कांग्रेसले जति आरक्षण अरु पार्टीले नदिएको जिकिर

|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबका निर्वाचनमा महिला मतदाताहरूको संख्या बढाउन कांग्रेसका महिला नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

मंगलादेवी स्मृति प्रतिष्ठानले लौह पुरुष गणेशमान सिंहको २३ औँ स्मृति दिवसमा सोमबार आयोजना गरेको ‘नेपालमा महिला समानताको हक संवैधानिक तथा कानूनी व्यवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक भर्चुअल कार्यक्रममा यस्तो आग्रह गरेका हुन्।  

‘महिलाहरुलाई मेरो अनुरोध छ भोट महिला ल्याउनु पर्याे। महिला संघले मतदाता बढाउनु पर्यो,’ देउवाले भने, ‘गाउँका सबै महिला मतदाता हुनुपर्यो। ३३ प्रतिशत महिला मतदाता त कांग्रेसमा ल्याउनु पर्याे।’ 

उनले महिला मतदाताको संख्या बढाउन सके भोलिको दिनमा महिला नै प्रधानमन्त्री हुने दिन आउने पनि बताए। ‘भोलि महिला नै प्राइमिनिस्टर बन्‍न सक्नुहुन्छ,’ उनले भने, 'महिलाहरुले महिला मतदाता ल्याऊँ, दलितले दलित ल्याऊँ, थारूले थारु, मुस्लिमले मुस्लिम मतदाता बढाउनुहोला। भोट ल्याउने काम गर्नुभयो भने पार्टीले चुनाव जित्छ। नत्र पार्टी हारिहाल्छ नि। भोट जित्यो भने भोलि राष्ट्रपति, प्रधानमन्त्री, पार्टीकै सभापति महिला बन्‍नुहुन्छ।’ 

देउवाले आफू महिला वादी भएकोले महिला आयोग बनाएको दाबी पनि गरे। दलित आयोग र जनजाति आयोग पनि आफैँले बनाएको देउवाको दाबी छ।  ।

‘हाम्रो पार्टीले सबैलाई आरक्षण दिएको छ। जनसंख्याको आधारमा आरक्षण दिएको छ। हाम्रो पार्टीमा जस्तो कुनै पनि पार्टीले आरक्षण दिएको छैन। तर, आरक्षण मात्रै भएर भएन नि, जनताको भोट पनि आउनुपर्यो’ उनले भने।

छलफल कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले कांग्रेसले एक तिहाइ महिलालाई गाउँपालिका र नगरपालिका प्रमुखमा प्रत्यक्ष तर्फ अघि बढाउनुपर्ने बताएकी थिइन् ।

‘समावेश र समानताका कुरा गर्दै गर्दा नेपाली कांग्रेसले अब एकतिहाइ महिलालाई गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयरमा लैजानुपर्ने आवश्यकता छ । त्यो पनि समानुपातिक बाट होइन, प्रत्यक्ष मै लैजानुपर्छ,’ उनले भनिन्।

संविधानले गरेको व्यवस्थाकै कारण संघीय संसदमा ३३ प्रतिशत, प्रदेशसभामा महिलाको प्रतिनिधित्व ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व पुग्नुलाई महिला मूल प्रवाहमा आएका मान्‍ने नसकिने उनले जिकिर गरिन्। 

कोइरालाले कांग्रेसले एक घर दुई क्रियाशील सदस्य बनाउनुपर्नेमा पनि जोड दिइन्। एक घर दुई क्रियाशील सदस्य बनाउँदा एक महिला अनिवार्य हुनुपर्ने उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.