ठूला कम्पनी भ्याक्सिनभन्दा क्रिम बनाउँछन्

|

कोरोना भाइरसको यो कठीन घडीमा डोनाल्ड ट्रम्प नेतृत्वमा हुनु दिक्दार लाग्दो कुरा हो। कोरोना काफी गम्भीर विषय छ। तर‚ मानव इतिहासमा हुँदै आएका घटनाभन्दा पनि डरलाग्दा थप दुई खतरा हाम्रो सामुन्ने छन् भन्ने भुल्नु हुँदैन। परमाणु युद्ध र ग्लोबल वार्मिङको विश्वव्यापी खतरा। दुवै खतरा बढ्दै गइरहेका छन्।

कोरोना भाइरस आफैंमा भयानक छ र यसबाट भयंकर परिणाम निस्कन सक्छ। तर‚ हामीले यसबाट पार पाउनेछौं। अरू दुई खतराबाट पार पाउन असम्भव हुनेछ। त्यसबाट सबै कुरा तहसनहस हुनेछ।

आज अमेरिकासँग असीमित शक्ति छ। अमेरिका एकमात्र त्यस्तो देश हो‚ जो इरान र क्युबाजस्ता अन्य देशमाथि प्रतिबन्ध लगाउने क्षमता राख्छ। उसले प्रतिबन्ध घोषणा गरेसँगै अरू देश उसलाई पच्छ्याउँछन्। यूरोप पनि अमेरिकाकै अनुसरण गर्छ।

अमेरिकी प्रतिबन्धबाट पीडित क्युबाजस्ता देशहरूले आज कोरोनाको यो संकटमा यूरोपलाई मद्दत गरिराखेका छन्। जर्मनले ग्रीसलाई मद्दत गर्दैन, तर क्युबाले युरोपलाई मद्दत गर्छ। भूमध्यसागर क्षेत्रमा हजारौं आप्रवासी र शरणार्थीको मृत्यु भइरहेको सन्दर्भमा पश्चिमी सभ्यताको यो संकट विनाशकारी देखिन्छ।

हामीले अहिलेको यो संकटबाट पार पाउन युद्धकालमा गर्ने गरिए जस्तै स्रोतहरूको परिचालनतर्फ ध्यान दिनुपर्छ। उदाहरणका लागि‚ दोस्रो विश्वयुद्धमा अमेरिकाले वित्तीय स्रोत जुटाउन के-कस्ता योजना बनाएको थियो‚ त्यो हेरौं। दोस्रो विश्वयुद्धले अमेरिकालाई ऋणमा चुर्लुम्मै डुबाइदिएको थियो‚ अमेरिकी विनिर्माण चौपट भएको थियो। तर‚ वित्तीय परिचालनमार्फत विकास कार्यलाई अघि बढाइयो। यो अल्पकालिन संकटबाट पार पाउन हामीलाई त्यस्तै मानसिकताको खाँचो छ। धनी देशहरू त्यसो गर्ने क्षमता राख्छन्। एउटा सभ्य संसारमा धनी देशले अन्य देशको घाँटी थिच्नुको सट्टा मद्दत गर्ने गर्छन्।

कोरोना भाइरसको संकटले हामी कस्तो संसार चाहन्छौं भन्ने सोच्नतर्फ मानिसलाई बाध्य बनाउन सक्छ। अहिलेको संकट बजारको असफलता र नव-आर्थिक नीति समेतको परिणाम हो‚ जसले गहिरो सामाजिक-आर्थिक समस्या जन्माएन मात्रै‚ तीव्र पनि पार्‍यो।

सार्स महामारी कुनै न कुनै माध्यमले कोरोना भाइरसका रुपमा ढिम्किन सक्छ भन्ने पहिले नै थाहा थियो। धनी देशले सम्भावित कोरोना भाइरसविरुद्ध खोप बनाउने काम गर्न सक्थे। त्यसो गरिएको भए आज सामान्य परिमार्जनसँगै सहज रुपमा खोप उपलब्ध हुने परिस्थिति बन्‍न सक्थ्यो। ठूल्ठूला औषधि कम्पनीका निरङ्कुशता हामीलाई थाहा छँदैछ। ती कम्पनी मानव विनाश रोक्न भ्याक्सिन बनाउनुको सट्टा नयाँ बडी क्रिमको उत्पादनमा अधिक फाइदा देख्छन्। सरकारलाई समेत त्यस्ता कम्पनीमाथि लगाम लगाउन कठीन छ।

सरकारी संस्थानले बनाएको भ्याक्सिनका कारण पोलियोको खतरा टरेर गयो। उक्त भ्याक्सिनको कुनै पेटेन्ट थिएन। अहिले पनि त्यस्तै गर्न सकिन्थ्यो‚ तर नवउदारवादको कारण निम्तिएको आपतले त्यसो हुन दिँदैन। अमेरिकाले अक्टोबर २०१९ मै कोरोनाजस्तै सम्भावित महामारीको आशंका गरेको थियो। हामीले त्यसतर्फ ध्यानै दिएनौँ।

३१ डिसेम्बरमा चीनले निमोनियाँबारे विश्व स्वास्थ्य संगठनलाई सूचित गर्‍यो, एक हप्तापछि चिनियाँ वैज्ञानिकले यसलाई कोरोना भाइरसका रुपमा पहिचान गरे। त्यसपछि बल्ल सबैलाई जानकारी दिइयो। लगत्तै त्यस क्षेत्रका चीन, दक्षिण कोरिया ताइवान लगायतका देश कोरोनाविरुद्ध क्रियाशील भएका कारण संकट धेरै चर्किन नपाएको देखिन्छ।

युरोपमा पनि केही हदसम्म त्यसै गरियो। जर्मनीसँग भरपर्दो स्वास्थ्य-प्रणाली थियो‚ अरूलाई मद्दत नगरे पनि आफ्नो हितमा काम गर्न सक्षम देखियो। अरू देशले यसलाई गम्भीरताका साथ लिएनन्। खासगरी अमेरिका र बेलायतले अत्यन्तै खराब रवैया देखाए।

यस्ता किसिमका संकटबाट पार पाउँदाको स्थितिमा हामीसँग दुई विकल्प उपलब्ध हुने सम्भावना हुन्छ। अधिक अधिनायकवादी तथा क्रूर राज्यहरूको स्थापना हुन सक्छ वा पहिलेभन्दा झनै मानवीय समाज निर्माणको सम्भावना हुन्छ। त्यस्तो समाज, जो निजी लाभको साटो मानवीय आवश्यकतालाई महत्व देओस्।

मानिसहरू संगठित हुने र असाध्यै राम्रो संसारको निर्माणका लागि जुट्ने सम्भावना पनि छ। त्यतिखेर पनि ठूल्ठूला चुनौतीहरूको सामना गर्नुपर्ने हुनसक्छ, जसरी आज हामी परमाणु युद्धको खतराको आशंका गरिराखेका छौं। पर्यावरणीय विनाशको समस्या पनि कायमै रहनेछ, जसले अन्तिम सीमा छोएको खण्डमा हामी सायदै बौरिन सकौँला। त्यसैले‚ त्यस्ता समस्यासँग जुध्न आज हामीले निर्णायक भूमिका खेल्नु छ।

यो मानव इतिहासकै महत्वपूर्ण क्षण हो। कोरोना भाइरसले विश्वकै कमजोर पक्षबारे जागरूकता मात्रै ल्याएको छैन, पूरै सामाजिक-आर्थिक प्रणालीमा विद्यमान गहिरा त्रुटीबारे पनि हामीलाई थाहा भइराखेको छ। हामीलाई बाँच्न लायक भविष्य चाहिएको छ भने अहिलेको स्थितिलाई बदल्नुपर्छ। कोरोना-संकट चेतावनीको एउटा संकेत हुनसक्छ, योसँग जुध्न र भविष्यका सम्भावित विस्फोटहरूलाई रोक्नका निम्ति पाठ हुनसक्छ।

भोलि झनै अप्ठ्यारो स्थिति निम्त्याउन सक्ने भएकाले हामीले यसको जरा वा स्रोतबारे पनि सोच्नुपर्छ। आज २ करोड मानिसहरू क्वारेन्टाइनमा छन्। एकलकाँटे स्थितिको एउटा रुप वर्षौंदेखि हाम्रो समाजमा विद्यमान छ र त्यसको नतिजा निकै हानिकारक देखिँदै आएको छ।

आज हामी सामाजिक रुपमा वास्तवमै अलगथलग भएका छौं। कुनै न कुनै तरिकाले सामाजिक बन्धनको विकास गर्दै हामी यसबाट बाहिर निस्कनैपर्छ‚ ताकि अप्ठ्यारोमा परेकालाई मद्दत गर्न सकियोस्। त्यसका लागि एकआपसमा सम्पर्क, संगठनको विकास तथा फराकिलो विश्लेषण आदि गरिनुपर्छ।

यसरी मानिसहरूलाई क्रियाशील र सक्रिय बनाउनुअघि भोलिको योजना बनाइनुपर्छ, इन्टरनेट युगमा सबैलाई जोड्नुपर्छ, विमर्श गर्नुपर्छ, देखिएका समस्याबारे छलफल गर्नुपर्छ।

तत्कालका लागि प्रत्यक्ष साक्षात्कार वा संचार हामीलाई उति आवश्यक नपर्न सक्छ। त्यसलाई केही समय थाँती राख्न सकिन्छ। तर‚ अगाडि बढ्नका लागि कुनै न कुनै माध्यम वा अन्य तरिकाको विकास गर्नुपर्ने हुन्छ। त्यस्ता गतिविधिको विकास र विस्तार गर्नुपर्ने हुन्छ। त्यसो गर्न सम्भव छ‚ तर सजिलो छैन।

मानिसले हिजो पनि कयौं समस्याको सामना गरेरै आएको हो।

(९१ वर्षीय चोम्स्की अमेरिकी भाषाविद् तथा राजनीतिक विश्लेषक हुन्। उनको यो आलेख न्युजलन्ड्री डटकमबाट अनुवाद गरिएको हो।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.