|

सोलुखुम्बु : बहराइनका राजकुमार सहितको आरोहण टोली खुम्बु आउने कार्यक्रम प्रभावित भएको छ। निरन्तर पानी पर्दा मौसम प्रतिकूल भएपछि आरोहणदल काठमाडौंमै रोकिएको छ।

हिमाल आरोहणका लागी राजपरिवार सहितको टोली हिजो (बुधबार) विमानमार्फत लुक्ला आउने कार्यक्रम रहेको थियो। तर, उडान हुन नसक्दा टोली काठमाडौंमै रोकिएको नेपाल नागरिक उड्यन प्राधिकरण कार्यालय, लुक्लाले जानकारी दिएको छ।

समिट एयरमार्फत बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली काठमाडौंबाट लुक्ला आउने कार्यक्रम तय भएको थियो। तर, मौसम प्रतिकुल हुँदा तेन्जिङ हिलारी विमानस्थल लुक्लामा बुधबार दिनभर कुनै उडान हुन सकेन। 

खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार गत बुधबार नेपाल आएका थिए। राजकुमारको टोली शेख इशा एअरवेजको विशेष विमान चढेर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो। टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन बेलायतीपनि सामेल रहेको बताइएको छ।

विश्वव्यापी कोरोना महामारीबीच लामो समयपछि मंगलबार दुई जना जर्मन नागरिकहरू खुम्बु भित्रिएका छन्। उनीहरू काठमाडौंबाट पीसीआर परीक्षण गराएर विमानमार्फत खुम्बु आएका हुन्‌। लामो समयपछि आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए।

कोरोना महामारीका कारण पर्यटन क्षेत्रका गतिविधि ठप्प हुँदैगर्दा बहराइनी राजकुमारको आरोहण टोली खुम्बु क्षेत्रमा आए त्यसबाट विश्वभर नेपालको पर्यटनबारे सकारात्मक सन्देश जाने र पर्यटक आगमन भई थलिएको खुम्बु क्षेत्रको व्यवसाय फस्टाउने आशा जागेको व्यवसायीहरू बताउँछन्‌।

निकुञ्ज चेकपोष्टका कर्मचारी फुर्सदिला

पर्यटक नआउँदा सगरमाथा राष्ट्रिय निकुञ्ज चेक पोष्टका कर्मचारी फुर्सदिला बनेका छन्। अघिल्लो वर्ष असोज लागेसँगै पर्यटक इन्ट्री गराउन भ्याइ-नभ्याइ भएका कर्मचारी यस वर्ष कोरोनाका कारण पर्यटक आगमन शून्य हुँदा फुर्सदिला बनेका हुन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार अघिल्लो वर्ष यही सिजनमा दैनिक आठ सय जनासम्म पर्यटक प्रवेश गर्ने गरेकोमा यस वर्ष निकुञ्‍ज सुनसान बनेको छ। पर्यटक आवागमन ठप्प हुँदा चेकपोस्टका केही कर्मचारीहरूलाई भने निकुञ्ज क्षेत्रको गस्तीमा खटाएको संरक्षण अधिकृत उपाध्यायले बताए।

तर, मानवीय चहलपहल कम हुँदा वन्यजन्तुलाई भने राहत मिलेको छ। विगतमा दैनिक २० वटासम्म हेलिकोप्टरको उडान हुने तथा मानिसहरूको चहलपहल बढी हुँदा प्रभावित भएका वन्यजन्तुहरू अहिले स्वतन्त्र रुपमा बस्न पाएकोे निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

सगरमाथा सहित अन्य दर्जनौ हिमाल आरोहण गर्न आउने हजारौ पर्यटकको चहलपहलका कारण वन्यजन्तुलाई असहज हुँदै आएको कार्यालयका प्रमुख उपाध्यायको भनाई छ।

वि.सं. २०३२ मा स्थापित सो निकुञ्ज एक हजार १४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्‍जमा कस्तूरी, मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल र झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लाल चुच्चे काग (टुंगा) र पहेँलो चुच्चे कागलगायत १९३ प्रजातिका चरा पाइन्छन्‌। तर, यहाँ पाइने वन्यजन्तु र पंक्षीहरूको संख्या तथा अवस्थाबारे हालसम्म औपचारिक रुपमा सार्वजानिक गराइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.