|

बाँके :  कैद भुक्तानका लागि कारागार कार्यालय नेपालगन्जमा रहेका एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ। गुर्भाकोट–४, सुर्खेतका ५८ वर्षीय कैदीको भेरी अस्पताल नेपालगन्जमा सोमवार विहान ६ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड–१० संकट व्यवस्थापन समितिका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। 

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। तीमध्ये ८ जना नेपालगन्ज उपमहानगरपालिकाका छन्। सोमवार बिहान मृत्यु भएका कैदी दमका बिरामी रहेका श्रेष्ठले बताए। 

स्वासप्रस्वासमा जटिल समस्या देखिएपछि उनलाई सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो। कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उनको २१ भदौमा स्वाब लिइएको थियो। त्यही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले बताए। 

२२ गते भर्ना भएका ती कैदीलाई बचाउन हाइड्रो अक्सिजन सिपिएपीसहित उपचार गरिएको भेरी अस्पतालले जनाएको छ। रोगको प्रकृतिअनुसार गर्नुपर्ने सम्पूर्ण उपचार गरिए पनि उनलाई बचाउन नसकिएको भेरी अस्पतालका कोरोना अस्पताल व्यवस्थापक डा. श्यामसुन्दर यादवले जानकारी दिए। 

पुरानो दमका रोगी समेत भएका कारण कोभिड–१९ ले बढि असर गर्दा उनको स्वास्थ्य सुधार हुन नसकेका डा. यादवको भनाइ छ। बाँकेमा मृत्यु भएकाहरुको दुवै फोक्सोको निमोनिया भएको फेला परेको छ। नरैनापुर गाउँपालिकाका युवक बाहेक मृत्यु भएका अन्यको दुवै फोक्सोमा निमोनिया भएको कोरोना फोकल पर्सन श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख हुने गरेको छ। 

यसअघि उपचारका लागि बाँकेको विभिन्न अस्पतालमा आएका पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बर्दिया, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एक–एक जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.