|

विराटनगर : मोरङ बुढीगंगा २ टंकीसिनुवारीकी देवी थापा निरौलाले  व्यवहार टार्न साढे चार तोला सुन धितो राखेर स्थानीय ‘चन्दा ज्वेलर्समा १ लाख रुपैयाँ कर्जा लिएकी थिइन्।

तर देवी थापाले सुन धितो राखेको सुनसहित लिएर चन्दा ज्वेलर्सका सञ्चालक चन्दन स्वर्णकार र संगीता स्वर्णकार बेपता भएका छन्। ज्वेलर्समा ४ लाख ५० हजार मुल्य बराबरको सुन लिएर सञ्चालक नै बेपता भएपछि दुःख गरेर आर्जेको सम्पत्ति डुब्ने खतरा बढेकामा अहिले देवी ठूलो समस्यामा परेकी छिन्। उनीमात्र होइन बढीगंगा ३ बासवारीकी राधा बरालको समस्या पनि उस्तै छ।  तत्काल गर्जो टार्न राधाले पनि ‘चन्दा ज्वेलर्स’मा १४ हजार रुपैयाँमा आधा तोला सुन धितो राखेर घर व्यावहार चलाएकी थिइन्।

‘लकडाउनले गर्दा समस्या भएपछि भएको आधा तोला सुन २ भदौमा पैसा लिएको थिए, ’उनले भनिन्, ‘अहिले धितो राखेको सुन उकास्न आउँदा सुनपसल बन्द छ।’ देवी र राधा जस्तै अहिले एक सय बढी स्थानीयले धितो राखेको सुन लिएर चन्दा ज्वेलर्स सञ्चालक फरार भएपछि सुन उनीहरुको बिचल्ली भएको छ। मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनुवारी स्वर्णकारको सुन पसल गएको एक सातादेखि पसल बन्द छ। सर्वसाधारणले धितोमा राखेको सुनचाँदी लिएर चन्दा ज्वेलर्स सञ्चालक चन्दन र संगीता सबै सुनचाँदी लिएर फरार भएका हुन्।

स्वर्णकार दम्पत्तीले बुढीगंगाका सयौँको संख्यामा धितो राखेको लाखौंको सुनचाँदी लिएर फरार भएको पीडितहरुले बताएका छन्।  पीडितहरुले मोरङ प्रहरीमा सोमबार किटानी जाहेरी पनि दर्ता गराएका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले धितोमा राखेर सुन लिएर फरार भएको किटानी जाहेरी परेपछि अनुसन्धान सुरू गरेको जानकारी दिए। उनले प्रहरीमा अहिलेसम्म ३० जना भन्दा बढीको निवेदन आएको जानकारी दिए।

आधा तोलादेखि साढे चार तोलासम्म धितोमा सुन

सुन पसलमा धितो राखेको लाखौं मूल्य बराबरको सुनचाँदी लिएर स्वर्णकार दम्पती एक हप्ता अगाडि सम्पर्कविहीन भएका हुन्। स्थानीय सूर्यबहादुर थापाका अनुसार उनीहरुले करिब एक सय जनाको धितोमा राखेको सुन र पैसा दिएर बनाउन दिएको सुन लिएर संचालक फरार भएका छन्।​ सुन धनीहरुको अनुसार चन्दा ज्वेलर्सले सुन धितोमा राखेर २४ प्रतिशत ब्याज लिने गरेको थियो।

आधा तोलादेखि बढीमा साढे चार तोलासम्म धितोमा राखेको सुन लिएर स्वर्णकार दम्पती मोबाइल अफ गरेर सम्पर्कविहीन छन्। उनीहरुले अहिले आफ्नो फेसबुक एकाउन्ट पनि डिएक्टिभ गरेका छन्। संचालक दम्पती भागेको हल्ला चलेपछि धितो राख्ने र पैसा दिएर सुनचाँदी बनाउ दिने सर्वसाधरणको अहिले दैनिक पसलमा भीड हुने गरेको छ। 

फरार भएका सञ्चालक खोजी गरि कारवाहीको दायरामा ल्याउन पीडितहरुले माग गरेका छन्। प्रहरीले पनि पीडितहरुकाे उजुरी परे पछि सञ्चालक चन्दन स्वर्णकार र संगिताको खोजीकार्य अगाडी बढाएको बताएको छ।

यसअघि गएको मंसिरमा विराटनगर महानगरपालिका–७ जलजला चोकमा रहेको ॐ लक्ष्मी ज्वेलर्सका सञ्चालन सन्तोषकुमार बेगवानी बैंक र सर्वसाधरणको करोडौँ रुपैयाँ उठाएर परिवारसहित फरार भएका थिए। उनले तीन वटा बैंकको करिब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीको करिब १५ करोड रुपैयाँ ऋण लिएर भारततर्फ लागेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.