|

काठमाडौं : भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भुकम्पपछिका पुनर्निर्माण प्रयासबारे तयार पारिएको एउटा डेडिकेटेड वेबसाइट सुरु भएको छ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट वेबसाइटको शुभारम्भ गरेका हुन्।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरूसँग सम्बन्धित सबै जानकारीहरूका लागि वेबसाइट www.goicbrinepal.com अंग्रेजी र नेपाली दुवै सँस्करणमा हेर्न मिल्छ।

यो वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो। यो परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो।

आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्युनिकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो। 

शिक्षा क्षेत्रका परियोजनाहरूमा यी संस्थानहरूको भूमिकापछि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीलाई भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयास अन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा पनि नियुक्त गरिएको छ।

स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीबीच हालै एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजना अघि बढिरहेका छन्। विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरमध्ये ४६ हजार घर पुन:निर्माण भइसकेका छन्। 

७० वटा विद्यालय, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरु र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनासहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरु पुनर्निर्माण-रेट्रोफिटिङ्गका लागि कार्यान्वयनमा रहेका भारतीय दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.