|

म्याग्दी : पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी– दरवाङ सडक खण्डको अवस्था ट्याक खुलेको १४ वर्ष बितिसक्दा पनि सुधान हुन सकेको छैन। २०६३ सालमा ट्याक खुलेको यो सडकखण्डमा यात्रा गर्दा यात्रुहरूले ज्यानकै माया मार्नुपर्ने अवस्था छ।

म्याग्दीका मंगला, मालिका र धवलागिरि गरी तीन गाउँपालिका र छिमेकी जिल्ला बागलुङका कैयौं बस्ती जोड्ने बेनी– दरवाङ सडकखण्डको मर्मत तथा स्तरोन्नतिका नाममा करोडौं रकम खर्च भए पनि अवस्था भने ज्यूँका त्यूँ रहेको यात्रुहरुले बताएका छन्।

बेनी नगरपालिकाको मंगलाघाटदेखि मालिका गाउँपालिका–६ दरबाङसम्म  २४ किलोमिटर सडक पार गर्न बर्खायाममा यात्रुले निकै सास्ती व्‍यहोर्नुपर्छ। सडकको दर्जनौँ स्थानमा पहिरोले गर्दा छिनछिनमा सडक अवरुद्ध हुने गरेको छ।

त्यसैगरी, अलिकति पानी पर्नेबित्तिकै  सडकमै बगेका खोला र जमेका पोखरी पार गरेर गन्तव्यसम्म पुग्न सकियो भने अहोभाग्य ठान्नुपर्ने अवस्था रहेको सो सडकखण्डमा ५ घण्टाको यात्रा गरेर बेनी आइपुगेका विष्णु शर्माले बताए। २०७४ सालदेखि सडक डिभिजनले कालोपत्रेका लागि सुरु गरेको कामले गति लिन नसकेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।

जोखिम मोलेर यात्रा गर्न बाध्‍य

यात्रुहरू साँघुरो, खाल्डाखुल्डी, ग्रेड र मोड सुधार नभएको जीर्ण सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। २४ किलोमिटर दूरीको यो सडक पार गर्न ४ घण्टा लाग्ने सवारी चालक नरबहादुर छन्त्यालले बताए।

बर्खामा हिलो र हिउँदमा धुलोको हैरान हुने गरेका यात्रुहरुको गुनासो छ। तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले २०७४ असोज ४ गते बेनीदेखि बाबियाचौर खण्डको १३ किलोमिटर सडक कालोपत्रे गर्न समानान्तर लामा जेभीसँग ४५ करोड ५३ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

सम्झौताअनुसार २०७६ माघ ४ गते सकिनुपर्ने यो आयोजनाको असार मसान्तको भौतिक प्रगति ३५ प्रतिशत मात्र  छ।

पाँच करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम बुझेको ठेकेदारले थप १२ करोड ९९ लाख ३९ हजार रुपैयाँ भुक्तानी लगेको छ। सडक समयमा नै निर्माण कार्य नहुँदा यात्रुलाई त सास्ती भएको छ नै बाढी पहिरोको जोखिम पनि उत्तिकै बढेर गएको छ।

अत्यन्तै सुस्त गतिमा काम

संघबाट गत पुसमा प्रदेशको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो। आयोजना ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा काम सुस्त बनेको छ।

यस वर्ष काम सक्न २६ करोड रुपैयाँ आवश्यक पर्ने निर्माण कार्यालयका अधिकारी बताउँछन्। प्रदेश सरकारले तीन करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

पहिरो पन्छाउँदै, सवारी चलाउँदै

बेनी– दरवाङ सडक खण्डका ६ वटा स्थानमा पहिरो खस्ने समस्या रहेको छ। भिरालो जमिनमा पानीको निकास नहुँदा माथिबाट बगेर आएको पानीसहितको लेदो र ढुंगाका कारण गाडी गुड्दागुड्दै कतिबेला माथिबाट पहिरो आउने हो भन्ने त्रास यात्रु र गाडी चालकलाई रहन्छ।

सडकको तातोपानी खण्डदेखि दरवाङसम्म पहिरोको जोखिम छ भने बेनीदेखि सिंगासम्मको क्षेत्रमा हिलो र भेलको जोखिम रहेको छ। ‘गाडी चलाउँदा चलाउँदै रोकेर पहिरो पन्छाउनुपर्छ, गाडी नै म्याग्दी नदीमा पुर्‍याउने हो कि भन्ने डर रहन्छ, ट्याक्सी चालक अमृत श्रीपालीले भने।

सडकमै खोलो, सडकमै पोखरी

सडकखण्डको हिलोमा दुईपांग्रे सवारीसाधनलाई जोगाउनै मुस्किल छ, चारपांग्रे फसेपछि निकाल्नै नसकिने गाडी चालक धनबहादुर रोकाले बताए।

‘हिलो र साना पोखरीबाट जोगिनै हम्मेहम्मे पर्छ। तीव्र गतिमा सडक स्तरोन्नति र कालोपत्रे हुने सपना देखेका सर्वसाधारणले सडकमै खोलो बग्ने, माथिबाट पहिरो खस्न थालेपछि सपना जस्तै लागेको छ, रोकाले भने।

ठेकेदारले सडकको काम गरेजस्तै गरे पनि स्थानीयलाई छोडेर भागेजस्तै लाग्छ। बगुवाखोलादेखि सिंगाको ठाडोखोलासम्मको अवस्था बेहाल छ। स्काभेटरले काम गर्दै अगाडि बढ्दा पछाडि जमिन भत्किएको छ।

‘सडक हिलाम्मे छ, माथिबाट भत्किएको छ’ बगुवाखोलाका स्थानीय राम श्रेष्ठले  भने। उनले सडकको अवस्था देखेर स्थानीय आजित भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.