दैनिक ५० भन्दा बढी भेटिन थाले संक्रमित

|

हेटौंडा : बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ। गत साउन अन्तिमदेखि तीव्र रुपमा बढेको संक्रमणको दर घटेको छैन।

मकवानपुर जिल्लामा कोरोना संक्रमण २ महिनादेखि उच्च देखिए  पनि  समयमा उचित कदम चाल्न नसक्दा संक्रमण झनै बढेको देखिन्छ।  जन सरोकार केन्द्र, नागरिक समाजहरुले स्थानीय र प्रदेश सरकारलाई सीमा नाकामा कडाइ, क्वारेन्टाइन व्यवथापनलगायत विषयमा बारम्बार घचघचाउँदा पनि कोरोना प्रभावित क्षेत्रबाट मानिसहरु आउँदा मकवानपुरका समुदायसम्म कोरोना फैलिएको जन सरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुव चौलागाईं बताउँछन्। 

दैनिक ५० भन्दा माथि भेटिन्छन् संक्रमित 

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा आइसोलेसन इन्चार्ज भोला चौलागाईंका अनससार भदौको २५ गते पछिको तथ्यांकमा दैनिक ५० भन्दा माथि संक्रमित फेला परिरहेका छन्। मकवानपुर जिल्लामा ११ सय संक्रमित पुगिसकेका छन् भने हालसम्म ११ जनाको मृत्यु भएको छ। 

२ जनाको हटौंडामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने ८ जनाको चितवनमा उपचार क्रममा मृत्यु भएको हो। मकवानपुरमा  सक्रिय संक्रमित बुधबार साँझसम्म ४ सय ७४ रहेको जनस्वास्थ्य निरीक्षक चौंलागाईले बताए।

उनले जानकारीमा नआएका केही संक्रमित आफैं उपचार गरिरहेका हुन सक्ने बताए। यस्तै मकवानपुरमा हालसम्म ५ सय ८७, डिस्चार्ज भएका छन्। अहिले मकवानपुरमा २ सय ५० जना होटल र होम आइसोलेसनमा बसेका छन् भने १ सय ३५ जना संस्थागत आइसोलेसनमा बसेका छन्। 

सरकार भन्छ : काम गर्दै छौं 

कोरोना भाइरस संक्रमित लगातार बढिरहँदा ‘निदाएको’ प्रदेश सरकारले नियन्त्रण गर्ने अथक प्रयास गरेको दाबी गरेको छ। प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना नियन्त्रण गर्न प्रयास गरिरहेको भएता पनि लकडाउनलाई निरन्तरता दिन नसक्दा संक्रमण तीव्र रुपमा फैलिएको बताए। 

दुलालले भने, ‘यो विषय सरकारको सफलता असफलताभन्दा पनि दैनिक जनजीवनले पारेको असर हो। हामीले प्रदेशका नाका पूर्ण रुपमा थुन्न पनि सकेनौं, लकडाउनलाई निरन्तरता दिँदा जनजीवनमा प्रतिकूल असर पर्ने देखिएकोले खुकुलो बनाउँदा ह्वात्तै बढेको हो।’  बागमती प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि भरपूर प्रयास गरिरहेको मन्त्री दुलालले दाबी गरेका छन्।

२२ हजारको परीक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हालसम्म २२ हजार ७ सय ६० जनाको कोरोना परीक्षण गरिएको छ। नमुना प्राप्त भएकामध्ये सबैजसोको कोरोना परीक्षण भएको छ। 

पछिल्लो समय मकवानपुरसहित विभिन्न जिल्लाबाट यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप भएपछि केही नमुना हेटौंडाको प्रयोगशालामा ल्याएर जाँच गर्ने चरणमा छ। पहिले स्वाब दिएको एक सातापछि मात्र रिपोर्ट आउने भए पनि अहिले भने स्वाब दिएको दुई दिनमै रिपोर्ट आउने भएको छ। 

हालसम्म कोरोना परीक्षण गरिएकामध्ये मकवानपुर र तराईका जिल्लाबाट ल्याइएका नमुना बढी छन्। 

  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.