|

हेटौंडा : हेटौंडामा झ्याप्प झ्याप्प बत्ती जाने समस्याले उपभोक्ता हैरान छन्। पछिल्लो एक हप्तादेखि विद्युत् लगातार बिनातालिका जाँदा हेटौंडाका कार्यालयदेखि व्यवसायसम्ममा असर परिरहेको छ।

लाइन बिनातालिका जानुमा अहिले अन्य कारण नभई नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले जडान गरिरहेको स्मार्ट मिटर बक्स हो। वितरण केन्द्रले हेरिरहेको मकवानपुरको ८ वटा स्थानीय तहमा थ्री फेज उपभोक्ताको लागि स्मार्ट मिटर जोड्ने समयमा लाइन काट्ने गरेको छ।

थाहा नगरपालिका र इन्द्रसरोवरबाहेक अन्य स्थानीय तहमा अहिले हेटौंडा वितरण केन्द्रले स्मार्ट मिटर बक्स जडान गरिरहेको केन्द्र प्रमुख योगेन्द्र ठाकुरले बताए। ८ वटा स्थानीय तहमा १ हजार २ सय ७३ स्मार्ट मिटर बक्स जोडिँदै छ।

साउन २३ गतेदेखि जोड्न सुरु भएको स्मार्ट मिटर बक्स जडान कार्य अहिले हेटौंडा उपमहानगरपालिकाको हटिया, हर्नामाडी, पदमपोखरी, मनहरी गाउँपालिका लगायतका क्षेत्रहरुमा भइसकेको छ।

सोमबारसम्म २ सय ६० वटा स्मार्ट मिटर बक्स जडान भइसकेका केन्द्र प्रमुख ठाकुरले बताए। 'दैनिक ४० वटासम्म स्मार्ट बक्स जडान भइरहेको छ। यही हिसाबले अझै ४५ दिन सम्म समस्या आउन सक्नेछ,' उनले भने। 

५ देखि ४५ किलोवाट सम्मको त्रिफेज लाइन प्रयोग गर्ने उपभोक्तालाई स्मार्ट मिटर बक्सको सेवा विद्युत् प्राधिकरणले दिएको हो। यो जडान गर्ने उपभोक्तालाई मोबाइलाई मेसेजमार्फत बिल आउनेछ।

यस्तै उपभोक्ताको मिटर रिडिङ पनि वितरण केन्द्रको कम्प्युटरबाट नै हुनेछ।  स्मार्ट मिटर बक्सका लागि प्राधिकरणले नेपाल टेलिकमसँग समन्वय गरेर घरमुलीको नम्बरमा बिजुलीको बिल पठाउनेछ।

ठूला व्यवसाय गर्ने, धेरै विद्युत् खपत हुने उपभोक्ताले प्रयोग गने थ्री फेजको लाइन सबै उपभोक्ताका लागि वितरण केन्द्रले यो मिटर बक्स जोड्न लागेको हो। टिओडी तथा थ्री फेज मिटरमा स्मार्ट प्रविधि जडान भएपछि वितरण प्रणाली पारदर्शी हुने प्राधिकरणको दाबी छ।

अनियमित भइरहेको विद्युत् चुहावट पनि नियन्त्रण हुनेछ। स्मार्ट प्रविधि जडान हुँदा ग्राहकको मिटर जाँच गर्ने मिटर रिडर राख्नु नपर्दा प्राधिकरणको आम्दानी बढ्ने प्राधिकरणको दाबी छ।  

खपत हुने विद्युतको वास्तविक परिमाण प्राधिकरणले प्राप्त गर्नेछ र ग्राहकले सोहीअनुसार महसुल तिर्नुपर्नेछ। केन्द्रीय कार्यालयबाटै देशभरका ग्राहकको विद्युत् खपतको अवस्था हेर्न मिल्ने हुँदा मिटर रिडरबाट हुने अनियमितता पनि रोकिने प्राधिकरणको भनाइ छ।

प्राधिकरणको हेटौंडा वितरण केन्द्रअन्तर्गत करिब ६४ हजार सामान्य बिजुली उपभोग गर्ने मिटर बक्स जडान गर्ने उपभोक्ता रहेका छन् भने १ हजार २ सय ७६ थ्री फेज बिजुली जडान गर्ने उपभोक्ता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.