'बुढेसकालमा यस्तै हो' नभनौं, उपचार गरौं

|

डा. निदेश सापकोटा 

विश्व अल्जाइमर्स दिवस सेप्टेम्बर २१ मा मनाइन्छ। महिनाभर नै विभिन्न कार्यक्रममार्फत चेतना जगाउने प्रयास भइरहन्छ। 

यसपटक यो दिवस 'अल्जाइमर्सबाट हुने डिमेन्सियाका बारेमा कुरा गरौं’ भन्ने नाराका साथ मनाइँदैछ। सन्‌ १९९४ देखि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर्स दिवस मनाउन थालिएको हो।

'डिमेन्सिया' अर्थात क्रमिक ह्रास हुन गई स्मरण शक्ति नै गुम्ने समस्या कम गर्न चेतना फैलाउने दिवसका रुपमा स्मरण गरिन्छ। डिमेन्सिया र त्यसको वरपर रहेको कलंकलाई चुनौती दिन अन्तर्राष्ट्रिय अभियानको रुपमा सेप्टेम्बर २१ को दिन परिचित छ। 

एक अध्ययनअनुसार प्रत्येक तीन जनामध्ये दुई जनाले यो विश्वास गर्दछन् कि उनीहरूको देशमा डिमेन्सियाबारे थोरै व्यक्ति या केहीले मात्र बुझ्न सकेका छन्‌। मस्तिष्कमा भएका कोषिकाहरूमा एक प्रकारको खराब प्रोटिन जम्मा हुने, त्यसले हाम्रो स्मरण शक्तिमा क्रमिक ह्रास गर्ने र अन्त्यमा स्नायु प्रणालीले पूरै काम गर्न छाड्छ। यसो हुनु नै डिमेन्सिया हो।

यो रोगले स्मरण शक्तिका साथै व्यक्तिको सोच, व्यवहार र भावनालाई समेत असर गर्दछ। यो गहन समस्या हो। प्रत्येक व्यक्तिले डिमेन्सियाको अनुभव आफ्नै तरिकाले गर्दछन्। अन्तत: यसबाट प्रभावित व्यक्तिहरू आफ्नै हेरचाह गर्न असमर्थ हुन्छन्। दैनिक जीवनमा जीविकोपार्जन गर्न परिवार वा अरू कसैको सहयोग आवश्यकता पर्दछ।

सही शब्दहरू फेला पार्न वा अरु व्यक्तिले के भनिरहेका छन् बुझ्न कठिनाई हुनु, आफूले गर्दै आएका नियमित काम गर्न समस्या पर्नु, कारणबिनै व्यक्तित्व र मुड परिवर्तन हुनु यसका लक्षणहरू हुन्।

अल्जाइमर्स उमेर बढ्दै जाँदा आउने एक किसिमको बिर्सने रोग हो। स्मरण शक्ति पूर्णरुपमा ह्रास हुने समस्यालाई डिमेन्सिया भनिन्छ। डिमेन्सिया हुने ७० प्रतिशत कारणका रुपमा अल्जाइमर्सलाई मानिन्छ। यसको मतलब एक सय जना डिमेन्सियाका बिरामी आउँदा ७० जनालाई डिमेन्सिया हुने कारक अल्जाइमर्स रहेको पाइएको छ।

यो रोग जेष्ठ नागरिकहरूमा देखिन्छ र बिस्तारै मानिसले आफूले भर्खरै गरेका गतिविधि पनि बिर्सन थाल्छ। समयमै उपचार गरिएन भने रोग बढ्दै हुँदै गएर आफू र आफ्नो परिवार/समाज सबै बिर्ने र बिरामीले आफैँलाई हानीसमेत गर्ने खालको स्थिति आइपर्छ।

नेपालमा अल्जाइमर्सबारे अझै पनि धेरै जनालाई थाहा छैन। यसबारे थाहा पाउन आवश्यक छ। चेतना बढ्दै गएपछि मात्र यी रोगका बिरामी समयमै उपचारमा आउँछन् र समस्या कम गर्न सजिलो हुन्छ। अल्जाइमर्स शुरू भएको ५ देखि ८ वर्षमा यो रोग निकै कडा लक्षणका साथ देखापर्न थाल्छ। त्यसैले सकेसम्म छिटो निदान गरेर बिरामीलाई सहज अवस्थामा ल्याउनुपर्छ। शुरूमै उपचार पनि सहजै हुन्छ।

जेष्ठ नागरिकमा मात्र देखिने यो समस्यामा परिवारले खासै वास्ता गर्दैनन्। शुरू शुरूमा केही कुरा बिर्सँदा 'बुढेसकाल लाग्यो,यस्तै त हो नि!' भनेर वास्ता नगर्ने चलन धेरै परिवारमा छ। त्यसो त बुढेसकाल लाग्दै गर्दा अनेक स्वास्थ्य समस्या देखिने गर्छन्। जुन समस्यालाई परिवारले नियमित र 'सबै जेष्ठ नागरिकलाई यस्तै हुन्छ' भनेर सामान्य रुपमा लिने गर्छन्। तर, यो स्वास्थ्य समस्याले असामान्य रुप लिन सक्छ भन्ने बुझ्नु जरुरी छ।

हामी धेरैले साना-साना नानी घरमा सामान्य बिरामी पर्दा समेत दौडेर अस्पताल लैजान्छौं। तर वृद्धवृद्धालाई समस्या देखिँदा भने 'उमेरका कारण आएको हो, केही हुँदैन' भनेर सामान्य रूपमा लिइदिन्छौं। जसका कारण वृद्धवृद्धाको समस्या थप गम्भीर हुँदै जान्छ।

सामान्यतया: ६५ वर्षको उमेरपछि यो रोग लाग्नसक्ने जोखिम बढी हुन्छ। हरेक पाँच वर्षको अन्तरालमा दुई गुणाले समस्या बढ्दै जान्छ। यो रोग के कारणले हुन्छ भन्ने कारण पत्ता नलागेपनि शुरूदेखि नै क्यान्सर, मुटुरोग, मधुमेह ,उच्च रक्तचाप र धुम्रपान/मद्यपान गर्नेलाई अल्जाइमर्स हुने जोखिम बढी रहेको पाइएको छ।

अल्जाइमर्स हुँदा बिरामीले शुरूमा आफूले भर्खर मात्र गरेको काम बिर्सन्छ। जस्तो कि, एक छिनअघि खाना खाएको भए पनि खाएको छैन् भन्ने ठानेर फेरि खान बस्नु। एउटै काम दोहोर्‍याएर गर्नु। पछि यही समस्यालाई बेवास्ता गर्दा आफ्नो परिवारका सदस्यलाई नै बिर्सने समेत हुन्छ।

रोग कडा हुँदा यतिसम्म हुन्छ कि श्रीमान श्रीमती छोराछोरी पनि चिन्न सक्दैनन्। उनीहरू सम्पूर्ण रुपमा अरुमा भर पर्न बाध्य हुन्छन्। परिवारको एक जनाले छोड्नै नमिल्ने हुन जान्छ।

विश्वमा अहिले दीर्घ स्याहार केन्द्रमा सबैभन्दा बढी अल्जाइमर्सका बिरामी रहेका छन्। नेपालमा यकिन तथ्याङ्क छैन। पाँच वर्ष अगाडि सन्‌ २०१५ मा गरिएको एक अध्ययनअनुसार करिब ८० हजारको हाराहारीमा अल्जाइमर्सका बिरामी रहेको पाइएको थियो। अमेरिकामा यतिखेर करिब २ लाख हाराहारीमा अल्जाइमर्सका बिरामी छन्‌।

अल्जाइमर्स जेष्ठ नागरिकमा देखिने दीर्घरोग हो। यसलाई सम्पूर्ण रूपमा निको पार्न नसकिएपनि नियन्त्रण गरेर बिरामीको जीवनयापन सजिलो बनाउन भने सकिन्छ। त्यसैले घरमा जेष्ठ नागरिक भएका हरेकले अल्जाइमर्स बिर्सने रोग हो, यसलाई उपचार गरे नियन्त्रण गर्न सकिन्छ भन्ने बुझ्न जरुरी छ।

(डिमेन्सिया विज्ञ डा. सापकोटा वी.पी .कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता हुन्।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.