प्राधिकरण काकतालीले सुधारेको भन्‍नेहरूलाई कामबाटै जवाफ दिनुपर्नेछ

|

कुलमान उदाहरणीय हुन्‌। उदाहरणीय छन्‌ र उदाहरणीय रहिरहनेछन्। तुलनात्मक रूपमा मात्र होइन गज्जबले राम्रो काम गरे र अँध्यारो भोगिरहेका हामीलाई उज्यालो दिन सफल भए।

उद्योग कलकारखाना व्यापार व्यवसाय मात्र होइन विद्यार्थी पेशा व्यवसायी एवं सर्वसाधारणको जीवनमा अनपेक्षित आशाको किरण छरिदिए। मानौं सयवर्ष अघि चन्द्र शमशेरले नेपालमा बिजुली भित्र्याएसरह भयो।  यो बिजुलीको युगमा अन्धकार भोगिरहेका हामी खुसीले गदगद भयौं। गदगद भइरहेका छौं।

सञ्चार प्रविधिको युगमा झ्याप्पझ्याप्प बिजुली गएर झोक्राइरहेको समाजलाई उत्साहले फुरुङ्ग बनाए। त्यसैले अहिले उनी आफ्नो कार्यकाल पूरा गरेर जान लाग्दा उनलाई फेरि त्यहिँ राखियोस् भन्ने माग सर्वत्र छ। जसलाई अस्वाभाविक भन्न मिल्दैन।

नेपालमा अधिकांश सरकारी संस्थान अहिले पनि घाटामा छन। कुलमानले आफ्नो ४ वर्षे कार्यकालमा ३४ अर्ब नोक्सानमा रहेको विद्युत प्राधिकरणलाई आफ्नो नेतृत्वमा ५ अर्ब संचित नाफामा पुर्याउनुको साथै १८ घण्टासम्म भइरहेको  लोडसेडिङ अन्त्य गरेर हामी सबैलाई चकित पारेका थिए।

चार वर्ष अघि धेरैले नचिनेका कुलमान अहिले सामाजिक सञ्जाल र मूलधारका सञ्चार माध्यममा मात्र छाएका होइनन् बौद्धिक जमात र राजनीतिक वृत्तमा रहेकाहरु समेत उनको नाम लिन अग्रसर देखिएका छन्। कतिपय मानिस त उनको नाम लिएर आफू लोकप्रिय बन्न दौड चलाउने पनि छन्। कुलमानको नकारात्मक कुरा कसैले गरेको कोहि सुन्न चाहदैन। लाग्छ यो युग अरुको होइन कुलमानको युग हो।

 

 तर यसको अर्थ कुलमानले सबै राम्रो गरेका छन्‌ भन्ने पनि नहुन सक्छ। उनी पनि हाम्रै समाजका एक पात्र हुन्‌। हाम्रै सरकारी संयन्त्रका एक कर्मचारी हुन् र हाम्रै ल्याङफ्यागे तालमा चलेका संस्थानका हाकिम हुन्‌। उनी माथि सरकारका सचिब मन्त्री र प्रधानममन्त्री हुन्छन्। उनी मातहत इञ्जिनियर, प्राविधिक, लेखा र प्रशासनका मान्छे स्याउँस्याउँती हुन्छन। सबैलाई अपजस पन्साएर जस लिनु छ र सबैलाई मौकामा कमाउनु पनि छ, चोखो देखिनु पनि छ। नेपालमा अख्तियारका हाकिम खुस्किएपछि त के पदमा छँदाछँदै भ्रष्टाचारको मुद्दा लाग्ने देश हो।

नेपाली उनका समयमा ठेक्का कसरी गरिए? समयमा कति काम पूरा भए? सानाठूला खरिद प्रक्रियामा के के भयो? कर्मचारी व्यवस्थापन कसरी गरियो? उनीलाई सफल तुल्याउन भूमिका खेल्ने अहिले सम्मका गुमनाम सहयोगी को को थिए? उनी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनु अघि विद्युत उत्पादन र आयात कति थियो? त्यसपछि आयात कसरी बढ्यो र बढ्नुको कारण के थियो? आन्तरिक उत्पादन कसरी कति बढ्यो? त्यस अघि गरिएका योजनाले उनलाई सफल बनाउन कति र कसरी मद्दत पुग्यो?  विद्युत् आयोजनाहरुको अनुमतिमा कसरी काम भइरहेको छ? चुहावट रोकिएको छ कि छैन? यावत प्रश्नको जवाफसँग उनको मूल्याङ्कन गरिनु न्याय सम्मत ठहर्छ। यसका बिचमा राखेर कुलमानको मूल्यांकन गर्नु वस्तुनिष्ठ ठहर्छ।  उनलाई हेर्ने आधारहरू स्पष्ट हुनुपर्छ।

त्यो बेला लोडसेडिङ हट्नुमा विगतका प्रयासको पक्कै भूमिका थियो। भारतबाट आयातीत बिजुलीको भूमिका थियो। नेपालमै निजी क्षेत्रबाट सञ्चालित नयाँ आयोजनाबाट थप बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। त्यसबाहेक हिमनदी पग्लिएर केही बिजुली थप भएर उनलाई अलिकति मद्दत पुगेको पनि थियो।

यसबाहेक मूलरूपमा उनको व्यवस्थापकीय कुशलताले नै काम गरेको हो। विद्युत आयोजनाहरुको मर्मत सम्भारमा कर्मचारी व्यवस्थापन, चालीस प्रतिशतको हाराहारीमा भइरहेको चुहावट आधा भन्दा कममा झार्न केही कर्मचारीलाई कारबाही नै गरे। यसबाहेक भार वहनलाई सन्तुलित बनाउँदै कुन समयमा कहाँ खपत बढी वा कम हुन्छ त्यसका आधारमा आपूर्ति गराए।

कुलमानले तीनवटा महत्वपूर्ण कुरा प्रमाणित गरेका छन्‌ ती हुन्, लगनशील भएर गर्ने हो भने असम्भव जस्तो मानिएको कुरा पनि सम्भव तुल्याउन सकिन्छ। दोस्रो, नेपालमा लोकप्रिय बन्न धेरै काम नगरे पनि चुपचाप आफ्नो जिम्मेवारी पूरा गरे मात्र पुग्छ। तेस्रो, यहाँ भाषण गरेर मात्र  नेता बनिँदैन राम्रो काम गर्नु भयो भने सडकमा जो कसैको पनि समर्थन वा विरोधमा मानिस उभिने छन्।

अहिले कुलमानले प्राधिकरण छोडेपछि पुन अँध्यारोमा फर्किनु पर्ला भनेर सर्वसाधारणमा आशंका उब्जिएको छ र यही चिन्ताले कोरोनाको आतंक बिच मानिसलाई सडकमा पुर्याएको छ। तर यो चारबर्षको अवधिमा विद्युत उत्पादन बढेको छ र उनले प्राधिकरणको सुदृढीकरण गरेका छन्‌ जसले अब विद्युत कटौती हुन सक्दैन भन्ने विश्वास उनीहरुमा पलाएको छैन। यो कुलमान प्रतिको अविश्वास पनि हो। यसलाई कुलमान आफैंले र सरकारले पनि विश्वास दिलाउन सक्नु पर्छ।

साथै अहिले विद्युत उत्पादन थप भएका बेला पनि कुलमानको बिदाइसँगै अनपेक्षित ढंगले विद्युत कटौती हुन थाल्यो भने उनको पनि कमजोरी ठहर्ने छ। त्यो उनको कमजोरी हो, संस्थागत सुदृढीकरण र प्रणालीको काम नगरेको ठहर्छ । नत्र उनी नहुने बित्तिकै डामाडोल हुने अवस्था रहने थिएन, रहनु हुदैन। आफ्नो अपरिहार्यता राखेर मात्र काम गर्नु गलत कुरा हो। यो अनुमान र अड्कलको कुरा मात्र हो सबै काम ठिक भएको छ र ठिक हुनेछ अहिले यसैमा आशावादी बनौं। 

कुलमानले गरेको व्यवस्थापनले उनी पछी सो पदमा जो आउनेछ त्यसले कुलमान भन्दा गतिलो बनेर देखाउनु पर्नेछ नभए पनि कुलमा बराबर त पक्कै हुनु पर्ने छ। यसले पनि सबैलाई आशावादी बनाएको छ। र, अब कुलमान जहाँ जाने छन् त्यहाँ पनि सुधार गर्ने चुनौति उनलाई आउनेछ। किनभने काकताली परेर मात्र कुलमानले विद्युत प्राधिकरण सुधारेको हो  भन्नेहरूलाई उनले कामबाटै जवाफ दिनु पर्नेछ। उनलाई त्यहिँ अल्झाएर राखेमा उनलाई माया गरे जस्तो देखिए पनि उनको उन्नतिमा अवरोध गरेको ठहर्छ। उनको उज्यालो भविष्यमा बाधा पुग्छ।

हिजो उनलाई कुनै राजनीतिक रंगमा देख्नेहरू अहिले अचानक उनको पक्षमा उभिएर जुन राजनीति गरिरहेका छन त्यसले एउटा जागिर खाने मानिसलाई भलो गर्दैन। उनका समयमा भएका अनियमितता छन्‌ भने तिनको पनि खोजी गरिनु पर्छ। कसैका गल्ति कसैले हेर्नै नसक्ने गरि देवत्वकरण गरिनु सर्वथा गलत हुनेछ। उनले कुशलतापूर्वक काम गरेकोमा सरकारले उचित सम्मान पुरस्कार दिनुपर्छ।

प्राधिकरणमा उनी रहेको पदमा राम्रो काम गरेबापत एकपटक दोहोर्याएको भए फरक पर्दैन थियो। यस तर्फ किन हो उर्जा मन्त्रालय र सरकारको  जाँगर देखिएन  यसले कुलमानलाई होइन सरकारलाई नै नोक्सान देखिएको छ। 

बरु कुलमानलाई उनका पक्षमा आमसञ्चारका माध्यममा गरिएका अनावश्यक प्रचारवाजीले चाहिं उनीमाथि नै अन्याय भएको छ। अर्कातिर सडकमा नारा लगाएर दबाब सिर्जना गरेर कर्मचारी राख्ने हटाउने सरूवा गर्ने गराउने काम पनि गलत हुन्‌।

अझ दल र त्यसका नेताहरुले पक्ष विपक्षमा बक्तव्यवाजी गर्नुले कुलमानमाथि थप अन्याय भएको छ। त्यति मात्र होइन सडक र सञ्चारमा उनको पक्षमा देखिएका सबै मानिस कुलमानको हित गर्न आएका पनि होइनन् कतिपय मानिस आफ्नै राजनीतिको रोटी सेक्न आएका हुन् भन्ने कुलमानले बुझ्नुपर्छ। 

उनको कुशलता हेरेर सम्मानपूर्वक सम्मानित ठाउँमा काम दिनु पर्छ। हुनत कुलमानलाई साविक रहि आएको पदमा म्याद नथपे पनि सरकारले  उनलाई अर्को जिम्मेवारी दिन बाँकी नै छ। नत उनी हटेपछि रिक्त रहेको पदमा नै कसैलाई लगिएको छ। नियम कानुनका कुरा गरे फेरि लान मिल्दैन भन्ने पनि छन् । तर कीर्तिचन्द ठाकुरले तीनपटक र डा. जनकलाल कर्माचार्यले २ पटक सोही पदमा बसेको उदाहरण पनि छ।

त्यसैले उनको  सोही पदमा पुन नियुक्तिको सम्भावना छँदै छैन भन्ने पनि होइन। तर अब एउटा मौका सकिएपछि फेरि उनलाई लाने काम पहिले जस्तो सहज हुदैन। त्यो काम गरियो भने पनि सडकको दबाबमा लगिएको अर्थ लाग्ने भएकोले अब त्यहीँ लानु उचित हुन्न। किनभने भोलि अर्कोले यो भन्दा ठूलो जुलुस नियतबस निकालेर गजबको  जागिर जहाँ पनि खानेछ।

विधि र पद्धति होइन दबाब प्रधान बन्नेछ। कानुनी राज्यमा यसले गलत नजिर स्थापित गर्छ। यसअघि कतिपय जिल्लामा पुगेका प्रहरी प्रशासनका हाकिमहरू सरुवा हुँदा स्थानीय जनताको  रूवाबासी माग हुने गरेका थिए अब जुलुस प्रदर्शन पनि हुनेछन्।

अर्को विचारयोग्य कुरा के हो भने कुलमानलाई बीचमा हटाएको पनि होइन उनी एउटा सफल कार्यकाल पूरा गरेर बाहिरिएका हुन्‌।उनले लिने अवसरहरु धेरै छन्। बाहिर बसेर अरुले गरेको राजनीति वा अभिव्यक्तिबाट एउटा कर्मचारीको भविष्य माथि आघात पुग्नु हुँदैन। उनी जहाँ जानेछन् यही कुशलता देखाएर आफूलाई अब्बल साबित गर्नेछन्। अहिले उनलाई मेलम्ची आयोजना वा द्रुतमार्गमा किन नपठाउने?

 कुनैदिन जागिरबाट अवकाशप्राप्त गरेपछि वा बीचैमा जागिर छोडेर राजनीतिमा आए भने उनलाई जुनसुकै दलले पनि बिजुली मन्त्री बनाउनु पर्छ। फेरि भनौं कुलमान उदाहरणीय हुन उदाहरणीय रहन मद्दत गरौं। अरू कुलमानहरू जन्माऊँ। भएका कुलमानमाथि कसैले षड्यन्त्र पनि नगरौं। उनको नाउँ लिएर आफ्नो स्वार्थको बिग्रिएको मोटरको  चक्कामा हावा हाल्ने काम नगरौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.