|
फाइल फोटो

भद्रपुर, (झापा) : न्यूनतम ज्यालालाई लिएर झापाका चिया मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच लामो समयदेखि जारी विवाद टुङ्‌गिएको छ। झापा उद्योग संघ, भद्रपुरको कार्यालयमा बुधवार बसेको नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच ज्यालाको विषयमा चार बुँदे सहमति भएको हो।

सरकारले तोकेको श्रम ऐन, २०७४ अनुसार दैनिक न्यूनतम ज्याला ३८५ रुपैयाँ तोकिएको छ। सोही ऐनबमोजिम चिया बगानका मजदुरले आधारभूत पारिश्रमिक २३१ र दैनिक महँगी भत्ता १५४ गरी दैनिक ३८५ रुपैयाँ पाइरहेका थिए। दुवै पक्षबीच भएको सहमतिमा न्यूनतम ज्यालामा ३० रुपैयाँ वृद्धि गरिएको छ।

अब मजदुरले पाउने दैनिक ज्याला ४१५ रुपैयाँ चालु आर्थिक वर्षको साउनदेखि लागु हुनेछ। त्यसैगरी आगामी आर्थिक वर्ष (२०७८ साउन)देखि थप २० रुपैयाँ वृद्धि गर्ने सहमति पनि भएको छ। यो सहमति कार्यान्वयन भएपछि मजदुरको दैनिक ज्याला ४३५ रुपैयाँ पुग्‍नेछ। 

सहमति अनुसार चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको ज्यालामा अतिरिक्त दैनिक भत्ता ४२ रुपैयाँ रहेकोमा थप १३ रुपैयाँ वृद्धि गरी ५५ रुपैयाँ कायम गरिने निर्णय भएको नेपाल चिया उत्पादक संघका जेपी शर्माले जानकारी दिए। 

त्यस्तै, २०७५ साउन १ गतेदेखि लागु हुने गरी वृद्धि भएको दैनिक १०७ र साउन १ देखि २०७५ चैत १५ गतेसम्म फरक रकम सो समयमा कार्यरत रहेका श्रमिकहरूलाई भुक्तानी गर्दै गरेका विषयलाई निरन्तरता दिई भुक्तान लिइसक्ने, श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ मा भएको व्यवस्थाहरूलाई सबै चिया बगानमा कार्यान्वयन गर्दै जाने र हाल विश्व आतङ्कित बनाई रहेको कोरोना भाइरसबाट बच्न बचाउन आवश्यक सरकारले तोकेको मापदण्ड पुरा गरी सुरक्षाको व्यवस्था प्रतिष्ठानको तर्फबाट गर्ने तथा श्रमिकहरूले पनि आफ्नो सजगता अपनाउने सहमति भएको उनले बताए। 

सहमतिअनुसार नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश अग्रवाल, जेपी शर्मा, चण्डी पराजुली, विनय गोयल र रमेश पराजुली रहेका थिए भने ट्रेड युनियन संघका तर्फबाट सहीकुमार राई, सन्तकुमार राई, नेत्रप्रसाद दाहाल, दीपक तामाङ, जीवन खडका, सिता सापकोटा, भूपाल सापकोटा, तिलक दर्जी र देवीप्रसाद खनालले हस्ताक्षर गरेका छन्। 

कोरोना महामारी चलेपनि यतिखेर चिया उत्पादनको क्षेत्रमा अनुकूल स्थिति देखिएको छ। २० वर्षपछि नेपाली चियाको मूल्यमा वृद्धि भएको छ। भारत निकासी हुने चियाको मूल्यमा अहिले सय प्रतिशतसम्म रकम वृद्धि भएको छ। पहिला भारतमा चिया १४० देखि १६० मा बिक्री हुन्थ्यो भने अहिले ३२० देखि ३४० मा बिक्री भइरहेको छ।

‘चियाको व्यापारमा सुधार आएकै कारण चिया मजदुरले पाउने सेवा सुविधाको अधिकार हामीले दिएका हौं,’ संघका प्रतिनिधि शर्माले भने, 'झापामा साना किसानका सहित २८ वटा चिया उद्योग छन्। ती उद्योगमा ५० हजार बढी मजदुर कार्यरत छन्।'

उद्योगी र मजदुरबीच भएको सहमति :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.