|

बुटवल : बुटवलबाट चार दिनदेखि बेपत्ता भएका मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव बिष्णु प्रसाद नेपाल मृत भेटिएका छन्‌।

सोमबार बिहान तिलोत्तमा–११ मधौलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले बताए। रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेवको रुपमा कार्यरत थिए।

नेपाल गत बिहीबार राति १२ बजेतिर बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए। नेपालको मोटरसाइकल बुटवल–६ स्थित नहरको छेउमा फेला परेको हो।

नहरमा पानीको बहाव उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी जारी राखेको थियो।

उनका श्रीमती र एक छोरा रहेका छन्। उनका दाजु छवि नेपालको पनि उपचारको क्रममा आइतबार मृत्यु भएको थियो। सुगर र उच्च रक्तचापको समस्या रहेका बुटवल–१ का बासिन्दा नेपालको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.