समाजले हेला गर्ने डर, स्वास्थ्यकर्मीले निगरानी गर्न सकेनन्

|

काठमाडौं : उपत्यकामा कोरोना तीव्र गतिमा फैलिरहेका बेला ४ सय ६१ संक्रमित सम्पर्क बाहिर रहेका छन्। संक्रमण पुष्टि भएपछि संक्रमितहरु आफैं सम्पर्क बाहिर जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमितको ठेगाना र सम्पूर्ण विवरण अनिवार्य चाहिन्छ। संक्रमण पुष्टि भएपछि मोबाइल अफ गर्ने गरेका छन्। फरक ठेगाना र अन्य व्यक्तिको नम्बर राखी कोरोना परीक्षण गर्दा संक्रमितसँग सम्पर्क हुन नसकेको हो।

परीक्षण गर्ने व्यक्तिले गलत ठेगाना दिँदा संक्रमितको अवस्था बुझ्न गाह्रो भइरहेको स्वास्थ्य कार्यालय काठमाडौंका कोरोना फोकल पर्सन पार्वती विष्टले जानकारी दिइन्। फरक ठेगाना र नम्बर दिँदा कोरोना पोजेटिभ नभएका मानिसलाई समेत सम्पर्क हुने गरेको उनको भनाइ छ।

'केही संक्रमितले त आफैं सम्पर्क गर्ने गर्छन्', उनले भनिन्, 'त्यस समयमा उनीहरु हाम्रो अनुमतिबिना नै उपत्यका छाडेर गृह जिल्ला पुगिसकेको खबर दिन्छन्।'

स्वाब दिएपछि पनि धेरैजना हराउने गरेको उनले बताइन्। सरकारी नीति अनुसार स्वाब दिइसकेपछि रिपोर्ट नआउन्जेल अनिवार्य होम आइसोलेसनमा बस्‍नुपर्छ। तर त्यो नियमको पालना हुनै सकेको छैन।

'स्वाब दिएपछि सम्पर्कमा आएकाहरुलाई कोरोना पोजेटिभ, नेगेटिभ आएको जानकारी दिन्छौँ,' उनले भनिन,'उपत्यका छाडेकालाई जिल्लास्थित नजिकैको आइसोलेसनमा बस्‍न अनुरोध गर्ने गरेका छौ।'

केहीले आफैं वेबसाइटमा भएको नम्बर पता लगाएर फोन गर्ने गरेको उनले बताइन्। संक्रमितलाई लक्षण देखिन थालेपछि पनि सम्पर्क गर्ने गरेको उनको भनाइ छ।

अन्य उपाय नलागेपछि हराएकाहरुको कल ट्रेसिङ गरेर प्रहरीलाई सम्पर्कमा ल्याउन अनुरोध गर्ने गरेको उनले बताइन्। कोरोनाका कारण समाजमा अपहेलित हुने डरले धेरैले यस्तो गरेको हुन सक्ने उनको दाबी छ।

कहाँबाट कति सम्पर्क बाहिर?

काठमाडौं महानगरपालिकाबाट मात्रै ४ सय ५७ संक्रमित सम्पर्क बाहिर छन्। त्यसैगरी तारकेश्‍वर नगरपालिकाबाट १ र नागार्जुन नगरपालिकाका ३ जना संक्रमित सम्पर्क बाहिर छन्।

परीक्षण गर्न जानेले काठमाडौं महानगरपालिकाको ठेगाना दिने गरेका छन्। गलत नम्बर दिएका कारण स्वास्थ्यकर्मी हैरान भएका छन्। त्यहीकारण यी संक्रमित सम्पर्क बाहिर रहेको  काठमाडौं महानगरपालिकाका शहरी स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवर बताउँछन्। हराएकामध्ये केही संक्रमित वडाको सम्पर्कमा आइसकेको उनले बताए।

'संक्रमितहरु मोबाइल अफ गरेर बस्ने गरेका छन्। तर उनीहरुको निरन्तर निगरानी आवश्यक हुन्छ', उनले भने, 'समाजको बहिष्कारमा परिने त्रासले यस्तो गरेका हुन सक्छन्। सबैले यसबाट डराएर भाग्‍ने होइन, सर्तकता अपनाएर आफैं उपचार प्रक्रियामा लाग्नुपर्छ।'

अहिले महानगरका ४ सय ३१ संक्रमित संस्थागत आइसोलेसनमा छन्। त्यसैगरी एक हजार ७ सय ३ जना होम आइसोलेसनमा बसेको उनले जानकारी काठमााडौंमा कुल संक्रमित संख्या १० हजार ५ सय ८३ छ। जसमा ७ हजार १ सय ११ पुरुष र ३ हजार ४ सय ७२ महिला छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.