नयाँ प्रशिक्षकको टुंगो केही दिनमै

|

बैतडी : नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बैठक चितवनमा सम्पन्न भएको छ। बैठकले विभिन्न निर्णय गरेको छ। क्यानको केन्द्रीय कार्यसमितिको चितवनमा बसेको बैठकले विभिन्न निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले बताए। 

यो पटकको बैठक धेरैभन्दा धेरै पदाधिकारीलाई सहज रुपमा सहभागी गराउन चितवनमा गरिएको हो। कोरोना महामारीबीच क्रिकेट गतिविधि सञ्चालन रणनीति यो बैठकले बनाएको छ।

कार्यसमिति बैठकमा क्यानको साधारणसभा, सन् २०२० का लागि खेलाडीसँगको सम्झौता, आर्थिक गतिविधि अनुमोदन तथा आगामी रणनीति लगायतका बिषयमा छलफल भएको छ।

क्यानको नयाँ कार्यसमिति आएपछि साधारणसभा समेत हुन सकेको छैन। यद्यपि यही असोज २८ गते वार्षिक साधारणसभा गर्ने निर्णय बैठकले गरेको छ। 

साधारण सभा असोज २८ मा

क्यानले असोज २८ गते साधारण सभा गर्ने निर्णय गरेको छ। चितवनमा आज बसेको कार्यसमितिको बैठकले २१ दिने सूचना निकालेर असोज २८ र २९ गतेका लागि साधारण सभा गर्ने निर्णय गरेको हो। 

अहिलेका लागि क्यानले भर्चुअल साधारणसभा गर्ने बताएको छ। त्यो बेला परिषद्ले स्वीकृति दिएमा एकजुट भएर साधारण सभा गर्ने योजना छ। 

जीवन बीमा

क्यानको सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको जीवन बिमा गर्ने निर्णय पनि क्यानले गरेको छ। यसका लागि कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ।

जसमा सदस्यमा दुर्गाराज पाठक र छुम्बी लामा छन्। समितीले सात दिनभित्रमा पोलिस बनाएर प्रक्रिया अगाडि बढाउने छ। यसका साथै कार्यसमिति र कर्मचारीको पनि बिमा गरिने जनाइएको छ। 

नयाँ प्रशिक्षक खोजी

यसका साथै नयाँ प्रशिक्षकका विषयमा केही दिनमा टुंगो लाग्ने बताइएको छ। प्रशिक्षकका साथै जनरल म्यानेजर, क्रिकेट व्यवस्थापक, फाइनान्स म्यानेजरका लागि खोलिएको आवेदनको अन्तिम मिति भोली (बुधबार) सकिँदैछ। क्यानको कार्यसमितिको बैठकमा पहिलो पटक कप्तान र प्रशिक्षक पनि सामेल गरिएको थियो।

खेलाडीको वर्गीकरण  र तलब

नेपाल क्रिकेट संघ क्यानले २०२० को नयाँ केन्द्रीय सम्झौता गरेको छ। जसमा पुरुषतर्फ १८ जना खेलाडीलाई समावेश गरेको छ। महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राखेको छ।

पुरुषतर्फ तीन श्रेणीमा खेलाडी वर्गीकरण गरिएको छ। जसमा पुरुषतर्फको ए श्रेणीमा रहेका खेलाडीले मासिक ५० हजार पाउनेछन्। बी श्रेणीका खेलाडीले ४० हजार र सी श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ पाउने भएका छन्।

उनीहरुको सम्झौता २०२० को सुरुवातबाट नै लागु हुनेछ। नयाँ सम्झौतामा  यसअघि सोमपाल कामी पहिलो श्रेणीमा थिए, नयाँ श्रेणीमा उनी बी मा झरेका छन।

पुरुषतर्फको नयाँ ग्रेडिङ
ए श्रेणी : पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी
बी श्रेणी : सुसन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सराफ
सी श्रेणी : सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अभिनास बोहोरा, कमल ऐरी

यस्तै महिला तर्फका १९ खेलाडीलाई तीन श्रेणीमा राखेको छ। जसमा ए श्रेणीमा पर्ने खेलाडीले १५ हजार, बी श्रेणीमा पर्ने खेलाडीले १२ हजार र सी श्रेणीमा पर्ने खेलाडीले १० हजार रुपैयाँ पाउने भएका छन।

महिला तर्फको वर्गीकरण 

ए श्रेणी : रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता राना मगर, करुणा भण्डारी,
बी श्रेणी : ज्योति  पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर
सी श्रेणी : कविता कुवँर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, सोभा आले

सबैले क्यानको तर्फबाट २०२० जनवरीदेखि तलव पाउने भएका छन।

पारस खड्कालाई टोयोटा गाडी! 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सन् २०१४ आइसीसी टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेवापत दिने भनेको टोयोटा गाडी प्रदान गर्न पहल गर्ने भएको छ। 

क्यान कार्यसमितिको बैठकले युनाइटेड ट्रेडबाट पाउने गाडीको कर छुटका लागि राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय र अन्य सरकारी निकायलाई पत्राचार गर्ने भएको छ।

टी–२० विश्वकपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका खड्कालाई त्यो बेला नै टोयोटा गाडी दिने घोषणा गरेको थियो। तर बीचमा क्यान निलम्बन हुँदा त्यो निर्णय अलपत्र थियो।

ललित भण्डारीलाई सहयोग 

यसका साथै क्यानले हाल ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ललित भण्डारीका लागि आवश्यक सहयोग गर्ने बताएको छ। 

ललितको दुर्घटनामा पर्दा गाडीवाला, अस्पताल र पुलिसको खेलाडी भएका नाताले सबैलाई एकजुट गर्न आवश्यक पहल कदमी गर्ने र परेको सहयोग गर्ने निर्णय गरेको छ।

लामा र गिरीलाई स्वागत

राष्ट्रिय खेलकुद परिषद्को कोटामा नेपाल क्रिकेट संघको सदस्यमा मनोनयनमा परेका दुई सदस्य चुम्बी लामा र धर्मराज गिरीलाई औपचारिक रुपमा क्यानमा स्वागत गरेको छ। 

बैठकमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले लामा र गिरीलाई आधिकारीक रुपमा स्वागत गरेका हुन्। परिषद्ले क्यानको सदस्यमा मनोनयन गरेर पत्र दिएको करिव दुई महिनापछि उनीहरु क्यानमा आधिकारीक रुपमा प्रवेश गरेका हुन्।

उनीहरुको पत्र यसअघि नै क्यानमा पुगे पनि कार्यसमितिको बैठक बस्न नसक्दा त्यसले वैधानिकता पाउन सकेको थिएन। तर आजको बैठकबाट उनीहरु क्यानको कार्यसमितिमा प्रवेश गरेका छन्। लामा र गिरीलाई अध्यक्ष चन्दले खादा लगाएर स्वागत गरेका थिए।

पूर्व सदस्यसचिव युवराज लामाको पालामा क्यानको अध्यक्ष बनेका टंक आङबुहाङको पालामा क्यानमा प्रवेश गरेका छुम्बी लामा नेपाल क्रिकेट संघ निलम्बन हुँदा पनि सक्रिय भएर काम गरेका थिए। क्यानमा भावना घिमिरे प्रमुख कार्यकारी अधिकृत हुदा उनी चिफ अपरेटिङ अफिसर भएर काम गरेका थिए।

उनले मूलपानीको क्रिकेट मैदान निर्माणका लागि खेलाडी तथा प्रशिक्षकलाई समावेश गरेर एक समय खेल्न योग्य बनाएका थिए। तर बजेट अभावका कारण त्यो काम रोकिएको थियो। पछिल्लो पटक उनी पोखरा प्रिमियर लिगको प्रबन्ध निर्देशकका रुपमा छन्।

धर्मराज लुम्बिनीबाट क्रिकेट खेलेका र मदन भण्डारी स्पोर्टस फाउन्डेसनको क्रिकेट विभागका उपाध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.