|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिल्लागत संगठन संरचना समायोजनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रदेश २ का आठ जिल्ला र अन्य गरी ११ जिल्लामा लामो समयदेखि समायोजनको काम अगाडि बढाउन नसकेको कांग्रेसले थप ६ जिल्लामा समायोजनको काम सकेर  ५ जिल्लाको मात्रै बाँकी रहेको जनाएको छ। 

अब प्रदेश २ का सिरहा, सप्तरी, धनुषा, बारा र बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा समायोजनको काम बाँकी रहेको कांग्रेसका केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले थाहाखबरलाई जानकारी दिए।  

‘कोरोना भाइरसको कारण अहिले समय धकेलियो तर, पनि आजको मितिसम्म ७२ जिल्लाको समायोजनको काम पुरै सकियो,’ अधिकारीले भने, ‘धनुषाको काम त हामी अब केही दिनमै सक्छौँ। धनुषाको सबै विवरण उपलब्ध भइसकेको छ। अन्य जिल्लाका सभापतिहरूलाई पनि केन्द्रले विवरण पठाउन भनिसकेको छ।’ 

कांग्रेसको महाधिवेशन फागुन ७ गतेलाई तोकिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गतेलाई बोलाइएको छ। उक्त बैठकमा महाधिवेशनको नयाँ मिति तोकिन सक्ने बताइएको छ। गत असार २२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति (फागुन ७–१०) लाई यथावत राखेर तल्लो तहको तत्कालीन कार्यतालिका परिमार्जन गरेको थियो। असार २२ ले तय गरेको कार्यतालिका अनुसार यति बेला सदस्यता वितरण, नवीकरण र संगठन संरचनाको काम सक्नुपथ्र्यो।​ बैठकले साउनको १० गते अन्तरिम समायोजनको काम सक्ने अन्तिम मिति तोकेको थियो। 

संगठन संरचनाहरु समायोजन हुन नसके कै कारण सदस्यता वितरण र नवीकरणको काम पनि रोकिएको छ। क्रियाशिल सदस्यता वितरण र नवीकरणको काम सक्ने मिति डेढ महिना अघि नै सक्नुपर्ने भएपनि अझै भएको छैन। असार २५ गतेदेखि साउन मसान्तलाई क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सक्ने मिति कार्यतालिकामा थियो। 

अहिले कांग्रेसका नेताहरु फागुनमा १४ हौँ महाधिवेशन सम्भव नभएको बताउन थालेका छन्। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले साउनमै भनेका थिए, ‘फागुनमा महाधिवेशन सम्भव छैन। जेठ या अरु कुनै महिनामा गर्ने गरी छलफल गरौँ।’सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद गत फागुनमै सकिएको हो। देउवाले विधान अनुसार थप गर्न पाउने एक वर्ष थपेर फागुनमा महाधिवेशन गर्ने निर्णय गराएका थिए। यो फागुन पछि केन्द्रीय कार्यसमिति स्वत भंग हुने वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन्। उनले १३ औँ महाधिवेशनका प्रतिनिधिलाई कायम गरेर पनि फागुनमा महाधिवेशन गर्ने पर्ने बताएका छन्। 

उनले अबको पाँच महिनामा आवश्यक तयारी गरेर फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन्।  ‘बाँकी रहेको ५ महिना सिङ्गै अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो,’ पौडेलले फेसबुकमा लेखेर भनेका छन्, ‘त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाउन सकिन्छ भन्ने मेरो आशय हो।’ 

उनले अहिलेको पार्टीको नेतृत्वको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनबाट नयाँ नेतृत्व आउनुपर्ने बताए। ‘नेपाली कांग्रेसको वर्तमान विधानअनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ’, उनलेभने, ‘असाधारण परिस्थिति परेको खण्डमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भनिएको छ। जसअनुसार विधानत आउँदो फागुन उता यो कार्यसमिति कायम रहन सक्ने आधार समाप्त हुँदैछ।’ 

सभापति शेरबहादुर देउवाको नियत महाधिवेशन टारेर पार्टीलाई संकट तिर धकेल्ने रहेको आरोप पनि पौडेलले लगाएका छन्। ‘वर्तमान नेतृत्वको नियत हेर्दा महाधिवेशन नै टारेर पार्टीलाई संकट तिर धकेल्ने कोशिश देखिन्छ,’ उनले भनेका छन्, ‘किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराइएको छैन ।’  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.