प्रविधिको विकास भए पनि गलत अभ्यासले चुनौती बढेको भनाइ

|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा सञ्चारमाध्यममा तथ्यहीन र झूटा समाचार आइरहेको भन्दै चासो व्यक्त गरेकी छन्। 

प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भ्रामक विचारहरु पनि सञ्चारमाध्यममा आइरहेकोप्रति चासो राखेकी हुन्। 

भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पुर्याउनुपर्ने समेत बताइन्। 

‘आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुनुपर्दछ’, शीतल निवासमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु ।’

राष्ट्रपतिले सञ्चारमाध्यममा नयाँ प्रविधि आए पनि भ्रामक समाचारले समस्या बनाएको बताइन्। ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको छ’, उनले भनिन्, ‘सञ्चारक्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ।’ 

उनले कोरोना महामारीका कारण सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा पनि पेशाप्रतिको दायित्व बहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताइन्। 

उनले आमसञ्चारको क्षेत्रमा देखिएका कमी कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गरेकी छन्। भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएकी छन्। 

‘स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनु हुँदैन’, उनले भनिन्, ‘पत्रकारितालाई जिम्मेवार बनाउँदै जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिल नेपालले सञ्चार क्षेत्रको अनुगमन र अनुसन्धान गर्नुपर्छ।’

उनले यसका साथै आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी कारवाहीका लागि गरेको प्रयास सराहनीय रहेको बताइन्। 

भण्डारीले यस वर्ष पाल्पाको तानसेन नगरपालिकाले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कारका निम्ति धन्यवाद दिइन्। पुरस्कृत हुने पूर्व राजदूत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई उनले बधाई दिएकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.