|

धनकुटा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा धनकुटाका हेमराज भण्डारीसहित २ जना जना थप गर्न सिफारिस गरेको छ। हालै सम्पन्न भएको स्थायी कमिटीको बैठकले नेकपाको सबैभन्दा शक्तिशाली मानिने संगठन विभागमा भण्डारीसहित ज्ञानबहादुर भुजेललाई सिफारिस गर्ने निर्णय गरेको नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए।

भण्डारी नेकपाको केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज हुन्। भण्डारी तीन दशकयता राजनितीमा सक्रिय छन। नेकपा मसालबाट राजनीतिक यात्रा सुरु गरेका भण्डारी तत्कालीन नेकपा माओवादीले गरेका जनयुद्ध हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। नेकपा एमाले र माओवादी केन्द्रको एकताअघि भण्डारी माओवादी केन्द्रको संगठन विभाग सचिव तथा पोलिटब्‍युरो सदस्य रहेका थिए। यस्तै, भुजेल तत्कालीन एमालेका संगठन विभाग सचिव रहेका थिए।

दुई जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग १८ सदस्यीय हुने भएको छ। नेकपाको संगठन विभाग गठनको क्रममा प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए। ०७६ असोज २९ गते बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको थियो।

यस्तै, ०७६ माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकलगत्तै संगठन विभाग विस्तार गरिएको थियो। विभागको उपप्रमुखमा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा रहेको असोज २९ गतेको सचिवालय बैठकबाट बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य भइसकेकाले माघ १९ गते बसेको सचिवालय बैठकले अन्य ५ प्रदेशका इन्चार्जसहित केही व्यक्तिलाई थपेर १५ सदस्यीय बनाइएको थियो।

त्यसबेला थपिएकाहरुमा प्रदेश ५ का इञ्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल, प्रदेश १ का इञ्चार्ज भीम आचार्य र प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डल रहेका थिए। यस्तै, माघ १९ कै सचिवालय बैठकले संगठन विभागमा सुदन किराँती, जगप्रसाद शर्मा, मातृका यादव, खगराज भट्ट र रेखा शर्मालाई पनि संगठ विभाग सदस्य बनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.