प्रवक्ता श्रेष्ठ भन्छन्ः मन्त्री हुने व्यक्तिबारेमा कुरा भएको छैन

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल थालेको छ। आइतवार पेरिस डाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनले औपचारिकरुपमा प्रवेश पाएको हो। यो सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन पहिलो एजेन्डा नै बनेको छ।

भदौ २५ मा बसेको स्थायी कमिटीको निर्णयानुसार संघीय सरकारका मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘आज बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरबारे छलफल सुरु गरेको छ', उनले भने, 'तर कसलाई लैजाने, कसलाई हटाउने भन्‍ने बिषयमा छलफल भएको छैन।’ 

मन्त्रिपरिषद् हेरफेरसहित चारवटा एजेण्डा छलफलका तयार गरिएको उनले बताएका छन्। आजको बैठकमा एजेन्डा तय भएकाले थप छलफल भोलि १ बजे पेरिस डाँडामै बस्‍ने बैठकमा हुने उनले जानकारी दिए। 

पुनर्गठनका तीन विकल्प 

आजको बैठकमा मन्त्रिपरिषद् हेरफेरलाई लिएर तीन विकल्पमा छलफल भएको एक सचिवालय सदस्यले बताए। ‘प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरु फेर्ने पहिलो, सुरुमा मन्त्री भएका सबैलाई हटाउने दोस्रो र केहीलाई हटाएर केहीलाई ल्याउने विकल्प दिनुभयो’ उनले भने, ‘बैठक यी तीनै विकल्पमा केन्द्रित हुनेछ।’

‘स्थायी कमिटीले पारित गरेको मापदण्डको आधारमा मन्त्रिपरिषद् हेरफेर हुनेछ। अहिले सबै मन्त्रीहरु हट्दैनन्। कार्यक्षमताको आधारमा नै कसलाई राख्‍ने, कसलाई हटाउने भन्‍ने पक्षमा छौँ’ उनले भने, ‘प्रधानमन्त्री ओली आफैं पनि सबै मन्त्रीहरुलाई बिदा गर्ने पक्षमा रहेजस्तो देखिँदैन।’

दशैँअघि नै मन्त्रिपरिषद् हेरफेर भइसक्ने ती नेताले संकेत गरे। ‘भोलिको सचिवालय बैठकमा आज छलफल गर्न बाँकी कुरालाई निरन्तरता दिन्छौँ’, ती नेताले भने, ‘दशैँअघि नै मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने सम्भावना छ।’

‘मनसँग पनि कुरा भएको छैन’

मन्त्रिपरिषद हेरफेरको क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठको सरकारमा जाने चर्चा छ। तर, उनले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग आफ्नो बिषयमा आफैंले समेत कुनै कुरा गरिनसकेको तर्क गरे। 

‘व्यक्तिको बिषयमा कसैको पनि छलफल भएको छैन। त्यसमा मेरो मनसँग त मेरो कुरा भएको छैन। पार्टीभित्र मेरो बिषयमा कसरी छलफल हुन्छ,’ उनले भने। 

कार्यकारीको अभ्यासमा प्रचण्ड

पार्टीभित्रको लामो विवादपछि प्रचण्डले ०७६ मंसिर ४ गतेको सचिवालयको निर्णयअनुसार पुनः कार्यकारी अधिकार पाएका छन्। भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले अध्यक्ष दाहाललाई पुनः कार्यकारी अधिकारमा फर्काएको थियो। 

‘पार्टीभित्रको समस्या समाधान भइसकेपछि कहिले बालुवाटार, कहिले धुमबाराहीमा बैठक बस्दै आएको बैठक पार्टी आफ्नै पार्टी कार्यालयमा राखौँ भनेर पेरिस डाँडा राखिएको हो,’ अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले भने। पार्टीभित्र सहमतिको आधारमा सैद्धान्तिक छलफल सुरु भएकाले त्यस्तो केही अन्तरविरोध बाँकी नरहेको उनले प्रष्ट्याए।

पार्टी एकता भएपछि पहिलोपटक तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा बैठक राखेको छ। प्रधानमन्त्री ओली पेरिस डाँडा पार्टी कार्यालय एकपछि आज दोस्रो पटक मात्रै पुगेका हुन्। पार्टीको सचिवालय, स्थायी कमिटीको बैठक समेत प्रधानमन्त्री निवास बालुवाटारमा हुदै आएको छ। 

सम्भावित मन्त्री

मन्त्रिपरिषद् हेरफेरको बिषयमा छलफल सुरु भए पनि कसलाई लैजाने भन्‍ने टुंगो भइसकेको छैन। तर, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलभित्र रहेकालाई सरकारमा लैजान चाहन्छन्। 

कार्यदल संयोजक विष्णु पौडेल तथा सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मासहितका नेताहरु मन्त्रीका बलिया दाबेदार हुन्। यी बाहेक उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको पनि चर्चा छ।  

यसअघि शीर्ष नेताको भागबण्डाकै आधारमा मन्त्रिपरिषद् हेरफेर हुँदै आएका थियो। मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी हुनुपर्ने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषद् हेरफेर तयारी थालेपछि नेकपामा मन्त्रीका आकांक्षी बढेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.