चिनियाँ सेना नेपाल आएपछि फर्कियो प्रजिअको टोली

|

काठमाडौं : छिमेकी भारतले वर्षौंदेखि निरन्तर नेपालको दक्षिणी सीमा मिचिरहेको छ। दुई ठूला देश चीन र भारतको बीचमा रहेको नेपालले आफ्नो भूमि बचाउन पटक पटक संघर्ष गर्नुपरिरहेको छ। कालापानी क्षेत्रको ठूलो भूमि फिर्ताका लागि एक वर्षयता नेपालले संघर्ष गरिरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको खबर बाहिर आएको छ। यो खबर सार्वजनिक भइरहँदा नेपालको नापि विभागले भने आफू बेखबर रहेको बताएको छ। 

भारतको हेपाहा प्रवृत्ति विरुद्ध लडिरहेको नेपालका लागि चीनको व्यवहार पनि टाउको दुखाइको विषय बनेको छ। नेपालले भारतले मिचेको लिपुलेक, कालापानी क्षेत्र समेटेर नयाँ नक्सा पनि जारी गरिसकेको छ। नक्सा जारी गरे पनि ती भूमि नेपालको उपभोगमा ल्याउन लामै संघर्ष गर्नुपर्ने अवस्था छ भने सुस्ता महेशपुर लगायत कैयौँ ठाउँमा सिमाना मिचिएको छ।

भारतले लिपुलेक क्षेत्रमा सीमा मिचेर सडक निर्माण गर्दा नेपालसँग सीमा जोडिएको अर्को राष्ट्र चीनले प्रतिक्रिया जनाउदै यो विवाद दुई देशले आफैं मिलाउनुपर्ने बताएको थियो।  तर पछिल्लो समयमा चीनले पनि नेपाली भूमि मिचेर भवनहरु नै बनाएको समाचार सार्वजनिक भएको छ। हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर धमाधम भौतिक संरचना निर्माण गरिरहेको खुलेको छ।

हुम्लाको नाम्खा गाउँपालिका-६ लाप्चास्थित नेपाली भूमिमा छिरेर चीनले नौ वटा ठूला व्यावसायिक भवन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। २ वटा भवन केही वर्षअघि नै चीनले बनाइसकेको थियो। चीनले संरचना बनेकै ठाउँमा नेपाल र चीनको सीमा स्तम्भ (११ नम्बर पिल्लर) रहेको दाबी नेपाली पक्षको छ। 

चीनले अहिले धमाधम भवन बनाइरहेको खबर पाएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा ७ जनाको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको थियो। जिल्लाका सुरक्षा समितिका प्रमुखहरु र नाम्खा गाउँपालिकाका प्रमुख विष्णु बहादुर लामा आइतबार लाप्चा पुगे।

‘सिडियो सा'वहरु जिल्लाबाट शुक्रबार नै आउनुभएको हो,’ गाउँपालिका प्रमुख लामाले थाहाखबरसँग भने, ‘यहाँबाट चाहिँ म पनि सँगै गएँ, आइतबार माथि गएर त्यही दिन नै तल झरेका हौँ।’ 

‘दुई ट्रक सेना आइहाल्यो’ 

गाउँपालिका प्रमुख लामाका अनुसार प्रमुख जिल्ला नेतृत्वको टोली लाम्पा सीमामा रहेका प्रहरीसँग सामान्य कुराकानी गरेर निर्माणाधीन भवनस्थल गए। उनीहरु भवन पुग्दा नपुग्दै चिनियाँ सेनाको टोली आइपुग्यो।

‘हामी भवनमा पुगेका मात्रै थियौँ,’ उनले भने, ‘उताबाट दुई ट्रक सेना आइहाले। यो चिनियाँ भूमि हो, यहाँ तपाईंहरु बस्‍न पाउनुहुन्‍न भन्दै गइहाल्न भने।’

सिडियो सा'व, हामी कसैसँग पनि यो भूमि हाम्रो हो भनेर भन्‍न सक्ने आधार नभएकोले निरीक्षण मात्रै गरेर फर्किएको उनले बताए। त्यहाँ भएको सामान्य छलफलमा चिनियाँ सुरक्षा अधिकारीहरुले नेपाली टोलीसँग उक्त भूमि चीनकै भएको र चीनकै भूमिमा भवन बनाएको दाबी गरेका थिए। 

११ वटा व्यावसायिक भवन 

‘चीनले पहिले बनाएको २ वटा ब्लकको भवन प्रयोग गरेको थिएन। अहिले त नयाँ नौ वटा भवन पनि बनाएछ,’ गाउँपालिका प्रमुख लामा भन्छन्, ‘अहिले प्रयोगमा ल्याउने हिसाबले बनाएको भनेको छ। भवन लगभग बनाइसकेको छ। कम्पाउन्ड गरेको छ। सोलार पनि जोडिसकेछ।’ 

नेपाली टोलीले चिनियाँ सुरक्षा अधिकारीको टोलीलाई भवन किन बनाएको भनेर सोधेको थियो। उनले भने, ‘हामीले यो के प्रयोजनको लागि बनाएको भनेर सोध्दा व्यापारिक प्रयोजनको लागि बनाएको भन्थ्यो आन्तरिक कुरा थाहा हुने कुरा भएन।’ 

नेपाली चिनियाँ अधिकारीहरुसँग छलफलका लागि नभई बोर्डर निरीक्षणका लागि गएको थियो। 'हाम्रो १२ नम्बर पिल्लर र ११ नम्बर पिल्लर लाप्चामै हो,’ लामाले भने, ‘अहिले ११ नम्बर पिल्लरको नाम निसानी छैन। १२ नम्बर चाहिँ यथावत छ। ११ नम्बरको पिल्लर नहुँदा भवन बनाएको क्षेत्र उता पर्छ कि यता पर्छ भनेर दाबीका साथ भन्न सक्ने अवस्था छैन। उनीहरुले त नक्सा देखाउँदै यो भूभाग हाम्रो हो। त्यही भएर भवन बनाएका हौँ भने।’ 

उनले त्यस क्षेत्रमा के कसो भइरहेको छ भनेर नेपाल सरकारको तर्फबाट अहिलेसम्म कुनै खोजी नभएको बताए। ‘यो ठाउँमा छ ११ नम्बरको पिल्लर भनेर नक्सामा मात्रै देखिएको हो’, उनले भने।

केही वर्ष अघिसम्म लाप्चा क्षेत्र दुवै देशले बेवारिस छोडेको ठाउँ रहेको उनी सम्झन्छन्। उनले थपे, ‘अहिले चीनले बोर्डर चेक पोष्ट बनाएको छ। सेना प्रहरी राखेको छ। हाम्रोतिर केही न केही।’ 

नेपालीले त्यहीँबाट सामान ल्याउँथे, मानसरोवर जान्थे

खुला सीमा हुँदासम्म नेपाली त्यहाँबाट नजिक पर्ने चीनको बजार पुगेर सामान खरिद गर्ने गर्थे। लामाले प्रस्ट्याए, 'त्यहीँ बाटो भएर तीर्थयात्री मानसरोवर जान्थे। हिँडेर जाने सबैभन्दा राम्रो रुट यही होला।’ 

२०६६ पछि खनियो सडक

नेपाल-चीन सीमाबाट २०६६ सालमा नेपालले सडक खनेको छ। चीनतर्फबाट डोजर र एक्जाभेटर ल्याएर नेपालतर्फ सडक खनिएको हो। नेपाली टोलीले चीनले अहिले भवन बनाएको क्षेत्रभन्दा उता २.५ किलोमिटर चीन तर्फबाट बाटो खन्‍न सुरु गरेको थियो।

त्यति बेला त्यसलाई नै नेपालको सिमाना भनिएको थियो। ‘अहिले १०५ किलोमिटर खनिसकिएको छ। गाडीहरु गुडिरहेका छन्,’ उनले भने, ‘त्यो बेला बाटो खन्‍ने मेसिन सबै उतै चीनबाट ल्याइएको हो। अहिले चीनले बनाएको भवन भन्दा साढे २ किलोमिटर उतैबाट खनेका हौँ। त्यही ठाउँलाई सिमाना भनिएको थियो।’ 

त्यो बेला सडक खन्ने मेसिन तातोपानी नाका हुँदै ल्याइएको थियो। अहिले उक्त सडक लाप्चाबाट सदरमुकाम सिमकोटमा जोडिएको छ। सडकको दूरी १०५ किलोमिटर रहेको गाउँपालिकाका अध्यक्ष लामा बताउँछन्। त्यहाँबाट फर्केर प्रमुख जिल्ला अधिकारीको टोली अन्यत्र सीमा स्तम्भ भएको क्षेत्रमा गएको छ। 

नापी विभागलाई थाहा छैन 

चीनले भवन बनाएको र सीमा स्तम्भ हराएको विषय नापी विभागलाई कुनै जानकारी नभएको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए। ‘चीनले सीमा मिचेको, सीमा स्तम्भ नभएको विषय थाहा छैन,’ढकालले भने, ‘सीमा हराएको भए चीनले पनि पक्कै हामीसँग समन्वय गर्ने थियो।’ 

परराष्ट्र मन्त्रालयले असारमै भनेको थियो 

परराष्ट्र मन्त्रालयले गत असार ११ गते विज्ञप्ति नै जारी गरेर उत्तरी छिमेकी चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो। चीनसँग देखिएको सीमा विवाद आपसी लेनदेन गरेर सन् १९६१ मा नै मिलाइसकिएको पनि परराष्ट्रले असारमा जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यति बेला चीनले सीमा मिचेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि परराष्ट्र मन्त्रालयले आपत्ति जनाएर विज्ञप्ति जारी गरेको हो।

‘यसरी जथाभावी समाचार र टिप्पणी लेख्दा दुई देशबीचको सम्बन्धलाई प्रभाव पार्न सक्छ। नेपाल र चीनबीच देखिएको सीमा विवाद सन् १९६१ मा अक्टोबरमा रेखांकन गरे मिलाइसकिएको छ’, परराष्ट्रले असारमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीचको सहमति विपरीत कहिले पनि सीमांकन गरिएको छैन। अहिलेलाई चीनसँग कुनै किसिमको सीमा विवाद छैन। केही समस्या भएमा नेपाल सरकार र चीन सरकारका अधिकारी बसेर समस्याको समाधान गरिन्छ।’

गृहमन्त्रालय पनि बेखबर 

चीनले हुम्लामा सीमा मिचेर भवन बनाएको बारे गृहमन्त्रालय पनि बेखबर छ। गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछाने भन्छन्, ‘खै कहिलेको घटना हो केही थाहै छैन। पिल्लर नै नहुने अवस्था आउँदा त हामीलाई थाहा हुनुपर्ने हो।’  

सशस्त्र प्रहरीको टोली पुग्यो

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले भने सीमा मिचेको खबर थाहा पाएपछि चासो चासो देखाएको छ। सशस्त्र प्रहरी हुम्लाका डिएसपी मोहन विष्ट नेतृत्वको टोली अहिले लाप्चामै रहेको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए। 

‘आधिकारिक रुपमा हामीलाई जानकारी आएको भने छैन,’ अर्यालले भने, ‘डिएसपी सापकोटा टोली हिजो (असोज ५ गते) चीनले भवन बनाएको भनिएको ठाउँमा पुगेको छ। त्यसपछि थप जानकारी आएको छैन। त्यहाँ फोन सम्पर्क नहुने भएको अरु जानकारी उहाँहरु फर्केपछि आउँछ। उहाँहरु एक-दुई दिनमा फर्कनुहुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.