विज्ञहरु भन्छन् : यात्रुलाई जाँच्‍न एन्टिजेन विधि प्रयोग गरौं

|

काठमाडौं : करिब ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ। कोरोना भाइरसको त्रासले रोकिएको उडान सोमबार बिहानैबाट सञ्चालनमा आएको हो।

निजी वायुसेवा सञ्चालकले ५० प्रतिशत यात्रु राखेर उडान भर्न नसक्ने भन्दै उडान स्थगित गरेका थिए। सरकारले पुरै सिटमा यात्रु राखी स्वास्थ्य मापदण्ड अपनाएर पुनः उडानको लागि अनुमति दिएको थियो।

नियमित उडान सुरु भएपछि पौने ८ बजे भोजपुरको लागि नेपाल वायुसेवा निगमको जहाजले १६ जना यात्रु लिएर गएको छ। निजीतर्फको उडानमा बुद्ध एयरले ५६ जना यात्रु लिएर पोखरा गएको हो। दिनभर को विभिन्न निजी कम्पनीसहित ५३ वटा जहाजले अनुमति पाएका छन्।

यात्रु डेढ घण्टा अगाडि विमानस्थल पुगि सक्नुपर्छ। यात्रुले माक्स प्रयोग गर्नुपर्ने, बोर्डिङ पास लिएपछि सामाजिक दूरी कायम गर्नुपर्नेछ। स्वस्थ्य रहेको फर्म भर्नुपर्ने छ।  विमानस्थल भित्र रहेको स्यानिटाइजर प्रयोग गर्नु भएको छ। ज्वरो,खोकी र कोरोनाका लक्षण देखिएमा विमानस्थल प्रवेश रोक लगाउने भएको छ।

मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहँदा पीसिआर परीक्षण नगरी विमान स्थलबाट ज्वरो नाप्दै आन्तरिक उडान सुचारु गर्न थालिएको छ। अन्तर्राष्ट्रिय उडान गर्दा अनिवार्य पीसिआर रिपोर्ट चाहिन्छ तर ,आन्तरिक उडानको लागि पिसिआर बिना धमाधम उडान गर्न अनुमति दिएको छ।  काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित रहेका छन्। संक्रमित क्षेत्रबाट गएका मानिसहरु विभिन्‍न जिल्ला जाँदा झन जोखिम बढने भएको छ।

'सबै यात्रुलाई फेस मास्क दिएका छौ'

पीसिआर परीक्षणको मान्यता ७२ घण्टाको हुने भएकोले विमानस्थलमा यात्रुको परीक्षण गरी उडाउन सम्भव भएको निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल बताउँछन्। विमानस्थल भित्र प्रवेश गर्दा सम्पूर्ण स्वास्थ्यको मापदण्ड अपनाएर मात्र प्रवेश गर्न दिइरहेको उनले बताए।

'नेपालको सबै विमानस्थलमा सुगम स्थानमा छैन,' उनको तर्क छ,' पीसिआर परीक्षणको नतिजा छिटो आउदैन। स्वस्थ्य नतिजा राम्रो भएको यात्रुलाई मात्र उडान अनुमति दिएका छौ।' यात्रुले आफै मास्कको प्रयोग र भित्र रहेको स्यानिटाइजरको प्रयोग गरिरहेको उनको भनाइ छ।

'यात्रु विमान स्थलमा प्रवेश गरेपछि टिकट र बोर्डिङ पासको सम्पूर्ण व्यवस्था मिलाएपछि सामाजिक दूरी कायम गर्नलाई बस्ने गरी व्यवस्था गरिएको छ,' उनले भने,' विमानमा सम्म पुर्‍याउने बसमा बस्दा समेत सामाजिक दूरी कायम गर्नुपर्छ। बसलाई हरेक पटक स्यानिटाइज गरिएको छ। बसका चालकले मास्क र फेस मास्क लगाएका छन्।'

प्रत्येक वायुसेवा कम्पनीले यात्रुको लागि फेस मास्कको व्यवस्था गरेको छ। फेस मास्कको प्रयोग गरेपछि यात्रुले लिएर जान पाउने उनले जानकारी दिए। प्रयोग गरिएको मास्कलाई पुनः प्रयोगमा नल्याइने उनले प्रस्ट पारे।

पिसिआर परीक्षण नगरी उडान अनुमति

सरकारले पीसीआर परीक्षण नगरी उडान अनुमति दिएकाले निश्चित मापदण्ड अपनाएर उडान अनुमति भर्न दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

यात्रुले माक्स लगाउनुपर्ने, तापक्रम परीक्षण गरीने, स्यानिटाइजर र सामाजिक भौतिक दूरी अनिवार्य रुपले पालन गर्न लगाएको उनले बताए।  'यात्रुले स्वस्थ्य रहेको फर्म भरेपछि मात्र बोर्डिङ पास पाउने गरेका छन,' उनले भने।

प्रत्येक एयरलायन्सको टीकट परीक्षण काउण्टरमा सिसाले पूर्ण रुपमा बार लगाइएको उनले सुनाए। विमानस्थल भित्र यात्रुले अनिवार्य मास्कको प्रयोग गर्न निर्देशन दिएको उनले बताए।

क्षेत्रीका अनुसार विमानमा प्रवेश गरेपछि केही यात्रुले फेस सिल लगाएका छन्। सिमित यात्रुले मात्र प्रयोग गरेका छन्। ५० भन्दा बढी विमानले अनुमति पाएका छन्।

काठमाडौंबाट अन्यत्र जाँदा उच्च जोखिम

संक्रमित बढी भएका क्षेत्रबाट उडान भर्दा संक्रमणको उच्च जोखिम हुने भएको संक्रामक रोक विशेषज्ञ डा. जनक कोइरालाले बताए। उच्च संख्यामा भएका संक्रमितको ठाउँबाट कम संक्रमण भएको ठाउँमा जाँदा बढी जोखिम हुने उनको भनाइ छ। कोरोना कुनै ट्राभल हिस्ट्री नभएको मानिसमा देखिएकोले यसरी बिना परीक्षण यात्रा गराउनुले पनि जोखिम हुने उनले प्रस्ट पारे।

विमानस्थलमा यात्रुको विभिन्न माध्यमबाट परीक्षण हुनुपर्ने उनको भनाइ छ। 'पीसिआर विधि भन्दा एन्टिजेन विधिबाट परीक्षण गर्दा छिटो नतिजा आउने भएकोले यात्रुको परीक्षण गर्नुपर्छ,' उनले भने,' विमानमा सबै यात्रुले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने भने त्यति धेरै जोखिम नहुने अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको अभ्यासले देखाएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.