|

काठमाडौं : सत्तारुढ नेकपा नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई श्रीमान् दाबी गरिरहेकी तत्कालीन युवा संघकी कार्यकर्ता बालिका खड्काले नेकपाका केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दिएर माफी मागेकी छन्। 

यसअघि उनले पटकपटक शेरधनले अनेक हर्कत गरेको दावी गर्दै आएकी थिइन भने शेरधनले सो पूर्णत झुटो भन्दै पछिल्ला दिनमा प्रतिवाद समेत गर्न छोडेका थिए। यसैबीच नेकपाका अध्यक्षद्वयका नाममा सोमबार एक निवेदन पठाएर आफूले लगाएका आरोपमा कुनै सत्यता नरहेको भन्दै बालिकाले पनि माफी मागेकी हुन्। 

पार्टी कार्यालय धुम्बाराही पुगेकी उनले केन्द्रीय कार्यालयका सचिवहरु मार्फत अध्यक्षद्वयलाई निवेदन दिएर अरु कसैको उक्साहटमा शेरधन माथि आफूले गलत आरोप लगाउन पुगेको भन्दै माफी मागेकी हुन्।

उनले दिएको निवेदनमा आफूले आरोप लगाएजस्तो शेरधनसँग कुनै सम्बन्ध नरहेको पनि जिकिर गरेकी छन्। उनैले नाता प्रमाणित गरी पाऊँ भनी जिल्ला अदालतमा दर्ता गराएको मुद्दा पनि आफ्ना आरोप पुष्टि नहुने भन्दै फिर्ता लिएकी थिइन्। 

बालिकाको निवेदन 

नेपाल कम्युनिस्ट पार्टी, अध्यक्षद्वय कमरेड, महासचिव कमरेड लगायत आदरणीय आम जनसमुदायमा म बालिका खड्काको तर्फबाट हार्दिक अभिवादन।

म नेपाल कम्युनिस्ट पार्टीमा २०६५ सालदेखि संगठित सदस्य भई इमान्दारीपूर्वक पार्टीले लाए अह्राएको काम गर्दै आएकी योद्धा हुँ।

पछिल्लो समयमा मैले अरूका दुरुत्साहनमा परी तत्कालीन सञ्चारमन्त्री तथा हाल प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई मैले गलत आरोप र लान्छना लगाउन पुगेँ। मैले केही सार्वजानिक संचार माध्यमहरुमा लगातार दावी गरे जस्ता वहाँसँग कुनै पनि सम्बन्ध र सम्पर्क नरहेका कुरा स्पष्ट पार्न चाहन्छु।

लगातार पछिल्ला समयसम्म अरुकै दुरुत्साहनमा परी मैले अदालतमा मुद्दा दायर गर्न पुगेँ, तर मैले दायर गरेका व्यहोरा र त्यहाँ मैले दाबी गरेका अंश मुद्धा प्रमाणित गर्ने आधार मसँग केही नभएकाले मैले ठूला भुल र गल्ती गरेको महसुस गरी आफ्ना सबै कमीकमजोरी स्वीकार गरी मुद्दा समेत फिर्ता गरिसकेका कुरा अवगत गराउँदछू।

यसरी पूर्व सञ्चारमन्त्री तथा मुख्यमन्त्री शेरधन राई विरुद्ध लाग्न मलाई दुरुत्साहन गर्नेहरुले आफ्ना राजनीतिक अभिष्ट पूरा गर्नेगरी मेरा भविष्यमाथि समेत खेलबाड गर्ने काम गरेका ठहर सहित म यसप्रकारका गलत प्रयाग र दुरुत्साहनबाट पछाडि हटेकी हुँ। सम्मानित काठमाडौँ जिल्ला अदालतमा मैले दायर गरेका मुद्दा र मैले त्यस मुद्दामा दाबी गरेका कुरा पुष्टि हुने कुनै आधार र प्रमाण आफूसँग नरहेका हुँदा सोही व्यहोरा उल्लेख गरी यी सबै मेरा व्यवहार प्रति आत्मआलोचित हुँदै मुद्दा फिर्ता गर्न दिएको निवेदन उपर सम्मानित अदालतबाट सुनुवाइ भई सम्मानित अदालतले दिएका आदेश यसै साथ संलग्न गरी मबाट हुन गएका गल्तीलाई हाम्रो गौरवशाली पार्टी नेकपाको नेतृत्व तहबाट क्षमा गरी पूर्ववत् जिम्मेवारीमा पुनःस्थापित हुन पाउँ भनी निवेदन गरेकी छु।

अन्तमा अरूका दुरत्साहनमा पर्नाले मबाट कमरेड शेरधन राईप्रति भएका अन्याय र पीडा प्रति पुनः क्षमायाचना गर्दै नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट मलाई दिइराखेको पूर्ववत जिम्मेवारी पुनः प्राप्त हुने कुरामा म विश्वस्त छु। यसबीचमा मेरो कारणले फेरि पनि कमरेड शेरधन राई लगायत अन्य व्यक्ति, समूह, पार्टी वा अन्य निकायमा परेको भ्रम तथा नकारात्मक प्रभाव र असरप्रति सार्वजनिक रुपमै माफी माग्दै बिदा हुन चाहान्छु।

सधन्यवाद।
बोधार्थ
१. अध्यक्ष कमरेड, बागमती प्रदेश कमिटी।
२. अध्यक्ष कमरेड, दोलखा जिल्ला कमिटी।
३. संयोजक कमरेड, राष्ट्रिय युवा संघ, नेपाल।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.