कतैबाट सुनुवाइ नभएको व्यवसायीको गुनासो

|
फाइल फोटो

काठमाडौं : नेपालमा कोरोना संक्रमण दर बढेको भन्दै चीन सरकारले रसुवाको उत्तरी नाका केरुङबाट भित्रिने सामान ल्याउन अनुमति दिएको छैन। गत वर्षको मङ्सिरदेखि उत्तरी नाकामा नेपाली व्यवसायीको सामान अलपत्र परेका छन्। 

छालाका झोला निर्माण गर्ने कच्चा सामग्री, जुत्ताका सामग्री, लत्ता कपडा, र विद्युतीय इलेक्ट्रोनिक्स जस्ता सामग्री आयात हुन पाएका छैनन्।

नेपाल सरकारले कूटनीतिक  कदम चाल्न नसक्दा चीन तर्फबाट  तत्काल सामान आउन नसक्ने जस्तै भएको छ। चीनतर्फ रहेका सामान लिन जानलाई नेपाली मालवाहक सवारीसाधनलाई प्रवेशमा रोक लगाएको छ।

केही साता अघि सामान लोड -अनलोड गर्ने नेपाली कामदारमा कोरोना देखिए पछि पूर्ण रुपमा लगाइएको छ। चीनमा कोरोना देखिएपछि सुरुवाती को चरणमा नेपाल सरकारले सामान आयातमा रोक लगाएको थियो। यता कोरोना संक्रमणको दर बढदै गर्दा चीन सरकारले सामान निर्यातमा रोक लगाएको छ।

केही समय स्थानीय सरकारले  रोक लगाएका थिए। चीनबाट आइरहेका सामान रोकपनि पछिल्लो समयमा आयात गर्न खोज्दा कोरोना कारण अवरोध गरिएको हो।

नेपाल सरकारले चीनसँग कूटनीतिक पहल गर्न नसक्दा नाकामा अलपत्र परेका सामान आउन नसकेको व्यवसायीहरु बताउँदै आएका छन्। उत्तरी नाकाबाट नेपाली व्यवसायीहरुको कच्चा पदार्थ अड्किएका छन्। नेपालको उत्तरी केरुङ नाकाबाट छाला, जुत्ताका सामग्री, कपडा, र विद्युतीय इलेक्ट्रोनिक्स सामान आयात हुने गरेका छन्।

'नाकामा अड्केका सामान ल्याउन सरकारले कुनै पहल गरेन'

चीनको केरुङबाट सामान नआउँदा नेपाली बजारमा सामान अभाव हुने अवस्था पुगेको नेपाल राष्ट्रिय व्यवसायी संघका अध्यक्ष नरेश कटुवाल बताउँछन्। सरकारले नेपाली व्यवसायीको सामान आयात गर्नको लागि पहल नगरेमा लाखौको सामग्री नष्ट हुने अवस्थामा पुगेको उनले बताए।

'व्यवसायीको १२ सय कन्टेनरको हाराहारीमा सामान अलपत्र अवस्थामा छ। उत्तरतर्फ नाकाको यार्डमा सामान त्यसै थन्किएको छ,' उनले भने,' सरकारले समयमा पहल नगर्दा सबै सामान अलपत्र परेका छन्। केही काम नलाग्ने पनि भइसकेका छन्। थोरै मात्रामा सामान काम लाग्न सक्छ।'

चीन सरकारले कोभिडको कारणले सामान आयात गर्न नदिदाँ उचित ढंगबाट कुटनैतिक पहल गर्नुपर्ने उनको भनाइ छ। सरकारले सामान आयात गर्नलाई कुनै पहल नगरेको उनको दाबी छ। परराष्ट्र मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायीको माग राख्दा पनि कतैबाट सुनुवाई नभएको उनले बताए।

'स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँछौ भन्दा पनि सामान ल्याउन दिएनन्'

चीनमा कोभिड सुरु भएदेखि केरुङ नाकाबाट नेपाल तर्फ सामान आउन नसकेको केरुङ भन्सार नाकाका प्रमुख पुन्यविक्रम खडकाले बताए। ल्हासा तर्फबाट नेपाल सामान पठाउन को लागि निर्देशन आएपछि मात्र सामान आयात गर्न पाइने उनले जानकारी दिए।

सामान लोड अनलोड गर्ने नेपाली कामदारमा कोरोना देखिएपछि सामान आयातमा पुनः कडाइ गरिएको उनले जानकारी दिए। 'कामदारमा कोरोना पुष्टि हुनुभन्दा अगाडि दैनिक ४ देखि ५ वटा कन्टेनर आइरहेका थिए,' उनले भने,' चीन तर्फबाट सामान लोड-अनलोड गर्नको लागि ३५ जना मानिस यतै राख्नुपर्छ। १४-१४ दिनमा पिसिआर परीक्षण गर्नुपर्छ भनेका छन्। स्वास्थ्य सुरक्षाको मापदण्ड लागु गर्छौ भन्दा पनि आयात गर्न दिएका छैनन्।'

चीनका अधिकारीले पिसिआरको रिपोर्ट नपठाउँदा सम्म सामान आयात गर्नलाई सहज वातावरण नबनाउने बताएको उनले जानकारी दिए। कामदारको पिसिआर परीक्षण गर्नलाई केन्द्रमा हामीले अनुरोध गर्छौ भनेर जवाफ दिएको उनले सुनाए।

'केन्द्रीय सरकारले कुटनैतिक पहल गरेमा तत्काल सामान आउँछ,' उनले अगाडि थपे,' नाका र भन्सारको पहलमा मात्र हुन्न। कोरोनाको महामारीको कारण देखाएर चीनले नेपाल सामान सहजै आउन सक्दैन।'

यसैबीच खड्काले यस नाकाबाट तीन महिनामा ४० करोड ५२ लाख राजश्व संकलन गरिएको पनि जानकारी दिए। उनका अनुसार केही समय खुलेकाे नाकाबाट असारमा १ करोड ५६ लाख, साउनमा २३ करोड ५९ लाख र भदौमा १५ करोड ३७ लाख राजश्व संकलन गरिएको छ।

'कुटनीतिक पहलको प्रयास भइरहेको छ'

नेपाली व्यवसायीको सामान अड्केको विषयमा सरकार गम्भीर रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले बताए। नेपाल स्थित चिनियाँ  दूतावासमा केरुङ नाकामा अड्किएका सामान नेपाल आयात गर्नको लागि छलफलको प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ।

'केरुङ नाकामा अड्किएका सामान ल्याउनका लागि दूतावास मार्फत चीन सरकारलाई परिपत्र गरिसकेको छ,' उच्च अधिकारीले भने,' नेपालबाट सामान लोड गर्न गएका ट्रकमा लोड गर्नको लागि ३० देखि ३५ जनालाई चीनतर्फ क्वारेन्टाइन बनाएर राख्न भनेका छन्।'

नेपालतर्फ कोभिडको संक्रमणको संख्या बढेकाले सामान ल्याउनलाई अवरोध गरेको उनले प्रस्ट पारे। सामान ल्याउनका लागि अवरोध गर्नलाई अन्य कुनै पनि कारण नभएको उनको दाबी छ।

चीनमा संक्रमण बढ्दा नेपाल सरकारले सामान आयातमा रोक लगाएको उनले जानकारी दिए। उता संक्रमण घटयो यता बढ्दा चीन तर्फबाट सामान नपठाउँदा गाह्रो भइरहेको उनले जानकारी दिए। 'जतिसक्दो दशै भन्दा अगाडि अड्केका सामान ल्याउन लाई पहल प्रयास गरिरहेका छौ,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.