|

भद्रपुर (झापा) : विदेशबाट फर्किनेको घरमा बिर्तामोड नगरपालिकाले रातो झण्डा राख्न थालेको छ। विदेशबाट फर्किने व्यक्तिको घर पहिचानका लागि नगरपालिकाले रातो झण्डा राख्ने अभियान थालेको हो।

घरमा रातो झण्डा राखिएपछि छिमेकीहरुले अपहेलना गरेको उनीहरुको गुनासो छ। त्यसैले झण्डाको विकल्प खोज्न सरोकारवालाहरूले नगरपालिकासँग आग्रह गरेको छ। 

वडा नम्बर ८ स्थित गरामनीका नारायण भण्डारीको परिवारका सदस्यले घरमा रातो झण्डा राखेपछि समाजमा अपहेलित हुनुका साथै मानसिक तनावबाट बढेको बताएका छन्। 

घरमा श्रीमती बिरामी भएपछि भण्डारी कतारबाट असोज १ देखि बेलुका अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं हुँदै असोज २ देखि बिहान घर आएका थिए। घर आएको तीन दिनपछि आइतबार नगरपालिकाले घरमा रातो झण्डा राखिदिएको उनले बताए।

विदेशमा बसेको बेला नै कोरोना भाइरसको परीक्षण गराएको र पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि स्वदेश फर्किएको उनले बताए।

‘पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घरमा नै बस्नु भने अनुसार बसिरहेको समयमा किन घर आउनु भयो?, जानकारी किन गराउनु भएन? भन्दै वडा कार्यालयका प्रतिनिधि र स्वास्थ्यकर्मीले तनाव समेत दिन थालेको छ,’ उनले भने, ‘मैले कति नै ठूलो अपराध गरे जस्तो गरी मानसिक तनाव दिइरहेका छन्। घरमा रातो झण्डा लगाएर गएपछि परिवार नै समाजबाटै अपहेलित हुनु परेको छ।’ 

यता कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले नगरपालिकाको निर्णयअनुसार विदेशबाट फर्किनेको घरमा रातो झण्डा लगाएको कोभिड रोकथाम तथा नियन्त्रण समिति बिर्तामोडका संयोजक ओम खड्काले बताए। समितिलाई निगरानी गर्न सहज हुने र अन्यलाई पनि सजग हुन सांकेतिक चिन्ह राखिएको उनको भनाइ छ। घरमा राखिएको झण्डाले समस्या भएमा सरकारले तोकेको मापदण्डअनुसार क्वारेनटाइनमा गएर बस्न उनले आग्रह गरे। 

विदेशबाट आएको व्यक्तिले सामान्य सुरक्षा मापदण्ड नपुर्याएका कारण समाजमा भयावह हुन सक्ने भएकोले सजग रहनका लागि सांकेत चिह्न राखिएको वडा नम्बर ८ की कार्यवाहक वडाध्यक्ष इन्दिरा पाण्डेले बताइन्। परिवारसँग घुलमिल भएका कारण उनीमाथि निगरानी राखिएको उनको भनाइ छ। तीन महिनाअघि नै नगर क्षेत्रका २० घरमा एकै पटक रातो झण्डा राखिएपछि त्यसको विषयमा आलोचनासँगै नगरबासीले विरोध समेत गरेका थिए। 

त्यस बेला नगरपालिकाले झण्डाको विकल्प खोज्ने भन्दै प्रचारप्रसार नै गरे। रातो झण्डाको विषयमा सरोकारवाला र नगरपालिकासँग भिडियो कन्फरेन्समार्फत गरिएको छलफलमा सम्बद्ध पक्ष विकल्प खोज्न सहमत भएका थिए। नगरपालिकाका उपप्रमुख तथा नगर स्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिका संयोजक पवित्रा महतारा प्रसाईँले रातो झण्डाको विरोध भएपछि अब उपयुक्त विकल्पको खोजी गरिने त्यस बेला नै बताइन्। तर, अन्य विकल्प अहिलेसम्म नगरपालिकाले कार्यान्वयन गर्न सकेको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.