|

सिमरा (बारा) : मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको एक वर्षमा नेपाल आयल निगम क्षेत्रीय डिपो अम्लेखगञ्जले ढुवानी बापतको करिब एक अर्ब रुपैयाँ बचत गरेको छ। 

२०७६ भदौ २४ मा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका पेट्रोलियम पाइपलाइनबाट डिजेल आउन शुरु भएको वर्ष दिनमै ढुवानी खर्च बापतको करिब एक अर्ब रुपैयाँ बचत भएको डिपो प्रमुख भरत रेग्मीले बताए। 

‘यस अवधिमा पाइपलाइनबाट ५३ करोड लिटर डिजेल आयात भएको छ,’ रेग्मीले भने, ‘यो ट्यांकरबाट आयात भएको भए १२ लाख ओटा ट्या‌कर र आवश्यक पथ्र्यो।’

पाइपलाइनबाट अहिले डिजेल मात्रै आयात हुन्छ। भारतको पटनाबाट वरुणी र वरुणीबाट मोतिहारी हुँदै अम्लेखगञ्जसम्म पाइपलाइनको माध्यमबाट डिजेल आयात हुने गर्दछ। अहिले निगमलाई प्रतिलिटर एकदेखि डेढ लिटर ढुवानी भाडामा बचत भएको डिपो प्रमुख रेग्मीले बताए। ट्यांकरबाट आयात हुँदा ढुवानी भाडा, वातावरण प्रदुषण, ट्राफिक जामलगायतका समस्या झेल्नुपर्ने हुन्थ्यो। विगतमा ट्यांकरबाट तेल आयात हुदाँ वरुणी र अम्लेखगञ्जको तापक्रम २ देखि ३ डिग्री फरक पर्ने, तेलको चुहावट पनि अत्याधिक हुने र मट्टितेलको मिसावटको पनि उक्तिकै हुने गर्दथ्यो। रेग्मीले भने, ‘ट्यांकरबाट आउँदा पेट्रोलियम पदार्थको परिमाण घट्ने हुन्थ्यो त्यो पनि पाइपलाइनबाट आउँदा शतप्रतिशत आउँछ।’

पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा दुई लाख लिटर डिजल आउने गर्दछ। हाल निगमसँग भण्डारण क्षमता पर्याप्त नभएको कारण पाइपलाइन २४सै घण्टा सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ। ‘अहिले हामीसँग दुई करोड लिटर (डिजल) मात्रै भण्डारण क्षमता छ,’ रेग्मीले भने, ‘बजारमा बिक्री पनि अत्यन्त कम भएकाले पाइपलाइन  समय समय बन्द गर्नु परेको छ।’

आयल निगम अम्लेखगञ्जवाट देशभरका ठूला शहरहरु काठमाडाैं, पोखरा, धरान, चितवन, जनकपुरमा पेट्रोलियम पदार्थ बिक्री हुने गर्दछ। तर, पछिल्लो समय कोरोनाका कारण निरन्तर ६ महिनादेखि जारी लकडाउन र निषेधाज्ञाका कारण निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन नहुँदा पेट्रोलियम पदार्थको खपत अत्यन्तै कम भएको निगमले जनाएको छ। हाल प्रतिदिन १५ देखि २० लाख लिटर मात्रै डिजेल खपत हुने गरेको छ। खेतीपातीको  सिजन भएकाले पाइपलाइन सञ्चालन भएको एक वर्षको अवधिमा जेठ महिनामा सबैभन्दा धेरै सात करोड खपत भएको निगमले जनाएको छ।

थप ट्यांकी निर्माण गर्न २५ करोड विनियोजन 

आयल निगम अम्लेखगञ्ज डिपोले पाइपलाइन बिस्तारको दोस्रो चरणको काम शुरु गरेको छ। जसअन्तर्गत ४१÷४१ लाख लिटरको दुईवटा ट्यांकी निर्माण गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको छ। 

निगमले छिट्टै पाइपलाइनबाट पेट्रोल पनि आयात गर्ने गरी दुईवटा ट्यांकी निर्माणको काम तत्कालै शुरु गर्ने जनाएको छ। अम्लेखगञ्ज डिपोमा हाल १९ लाख लिटर मात्रै पेट्रोल भण्डारण क्षमता छ। थप ८२ लाख लिटरको दुईवटा ट्यांकी निर्माण भएलगत्तै पाइपलाइनबाट पेट्रोल पनि आयात शुरु गरिने निगमले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.