निजगढ नगरपालिका मौन !

|

बारा (सिमरा) : बाराको निजगढ नगरपालिकाभित्र पर्ने बकैया र धन्सार खोलाबाट तस्करहरूले अवैध रुपमा दुई हजार टीप ढुङ्‌गा चोरेको भेटिएको छ। 

खोलाबाट ढुङ्‌गा चोरी भएकोबारे जिल्ला समन्वय समितिका पदाधिकारीहरुले स्थलगत अनुगमन गर्दा चुरेसँग जोडिएको बकैया र धन्सार खोलामा मात्रै कम्तीमा दुई हजार टीप ढुङ्‌गा चोरी गरेर थुपारिएको भेटिएको हो।

नदिजन्य उत्खनन् बन्द रहेको अवस्थामा निषेधित क्षेत्रमा अवैध रुपमा कसले ढुङ्‌गा थुपार्‍यो भन्नेबारे अनुसन्धान भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन्।

‘त्यति धेरै परिमाणमा ढुङ्‌गा २/४ दिनमै थुपारिएको होइन, कम्तिमा ३/४ महिनादेखि सो क्षेत्रमा ढुङ्‌गा चोरी भइरहेको छ, कसको संलग्‍नतामा कसरी थुपारियो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ स्थलगत अध्ययन गरेका प्रजिअ पण्डितले भने। उनका अनुसार बकैया र धन्सार खोलामा मात्रै दुई हजार ट्याक्टर ढुङ्‌गा तस्करीका लागि थुपारिएको छ।

आफ्नो क्षेत्रभित्र रहेका दर्जनौ सानाठूला खोला र वन क्षेत्र भित्रैबाट अवैध रुपमा ढुङ्‌गा चोरी भएको देख्दा-देख्दै निजगढ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले वास्ता गर्ने गरेका छैनन्‌। पछिल्लो समय ढुङ्‌गा चोरीको विषयमा स्थानीय प्रशासनमा उजुरी परेपछि ढुङ्‌गा ओसारपसार र बेचबिखन रोक्न बारा प्रशासनले निजगढ नगरपालिकालाई पत्राचार समेत गरेको छ।

खोलाबाट अवैध रुपमा ढुङ्‌गा निकाल्न नदिन स्थानीय प्रशासनले दबाब दिएपछि निजगढ नगरपालिकाले थुपारिएको ढुङ्‌गा जफत र लिलाम गर्ने निर्णय गरेको छ। ‘हामीले कार्यपालिकाबाटै निर्णय गरेर अवैध ढुङ्‌गा लिलाम गर्ने निर्णय गरिसकेका छौं,’ नगरप्रमुख शुरेस खनालले भने।

तर खनालले लकडाउनका बेला स्थानीयहरुले ढुङ्‌गा थुपारेको दावी गरेका छन्‌। ‘ढुङ्‌गा कति छ भन्ने विषयमा नगरपालिकाको प्राविधिक खटाएर काम भइरहेको छ, अहिले नै यति छ भन्ने अवस्था छैन,’ उनले भने।

लामो समयदेखि खोला छेउमा अवैध रुपमा थुपारिएको ढुङ्‌गाको विषयमा नगरपालिका मौन बस्नुले मिलेमतोको आशंका उब्जाएको स्थानीय प्रशासकहरूले बताएका छन्‌।

​बकैया खोला छेउमा अवैध रुपमा सञ्चालन भएका दर्जनौं क्रसर उद्योगहरूले स्थानीयलाई प्रयोग गरेर अवैध रुपमा ढुङ्‌गा थुपार्न लगाएको निजगढ कार्यपालिकाका एक सदस्यले बताए। ‘मेरो अनुमानमा बकैया खोलामा मात्रै कम्तीमा पाँच हजार टिप ढुङ्‌गा अवैध रुपमा थुपारिएको छ, यो सबै खोला छेउमा सञ्चालन भएका क्रसरका सञ्चालकहरुले स्थानीयलाई प्रयोग गरेर थुपार्न लगाएका हुन्,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.