा क्रेडिटिबिलिटीको कुरा र एकाउन्टिबिलिटीको कुरा पटक्कै छैन, त्यसो भएर यस्तो भ्रम छर्छन्, नबोल्नुहुन म अनुरोध गर्छु। 

उनकाे भनाइको सार थियो - कोरोना भ्रम भनेर फैलाइरहने र महामारीलाई 'अन्डरस्टिमेट' गर्नेलाई अन्तरवार्ता नदिनु। उनको यो भनाइ हिजो समाजिक सञ्जालमा निकै चर्चित भयो। ट्विटर र फेसबुकमा यी भनाइ रंगिए। 

उनले डाक्टर, जनस्वास्थ्यविद्, चिकित्सकहरुलाई आफ्नो लेबल नमिल्ने मान्छेसँग गएर अन्तरवार्ता नदिन र आफ्नो साइटबाट कमजोर प्रस्तुति नगर्न अनुरोध गरेका थिए।   

तर नियमित मिडिया ब्रिफिङ अन्तर्गत मंगलबार भने प्राध्यापक डाक्टर गौतमले आफैंले साेमबार बोलेको कुराको खण्डन गरे। सोमबार आफूले बोलेको 'लेभल' मंगलबार(आज) बोलेकै हैन भने। यति मात्र हैन उनले आफूले नबोलेको कुरा मिडियाले तोडमोड गरेको समेत आरोप लगाउन भ्याए। 

मंगलबार ल्याइएका अतिथिसँगको भनाइ सकिएसँगै उनले मुस्कुराउँदै भने, केही अनलाइन पत्रपत्रिका सञ्चारमाध्यममा मन्त्रालयमा भएको नीतिगत छलफलमा उठेका कुराहरुलाई बाहिर प्रकाशन गरिएको छ। त्यसमा धेरैजसो तोडमोड गरेर लेखिएको छ।' 

उनले स्वास्थ्यकर्मीहरु सुरक्षाकर्मीहरु अग्रपंक्तिमा काम गर्ने कर्मचारीहरुको पनि कोरोना जाँच भइरहेकाे बताए। साथै कोरोना संक्रमणको परीक्षण गर्ने सरकारको नीतिमा कुनै परिवर्तन नभएको स्पष्ट पनि पारे। 

मुख्य कुरा के भने उनले नियमित मिडिया ब्रिफिङको अन्त्यतिर सबैलाई कन्फ्युज नहुन भन्दै एउटा 'महत्वपूर्ण' अनुरोध गरे, 'मैले गत मिडिया ब्रिफिङमा भनेको थिएँ। जो विज्ञहरु, डाक्टरहरु, मेनेजरहरू अन्तरवार्तामा जाँदा खेरि राम्रोसँग आफ्नो विषयवस्तु राख्न अनुरोध गरेको थिएँ। यसलाई चै लेभल नमिल्नेसँग नबोल्न भनेर यसको हेडिङ राखेर अनि त्यसैले सेयर गरेको पनि पाइएको छ। (मुस्कुराउँदै) यसमा मैले त्यस्तो कुरा भनेको थिइनँ।

उनले यहाँ सरसर झुट नै बोलेका छन्। हिजो भदौ २९ गतेको नियमित मिडिया ब्रिफिङमा उनले पत्रकार र मिडिया हाउसको लेभल जाँचेर मात्रै जनस्वास्थ्यविद् कर्मचारी तथा अन्य सम्बद्ध व्यक्तिलाई अन्तर्वार्ता दिन भनेका थिए। भलै उनको आशय कोरोनाप्रति भ्रम छर्नेसँग सम्पूर्णलाई आफ्ना भनाइ राख्न आग्रह गरेका थिए होलान्। तर उनले सोमबार बोलेको 'लेभल' मंगलबार बोलेकै हैन भने। 

उनले भनेका थिए, 'मैले के मात्रै भनेको थिएँ भने कसैले अनावश्यक इस्यु उठाउँछ भने त्यसलाई जबर्जस्त र प्रुफहरुसहित अध्ययनसहित राम्रोसँग आफ्नो विषयवस्तु राख्नुहोला। यदि विषयवस्तु राख्न सक्नुहुन्न भने फितलो प्रिजेन्टेसनका लागि नजानुहोला। मैले यही भन्या थिएँ । त्यो कुरामा म अहिले पनि दृढ छु।

उनले दृढ हुने कुरामा अडान राखे पनि सञ्चारमाध्यममा आएका आफ्ना भनाइलाई भने पूरै खण्डन भने गरेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.