अब कोरोनासँगै बाँच्‍न सक्नुपर्छ

|

काठमाडौं : लामो समय उपत्यका बाहिर रहेर सेवा दिएका वरिष्ठ स्त्री रोग विशेषज्ञ प्रा.डा. जागेश्‍वर गौतम केही महिना अघिसम्म थापाथली प्रसूति गृहका निर्देशक थिए।

झन्डै दुई दशक उपत्यका बहिर स्त्री रोग विशेषज्ञका रुपमा सेवा गरेका डा. गौतमले नेपालको एकमात्र महिलासम्बन्धी अस्पताल थापाथली प्रसूति गृहको सेवालाई समेत गुणस्तरीय चुस्त बनाए।

चिकित्सकका रुपमा जसरी महिला स्वास्थ्यको उपचारमा अब्बल मानिन्छन्, उनी त्यतिनै कुशल व्यवस्थापक पनि। उनैलाई कोरोनासँग जुधिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २५ गते समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिएको थियो।

त्यसयता प्रा.डा. गौतम कोरोना संक्रमणको नियन्त्रणमा नीतिगत रुपमा नै अब्बल ठाउँमा रहेका छन्। हक्की र प्रशासनिक स्वभाव भएका उनले हाल मन्त्रालयबाट नियमितरुपमा दैनिक मिडिया ब्रिफ्रिङ गर्दै आएका छन्।

आफूले हालसम्म नगरेको काम गर्नु परेकाले कतिपय कुरा भर्खर सिक्दै गरेको उनी बताउँछन्। ‘धेरै समय बिरामीकै सेवामा बिताएँ, अहिले नीतिगत तहमा आइपुगेको छु। जनताले धेरैभन्दा धेरै स्वास्थ्य सुरक्षाको अपेक्षा गरेको बेलामा प्रवक्ताको जिम्मेवारीमा छु', उनले भने, 'मैले धेरै कुरा सिक्न बाँकी रहेछ, ती कुरा सिक्दै छु, नयाँ अनुभव भएको छ।'

गाली सुनेर दु:ख भन्दा खुसी लाग्छ

खरो र हक्की स्वभावका गौतमले कोरोना संक्रमणबाट जोगिन सरकारले मात्रै सबै कुरा गर्न नसक्ने भएकाले नागरिक नै सचेत हुनुपर्ने सुझाव दिँदै आएका हुन्छन्।

तर मिडिया ब्रिफिङमा उनको प्रस्तुतिलाई तुच्छ गाली समेत गरिएको हुन्छ। यस्तो गाली पढ्दा उनलाई दु:ख होइन, उनलाई झनै खुसी लाग्छ। 'म मिलेसम्म समय मिलाएर सबै कमेन्ट पढ्छु नराम्रो कमेन्ट देखेर दु:ख लाग्दैन, खुसी लाग्छ', उनले भने,'उहाँहरुको कमेन्टले झनै राम्रो काम गर्न प्रेरणा दिन्छ।'

उनले कमेन्टमा आफूलाई लेखे पनि व्यक्तिलाई भन्दा सरकारलाई गरेको आलोचना भएको बुझेका छन्। त्यसले आफ्नो जिम्मेवारी अझै कसरी राम्रो गर्न सकिन्छ भन्‍ने सोच्‍न मन लाग्‍ने उनले बताए।

‘अहिले म जुन ठाउँमा छु, त्यो ठाउँबाट सरकारले गरेका काम जनतासम्म पुर्‍याउने मेरो जिम्मेवारी हो', उनले भने, 'सबै जनता जनता खुसी हुने गरी हामीले काम गर्न नसकेका हुन सक्छौँ, त्यसैले उहाँहरुको गुनासोलाई सकारात्मक रुपमा लिन्छु।'

उनले कहिलेकाहीँ व्यक्तिगत रुपमा नबुझ्‍नेहरुले पनि गाली गर्ने गरेको ठानेका छन्। 'प्रत्यक्ष रुपमा नभेटेको र नदेखेको हुनाले नबुझी आलोचना जस्तो लाग्छ', उनले भने, 'हाँसेन भने हाँसेन भन्‍नु हुन्छ, हाँस्यो भने हाँस्यो भन्‍ने डर हुन्छ।'

उनी आफैं सरल जीवनशैलीका हिमायती हुन्। 'मानिससँग सहजै घुलमिल हुन सक्छु, हरेक चिकित्सकको यस्तै जीवनशैली यस्तै हुनुपर्ने ठान्छु', उनले भने, 'बिरामीसँग चिकित्सकले गर्नुपर्ने जुन व्यवहार हुन्छ, त्यो मबाट पनि  हुन्छ। अहिले जुन ठाउँमा छु, त्यहाँ मेरो चिकित्सकीय भन्दा व्यवस्थापकीय भूमिका हुन्छ। व्यवस्थापनमा  मेरो आफ्नै स्वभाव छ।'

कोरोनासँगै बाँच्‍न सिकौँ

मिडिया ब्रिफिङमा होस् वा मन्त्रालयकै अन्य बैठकहरूमा आफ्नो कुरा अडिग भएर राख्‍ने डा. गौतमले कोरोनासँग अब सँगै बाँच्‍न सक्नुपर्ने बताए। त्यही अनुसार सतर्कता अपनाउँदै जानुपर्ने कुरामा उनी बढी जोड दिन्छन्। ‘धेरैले कोरोना कहिले सकिन्छ भन्‍नुहुन्छ। कोरोना अहिले नै सकिन्छ भन्‍ने छैन। त्यसैले अब सतर्कता अपनाउँदै कोरोनासँगै बाँच्‍न सिक्नु पर्छ भन्छु', उनले सुनाए।

कोरोना भाइरस नियन्त्रणमा  सरकारले हालसम्म राम्रो काम गरेको उनको बुझाइ छ। सरकारको प्रयाससँगै संक्रमण नियन्त्रणमा जनताको पनि उत्तिकै भूमिका हुने उनले बताए। 'जनताले आफू अनुशासित हुनु आवश्यक छ', उनले अन्त्यमा भने, 'सरकारको मापदण्ड पालना गरेर सहयोग गरिदिएमा कोरोनाविरुद्धको लडाइँ जित्‍न सकिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.