पुरानो रेल राख्‍न संग्रहालय बनाइँदै

|

जनकपुरधाम : भारतबाट तयार भएर शुक्रबार जनकपुरधाम आइपुगेको रेल इनर्वा लगेर राखिएको छ। इनर्वास्थित स्टेसनमा राखिएको दुई सेट रेललाई प्लाष्टिकको त्रितालले छोपिएको छ।

पानी र घामबाट बिग्रिन सक्ने भन्दै त्रिपालले छोपेर रेल राखिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार रेलको सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी सुम्पिएको छ। अब संचालनमा नआउन्जेलसम्म रेल त्यही हुन्छ।

रेल औपचारिक रुपमा सञ्चालनका लागि रेल्वे विभागले तयारीमा जुटिसकेको छ। महाप्रबन्धक भट्टराई भन्छन्, ‘डेढ महिनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौं। तर कोरोना भाइरसको संक्रमणको अवस्था यस्तै रह्यो भने मात्र संचालनमा ढिलो हुनसक्छ।’

जनकपुर (कुर्था)-जयनगर रुटमा रेल संचालनका लागि ट्रयाक तयारी अवस्थामा छ। तर कर्मचारी र अन्य प्राविधिकको अभाव तथा क्रस बोर्डर रेल संचालनका लागि गर्नुपर्ने सम्झौता नभएकाले रेल नेपाल आइसके पनि संचालनमा आउन सकेका छैन। यद्यपि डेढ महिनाभित्रै सबै प्रक्रिया पुरा गरी संचालनमा ल्याउने महाप्रबन्धक भट्टराईको दाबी छ।

पुरानो रेल सङ्ग्रहालयमा

सात वर्ष अगाडि बन्द भएर जीर्ण बनिसकेको पुरानो रेल राख्न सङ्ग्रहालय स्थापना गरिने भएको छ। महाप्रबन्धक भट्टराईले स्थानीय सरकारसँग सहकार्य गरी सङ्ग्रहालय बनाउने बताए।

जनकपुर–जयनगर चलेको पुरानो रेल ब्रिटिस सरकारले चलाएको थियो। उक्त रेलको इतिहास दुई सय वर्ष पुरानो रहेको बताइन्छ। उक्त रेल अन्य कतै नभएकोले सङ्ग्रहालयमा राखेर अवलोकनका लागि राखिने महाप्रबन्धक भट्टराईले जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.