कोरोनालाई सामान्य ठान्‍नु लापरवाही गम्भीर भूल

|

काठमाडौं : त्रिभुवन विश्‍वविद्यालय भूगर्भ शास्त्रका सह-प्राध्यापक डा. रञ्जनकुमार दाहालले कोरोनालाई कुनै पनि हालतमा कमजोर नआँक्न अपिल गरेका छन्। साउन १३ गते कोरोना संक्रमण पुष्टि भएपछि आफू मृत्युको मुखमा पुगेर फर्किएको बताउँदै उनले यसलाई कसैले पनि सामान्य रुघाखोकी ठानेर गल्ती नगर्न अपिल गरेका हुन्। 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङका क्रममा उपस्थित भएका उनले आफू मृत्युको नजिक पुगेर फर्किन सफल भएको बताएका हुन्। सानो सानो लापरवाहीले पनि कोरोना हुन सक्ने भन्दै दाहालले कुनै पनि हालतमा त्यस्ता गल्ती नगर्न आग्रह गरेका छन्। 

देशमा लकडाउन जारी रहेकै बेलामा उनी पूर्वी नेपालको भौगर्भिक अध्ययनका लागि पुगेका थिए। इलाममा रहँदा उनले स्थानीय गाडी प्रयोग गरी यात्रा गरेका थिए। कार्यालयको गाडी छाडेर स्थानीय गाडीमा न्यूनतम् स्वास्थ्य मापदण्ड नअपनाइ यात्रा गर्दा उनलाई कोरोना भएको थियो। 

इलामबाट फर्किएपछि उनलाई सुखा खोकी लाग्‍न थालेको थियो। खोकीसँगै उनलाई ज्वरो पनि आयो। त्यसपछि उनले धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ पुष्टि भयो।

रिपोर्ट नआउँदै उनले आफूलाई संक्रमण भएको अनुमान गरिसकेका थिए। किन भने ज्वरोसँगै उनीबाट खानाको स्वाद हराउन थालेको थियो भने श्‍वासप्रश्‍वासमा पनि जटिलता देखिएको थियो। 

'भौगर्भिक अध्ययन सकेर इलामबाट फर्किएपछि मलाई साउन १३ गते कोरोना संक्रमित पुष्टि भएको थियो। गाउँमा जान स्थानीय गाडी प्रयोग गर्दा संक्रमण भएको थियो', उनले भने, 'कोभिड संक्रमित हिँडेको थाहा नपाउँदा हामी संक्रमित भएको ठानेका छौं। मलाई सुरुमा श्‍वास फेरिरहन गाह्रो भयो। श्‍वास फेर्दा फेर्दै पनि शरीरले मान्‍न छाड्यो। सधैँ घोप्टो परेर बसिरहने अवस्था आयो। त्यसपछि घरमा अस्पताल चाँडो पुर्‍याइदिनु, म बाँच्दिनँ भनेँ। त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएँ। संक्रमणको सात दिनपछि अस्पताल पुगेको थिएँ।'

दाहालले १८ दिनको अस्पताल बसाइमा १३ दिन त आइसियुमै बिताए। '१८ दिनमध्ये १३ दिन आइसियुमा बसेँ। मलाई तीन चार दिन त बाँच्छु भन्‍ने आश नै थिएन। डाक्टरले औषधि के दिन्छन् भन्‍ने लाग्‍ने रहेछ। कोरोनाको औषधि नबनेको अवस्थामा अरु औषधि खाँदा पनि डर भएको भयै हुने रहेछ', उनले भने, 'तर डाक्टरहरुले दिने हौसलाको म यहाँ बयान गर्न सकिँदैन।'

मृत्युको मुखमा पुगेर पनि आफू डाक्टरकै हौसलाले बाँच्‍न सफल भएको उनले बताए। 'डाक्टरहरुले तपाईंलाई केही हुँदैन सुधार हुँदैछ भनिरहनु भयो। डाक्टरको मिहिनेतले बाँच्छु कि भन्‍ने भयो', उनले भने, 'कोरोनाको कडा संक्रमण कम भएपछि मलाई भोक लाग्‍न थाल्यो। भोक सहन नसकेर आँखाबाट आँसु झर्थ्यो। मैले धेरै नै भोक सहेको छु।'

दाहालले कोरोनाका कारण शरीरका भित्री अंगमा समेत असर पार्ने भएकाले सहनै नसक्ने भएको लाग्‍ने गरेको सुनाए। 'मलाई खाने कुरा कुर्न नसकिने गरी भोक लाग्थ्यो। कोरोना संक्रमित त्यस्तो अवस्थामा पुग्दा रहेछौँ', उनले भने, '१८ दिनको अस्पताल बसाइपछि घर फर्किएँ। १५ दिन त घरको आइसोलेसनमै बिताएँ। खानेकुरा यति धेरै खाएछु, त्यसको असर नै देखियो।'

धेरै किसिमका खानेकुरा खाँदा शरीरलाई असजिलो भएको उनले सुनाए। 'घर आएपछि मैले मासु धेरै खाएँ, त्यसले शरीरलाई एकदमै समस्या भयो', उनले, 'भोक धेरै लाग्‍ने भएकाले खानेकुरा पनि धेरै खाँदा मेरा शरीरका सबै सूचकहरु बढ्न पुगेका छन्। कोरोनालाई केही होइन भनेर जुन तरिकाले लिएका छौं यो एकदमै गम्भीर भूल हुनेछ।'

आफूलाई सुगर, प्रेसर केही नहुँदा पनि संक्रमणले झण्डै ज्यान लिएको उनले बताए। 'मलाई सुगर-प्रेसर केही पनि छैन। म आफैंलाई बलियो ठान्थेँ तर मलाई कोरोनाले नराम्ररी धरासायी बनाइदियो', उनले भने, 'कोरोना भनेको केही पनि होइन भनेर लापरवाही नगरौं। नेपाल सरकारले तर्साइरहेको भनिएको छ, यसलाई त्यसरी नलिनू।'

कोरोना लागिसकेपछि घर परिवारलाई हुने मानसिक यातनाको हिसाब नै नहुने उनले बताए। 'कोरोना लागिसकेपछि घर परिवारलाई हुने मानसिक यातनाको वर्णन गरेर साध्य छैन। मेरो घर रहेको टोलमा बस्‍ने नर्सले समेत त्यो कोरोना संक्रमितको घर हो परै बस्‍नु भनिन्', उनले थपे, 'मैले अस्पतालमा पुग्दा प्लास्टिकको थैलीमा पोको पारेर फर्किने हो भनेर ठानेको थिएँ। तर जीवितै फर्किएको छु। कोरोनालाई नहेपौँ हामीलाई यसले लडाउँछ।'

उनले मास्क लगाउने, स्यानिटाइज गर्ने जस्ता कुरालाई मूल मन्त्र नै बनाउन आग्रह गरे। 'मैले गाडीमा बस्दा मास्क लगाएको भए हातमा स्यानिटाइजर लगाएको भए मलाई कोरोना सर्दैन थियो', उनले भने, 'कोरोनाको अझै भयावह अवस्था आउन नदिन तपाईं हाम्रै हातमा छ। हामी सबैले नेपाल सरकारले सिकाएको सजिलो उपाय फलो गरौँ', उनले भने, 'मैले अझै पनि गल्ती गरिरहेको छु, आनीबानी सुधार्न साँच्चिकै समय लाग्छ। अब हामी आफैंले नियम पालना गर्नुपर्छ। यो समस्या कहिलेसम्म रहन्छ टुंगो भएको छैन।'

उनले आफूसहित कयौं संक्रमितको ज्यान एक रुपैयाँ पनि नलिएर नेपाल सरकारले बचाइरहेको बताए। 'मलाई नेपाल सरकारले बचायो, एक रुपैयाँ पनि पैसा तिरेको छैन', उनले भने, 'आइसियु बेडहरु बढाउन सकेमा राम्रो हुन्छ। भोकले म रोएको छु, खानाको कुरामा अलिकति व्यवस्थापन गरेको छु।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.