राजदूतहरु भन्छन् : फर्किनेको संख्या बढ्दैछ, चाँडो पहल गरौँ

|

काठमाडौं : विभिन्‍न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्‍न देशमा अलपत्र नेपाली नागरिकको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन्।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपालीहरु फर्किन तयार रहेकाले उडान संख्या बढाउनुपर्ने सुझाव राजदूतहरु दिएका छन्। 

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारहरुको अवस्थाका विषयमा समेत जानकारी गराएका छन्। 

मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजार फर्किने तयारीमा रहेको बताए। 

स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको उनले बताए। दशैं-तिहारको समय नजिकिँदै गर्दा चाप बढ्न सक्ने भएकाले एक हप्तामा १६ नियमित उडान आवश्यक पर्ने उनले बताए।

उनले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको बताए। अव्यवहारिक निर्देशिका अनुसार समस्यामा परेका नागरिकहरु घर फर्किन नपाएको उनले बताए। 

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्किन चाहाने नेपालीहरुको संख्या धेरै नभएपनि समस्यामा परेकाहरुलाई पूर्ण रुपमा पीसीआर परीक्षण गरी पठाउने गरिएको बताइन्। 

करिब १४ सय अहिलेसम्म नेपाल फिर्ता भएको उल्लेख गर्दै उनले सकेसम्म निरोगी व्यक्तिहरुलाई आफ्नो देश फर्काउनुपर्ने नीति अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको बताए। 

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेकोमा कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका बताए। अहिलेसम्म करिब ५४ सय जना नेपाली स्वदेश फर्किएको उनले बताए।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदारहरूले समस्या भोगिरहेको बताए। उनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्‍न हुन सक्ने बताए। 

२० हजार बढीले स्वदेश फर्किन नाम दर्ता गराएको उल्लेख गर्दै उनले अझै प्रतिदिन १ सय ५० ले बढेको उनले बताए। दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाडको समयमा फर्किन चाहनेहरु समेत समस्यामा पर्ने उनले बताए। 

साउदी अरेबियाको लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएको बताए। उडानका लागि नेपालका सम्बन्धित अधिकारीहरुले आवश्यक समन्वय नगर्दा समस्या उत्पन्‍न हुने गरेको बताए। 

स्वदेश फर्किन विमानस्थल पुगेका नागरिकहरुलाई अन्तिम समयमा आएर काठमाडौंबाट उडान स्थगित भएको भन्ने जानकारी आउँदा समस्या हुने गरेको उनले बताए। 

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णयअनुसार चार्टर्ड उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको बताए। अहिलेसम्म ११ सयलाई स्वदेश फर्काइएको उल्लेख गर्दै उनले दशैँको समयमा चाप बढ्न सक्ने बताए। 

राजदूतहरुले अवैधानिक कामदारहरु बढी समस्यामा पर्ने गरेको बताएका छन्। नेपालमा नै सम्बन्धित देशहरुसँगको श्रम सम्झौता अनुसार नेपालमा नै सीप सिकाएर पठाउनुपर्नेमा उनीहरुले जोड दिएका छन्। 

विशेष गरी घरेलु कामदारहरुलाई आफु जाने देशको प्रचलित कानुन र भाषाको ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनीहरुले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.