स्थानीय तहलाई जिम्मेवारी पन्छाएर उम्किँदैछ मन्त्रालय

|

धनगढी : स्वास्थ्य निर्देशनालय दिपायलले प्रकाशन गरेको तथ्यांक अनुसार सुदूरपश्चिममा शनिबारसम्म सक्रिय संक्रमित संख्या ८ सय ४९ जना छन्। जसमध्ये जिल्लागत अस्पतालको आइसोलेसनमा तीन सय ५४ जना छन् भने दुई सय ४३ जना होम आइसोलेसन रहेको भन्दै तथ्यांक सार्वजनिक गरेको छ। 

निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालयलाई स्रोत उल्लेख गर्दै सार्वजनिक गरेको उक्त तथ्यांकमा २ सय ५२ जना सक्रिय संक्रमित कहाँ छन् भने खुलाइएको छैन्। सुदूरपश्चिमका नौ वटै जिल्लामा कुल ९९ ओटा आइसोलेसन स्थानमा दुई हजार पाँच सय ७२ बेड संख्या रहेका छन्। 

शनिबारसम्म सबैभन्दा बढी कैलालीका चार सय ४० जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै कञ्चनपुरमा ५८, डोटीमा एक सय १९, अछाममा ६६, बझाङमा ६१, बाजुरामा ९, डडेल्धुरामा १२, बैतडीमा ६७ र दार्चुलामा ३० जना गरी जम्मा ८ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्। 

हालसम्म सुदूरपश्चिममा ५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने ६ हजार ५ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिमका चार वटै प्रयोगशालामा गरी ७६ हजार पाँच सय २७ जनाको पिसिआर विधिद्वारा स्वाव परीक्षण गरिएको छ। यस्तै एक हजार ७ सय ५९ जनाको संकलन भएको स्वाब परीक्षण गर्न बाँकी छ।

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले केही सक्रिय संक्रमित सम्पर्कविहीन रहेको बताए। ‘कतिपय मानिसमा संक्रमण पुष्टि भए पनि मोबाइल अफ गरेर बस्छन्,’ उनले भने, ‘संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित स्थानीय तहलाई हो, पालिकाले नै माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने हो, पालिकाको सम्पर्कमा कति आए भन्ने कुरामा भर पर्छ।’

‘संक्रमित सम्पर्कमा नआएका कारण संक्रमणको जोखिम बढेको बताए। आफूहरूले पटकपटक सतर्कता अपनाउन भनिरहेको छौं।’ संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न वा स्वास्थकर्मीको सम्पर्कमा आउन आग्रह गरिएको उनले बताए।

यसरी सक्रिय संक्रमितलाई व्यवस्थापन गर्न नसक्दा समुदायमा कोरोना संक्रमण फैलिँदै गएको छ। शनिबार मात्रै सुदूरपश्चिममा ३९ जनामा संक्रमण पुष्टि भएको छ। 

सुदूरपश्चिममा २१ देखि २९ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना संक्रमण उच्च

सुदूरपश्चिम प्रदेशमा संक्रमित भएकामध्ये पाको उमेरका भन्दा युवा बढी छन्। हालसम्मको तथ्यांकमा २१ देखि २९ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणदर उच्च देखिएको छ। संक्रमित भएको उक्त उमेर समूहका व्यक्तिहरू धेरैजसो लक्षणविहीन छन्।

असोज ३ गते शनिबारसम्म कुल संक्रमित संख्यामध्ये दुई हजार सात सय ३७ जना २० देखि २९ वर्ष उमेर समूहका छन्। जसमा सात सय १८ जना महिला र दुई हजार १९ जना पुरुष छन्। 

यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ४ सय २५ जना संक्रमित छन्। जसमध्ये महिला ३ सय २५ जना छन् भने पुरुष एक सय २५ जना छन्। शून्य देखी ९ वर्ष उमेर समूहका ५ सय ८८ जना, १० देखि १९ वर्ष उमेर समूहका आठ सय १८ जना, ४० देखि ४९ वर्ष उमेर समूहका पाँच सय ८८ जना र ६० वर्षभन्दा माथिका १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.