|

सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा (आज) शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई समुदायबीच दोहोरो झडप भएको थियो।

झडपमा दुवै पक्षका केही मानिस घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार  बिहानैबाट हिन्दु र मुस्लिम समुदायबीच ठाउँ–ठाउँमा जम्मा भएर विवाद गर्न खोजेकाले कर्फ्यु आदेश जारी गरिएको हो।

स्थिति नियन्त्रणभन्दा बाहिर गएकोले शनिवार दिउँसो २ बजेदेखि आइतवार बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पैडेलले जानकारी दिए।

कर्फ्यु जारी भएसँगै प्रहरीले मलंगवा बजार क्षेत्रमा बजार बन्द गराउँदै हिँडेका छन् भने स्थानीयहरुलाई घरमै बस्न माइकिङ गरिएको छ। विवाद मिलाउन शनिवार बिहानैदेखि दुवै पक्षका मानिस राखेर जिल्ला प्रहरी कार्यालय मलंगवामा छलफल चलिरहे पनि हिजो झडप भएको ठाउँ र नगरका विभिन्न स्थानमा ठूलो संख्यामा मानिसहरु जम्मा भएर विवाद गर्न खोजेकाले कर्फ्यु जारी गरिएको स्थानिय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.