नेपालगञ्जबाट जहाजमा काठमाडौं लगियो

|

बाँके  : आफूमाथि हिंसा र आक्रमण हुने आशंकामा अनसनकै क्रममा जुम्लाबाट नेपालगन्ज आएका डा. गोविन्द केसी मंगलवार दिउँसो १२ बजे काठमाडौँ फर्किएका छन् । 

आठ दिन जुम्लामा अनसन बसेका डा. गोविन्द केसी नेपालगञ्जस्थित भेरी अस्पतालको क्याबिन नम्बर ४ मा एक रात बसेर काठमाडौँ फर्किएका हुन्। 

अनसनका क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अनसनस्थलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएका उनले एकाएक काठमाडौँ फर्किने योजना बनाएका थिए । 
गत वर्ष जस्तै यसपाली पनि सरकारी पक्षबाट हिंसा र आक्रमण हुने सम्भावना देखेपछि जुम्लाबाट सुरु भएको अनसन जारी राखेर काठमाडौँ जान लागेको उनले बताए । 

डा. केसीले केपी शर्मा ओली सरकार गुण्डा, भ्रष्टाचारी, दलाल, नोकरशाहको संरक्षणमा लागेको बताए । ‘गत बर्ष पनि सरकारी पक्षबाट आक्रमण भएको थियो। यसपाली पनि आक्रमण नहोला भन्न सकिने अवस्था रहेन,’ उनले भने । 

साढे तीन करोड नेपाली जनताका लागि आफूले फेरि अनसन बसेको उनले दावी गरे । डा. केसीले २९ भदौबाट जुम्लामा अनशन सुरु गरेका हुन् । 

स्वास्थ्यमा समस्या देखिएकोले चिकित्सकको निगरानीमा रहेका डा. केसीको अवस्था नाजुक बन्दै गएको छ । उनी लामो समयसम्म बोल्न सक्दैनन् । 

उनी बुद्ध एयरको दिउँसो १२ बजेको उडानमा नेपालगन्जबाट काठमाडौँ गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 

डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भएको छ । उनको रक्त चाप छिनछिनमा घट्ने र बढ्ने भएकोले बोल्न नसक्ने हुनु भएको छ । ‘लामो समयदेखि केही नखाएकाले शरीरमा स्फूर्ति घट्नुका साथै शारीरिक अवस्था कमजोर भएको छ,’ भेरी अस्पतालका फिजिसियन डा. संकेत रिसालले भने । 

अनशन बसेको साता बित्दा पनि सरकारले माग पूरा गर्न कुनै पहल नगरेको उनको गुनासो छ । माग पूरा गर्नुको साटो बल प्रयोग गरेर जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको भन्दै उनले आक्रोश पोखे । 

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजमा पूर्वाधार र जनशक्ति राखेर पठनपाठनको ब्यवस्था गर्न माग गरेका छन् । 

यसैगरी प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडी बढाउन माग गरि अनसन सुरु गरेको बताए।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.