|

काठमाडाैं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो। संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन्। कति संख्यामा खरिद गर्ने भन्ने एकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन्। 

संस्थानले विगत वर्षहरू जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ। यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले जानकारी दिइन्। 

एकीकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढीभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने उनकाे भनाइ छ। संस्थानले हरेक वर्ष दसैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ।

यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ। गत वर्ष सोही परिमाणको खसीबोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो। जसमा कम्पनीले १४ सय वटा खसीबोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको थियो।

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.