वडादेखि क्षेत्रीय कार्यसमितिको अधिवेशन सम्बन्धित भूगोलमै

|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फागुन ७ गतेलाई तोकिएको छ। साङ्गठानिक संरचना समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणलगायतका काम तोकिएको समयमा नसकिएपछि १४ औँ महाधिवेशन फागुनमा नहुने निश्चितप्रायः छ।

कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले साउनमै भनेका थिए, ‘फागुनमा महाधिवेशन सम्भव छैन। वैशाख-जेठमा गरौँ।’ फागुनमा महाधिवेशन नभए सभापति शेरबहादुर देउवाले अहिलेको कार्यसमितिको म्याद बढीमा ६ महिना लम्याउन पाउने विधानमा व्यवस्था छ। देउवा विधानलाई टेकेर कार्यकाल लम्ब्याउने दाउमा पनि छन्।

अघिल्लो हप्ता बिपी कोइरालाको जन्म जयन्तीको अवसरमा कांग्रेसले गरेको जुम बैठकमा देउवाले भनेका थिए, ‘कोरोनाले दिएन त मैले के गर्नु। सबैसँग सल्लाह गरेर केन्द्रीय कार्यसमितिको बैठक बोलाएर अब के गर्ने टुंग्याउँला। फागुनमा नगर्ने भनेको मैले हैन। मैले गर्ने भनेकै हानि।’ कांग्रेसमा अझै ११ जिल्लामा साङ्गठानिक संरचना समायोजन हुन सकेको छैन। 

तर, नेपाली कांग्रेसका केही नेताहरु कोरोना रहिरहे यसैलाई कारण देखाएर महाधिवेशन रोक्न नहुने पक्षमा उत्रिएका छन्। उनीहरुले फागुनमा महाधिवेशन हुने छाँटकाँट नदेखिएको पनि बताएका छन्।

कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक फागुनमा महाधिवेशन कुनै हालतमा सम्भव नहुने बताउँछन्। ‘क्रियाशील सदस्यता वितरण नवीकरण र केन्द्रबाट दशलाख सदस्यको नाम तल पठाउन कम्तिमा ६ महिना लाग्छ,’ बुधबार कांग्रेसको पाठशालाले बुधबार गरेको भर्चुअल कार्यक्रममा लेखकले भने, ‘यत्रो समय लाग्‍ने कामलाई हामीले १०/१५ दिन राखेका थियौँ, त्यही अव्यवहारिक थियो।’ उनले अब नेपालीका ठूला चाड आएकोले यो समयमा महाधिवेशन केन्द्रित काम गर्न नसकिने बताए। 

कोरोना बाट बच्न हुलहुज्जत भएको ठाउँ र भिडबाट बच्नुपर्ने भएकाले हजारौँ महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर कार्यक्रम गर्न नसकिने तर्क लेखकको छ। उनले निर्वाचन केन्द्रीकृत नभई विकेन्द्रीकरणको विधिबाट गर्न सके महामारीबीच महाधिवेशन हुन सक्ने राय पनि राखे।

‘निर्वाचनलाई विकेन्द्रीकरण गरेर १६५ प्रतिनिधिसभा क्षेत्र र ३३० प्रदेशसभा क्षेत्रमा क्षेत्रीय कार्यसमितिका लागि त्यहीँ अधिवेशन गर्न पनि सकिन्छ', उनले भने,  'प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई २५ जनाले, प्रदेशसभाका लागि १७ जनाले मतदान गर्ने भएकोले सम्बन्धित क्षेत्रमै अधिवेशन गरे भीड हुँदैन।’

 वडा प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेर त्यहाँबाट आउने प्रतिनिधिले प्रदेश र केन्द्रमा मतदान गर्न सक्ने उल्लेख गर्दै जिल्लाको अधिवेशन पछि गर्न सकिने तर्क पनि गरे। 

कांग्रेसका अर्का नेता गगन कुमार थापा पनि फागुनमा महाधिवेशन हुने सम्भावना देख्दैनन्। उनले महामारी जारी रहे महाधिवेशन कुनै विकल्प खोजेर भनेर पनि गर्नैपर्ने तर्क गरे। पाठशालाकै कार्यक्रममा थापाले भने, ‘फागुनमा महाधिवेशन हुने सम्भावना म देख्दिनँ। अब महामारी रहिरहे कसरी महाधिवेशन गर्ने भनेर विकल्प खोजेर गर्नुपर्ने हुन्छ।’ 

उनले सभापति देउवाले महामारीबीच पनि महाधिवेशन कसरी गर्न सकिन्छ भनेर विकल्प खोज्न केन्द्रीय कार्यसमितिको बैठक तत्कालै आह्वान गर्नुपर्ने बताए।

‘कोरोनाले अझै एक वर्ष नर्मल अवस्था नआउला भन्‍ने अनुमान गरौँ,’ उनले भने, ‘त्यसैले भिडभाड नहुने विकल्प अगाडि सारौँ।’ उनले पार्टीको वडादेखि, केन्द्रसम्म विभिन्‍न चरणको निर्वाचन गर्दा भिडभाड भएकोले विकल्पमा बहस गर्न ढिला गर्न नहुने पनि बताए।  

नेता लेखकले जस्तै थापाले पनि वडा, प्रदेश, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको अधिवेशन सम्बन्धित क्षेत्रमै गर्नुपर्ने बताए। ‘वडा, प्रदेश, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको लागि सम्बन्धित क्षेत्रमै अधिवेशन गरौँ। घर छेउको बुथमा भोट हालेर नेतृत्व चयन गरौँ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.