|

सिंगो विश्व कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनिरहेका बेला चीनमा नौलो प्रकृतिको संक्रमण फैलिएको छ। 

उत्तरपश्चिम चीनको गेन्सु प्रान्तका सयौं मानिस एक नयाँ ब्याक्टेरियाबाट संक्रमित भएका छन्। एजेन्सीहरूका अनुसार लानजोउ सहरमा यसको खास असर देखिएको छ। 

विशेषज्ञहरूले ब्रुसेलोसिस नामक ब्याक्टेरियाबाट संक्रमण फैलिएको बताएका छन्। त्यहाँको सरकारी अखबार ग्लोबल टाइम्सले संक्रमितको संख्या ३ हजार २ सय पैंतालिस पुगेको जनाएको छ। संक्रमितमा ज्वरो‚ अधिक थकान‚ टाउको दुखाई र तौल घट्ने लगायतका समस्या देखिएका छन्। 

गाईभैंसी‚ भेडाबाख्रा‚ सुँगुर तथा कुकुर आदिलाई बढी असर गर्ने ब्रुसोलोसिस ब्याक्टेरियाले जनावरको सम्पर्कमा गएका मानिसलाई पनि बिरामी तुल्याउने गर्दथ्यो। तर‚ व्यापक स्तरमा समुदायमा संक्रमण फैलने गरेको थिएन। मानिसमा समेत संक्रमण फैलँदै गएका कारण प्रशासन र सर्वसाधारण चिन्तित बनेका छन्। स्थानीय सरकारले निस्शुल्क परीक्षणको व्यवस्था मिलाएको अखबारले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार‚ संक्रमित जनावरबाट उत्पादित दूग्धजन्य पदार्थबाट संक्रमण फैलिएको पाइएको छ। यो उपचार नै नहुने समस्या भने होइन। एक–डेढ महिनाको उपचारबाट पूर्ण स्वास्थ्य लाभ हुने चिकित्सकले बताएका छन्। उनीहरूले पाश्चराइज्ड नगरिएको दूध तथा दूग्धजन्य पदार्थ सेवन नगर्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.