|

भद्रपुर : विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले 'विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७' को स्वीकृत गरेसँगै कचनकवल गाउँपालिकाले असोज १ गतेदेखि गाउँपालिकाका भित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूले कक्षा ४ देखि १२ कक्षासम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ। 

सोही निर्णयबमोजिम अहिले गाउँपालिकाका विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयमै प्रत्यक्ष सिकाइ सहजीकरण सुरु गरिसकेको छ। तर, गाउँपालिकाभित्रका दुई वटा विद्यालयका विद्यार्थी भने त्यसबाट वञ्चित हुनु परेको सम्बन्धित विद्यालयका शिक्षक हरुले गुनासो पोखेका छन्। 

जिल्लामै कोरोनाको इपिसेन्टर बनेको गाउँपालिकामा त्यस बेला ६ वटा विद्यालयमा क्‍वारेन्टाइन स्थापना गरिएको थिए। ६ वटामध्ये लक्ष्मी मावि बनियानी र पथरिया मावि पथरियामा भने अझै क्‍वारेन्टाइन हटाइएको छैन।

अरू चार वटा विद्यालयको क्‍वारेन्टाइन हटाइसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। गाउँपालिकाभित्र क्‍वारेन्टाइन बनाउने अन्य वैकल्पिक व्यवस्था नहुँदा दुई वटा विद्यालयमै क्‍वारेन्टाइन कायम राखिएको उनको भनाइ छ। 

कोरोना महामारीपछि लगाइएको लकडाउनले लामो समयदेखि स्कुल जना नपाएका विद्यार्थी नजिकैको बोर्डिङ स्कुलमा जान थालेपछि लक्ष्मी माविका विद्यार्थीहरूमा मनोवैज्ञानिक चिन्ता देखिन थालिएको छ।

विद्यालयमा क्‍वारेन्टाइन रहेकोले विद्यार्थीहरू गेटसम्म आउने र फर्किने गरेका विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले बताए। अहिले व्यक्ति घरमा एउटा कोठा लिएर विद्यालयले प्रशासनिक काम गरिरहेको उनले बताए।

सरकारले विद्यालयबाट क्‍वारेन्टाइन हटाउने भनी निर्देशन दिए पनि गाउँपालिकाले विविध कारण देखाउँदै विद्यालयबाट क्‍वारेन्टाइन नहटाउँदा शिक्षक तथा विद्यार्थी दुवैले समस्या भोग्नुपरेको सोही विद्यालयका शिक्षक होमनाथ अर्याल बताए। समयमै विद्यार्थी र अभिभावकलाई उचित परामर्श दिन नसक्दा त्यसको फाइदा भने निजी बोर्डिङ स्कुलहरूले उठाइरहेको उनको भनाइ छ। 

छिटोभन्दा छिटो वैकल्पिक व्यवस्थापन गरी विद्यालयको क्‍वारेन्टाइन अन्यत्र सार्न विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले गाउँपालिकासमक्ष आग्रह गरेका बताए। ‘गाउँपालिका भित्रका विद्यालय खुलाउँदा सबै विद्यालय खुलाउने व्यवस्थापन मिलाउनुपर्ने हुन्थ्यो, तर त्यसो नहुँदा पठनपाठनमा एकरुपता हुन सकेन,' उनले भने। 

अरू विद्यालयमा प्रत्यक्ष सिकाइ सहजीकरण सुरु भइसकेको बताउँदै पथरिया माविका प्रधानाध्यापक कृष्णकुमार शर्माले भने, ‘विद्यालयको क्‍वारेन्टाइन नहटाएसम्म विद्यार्थी बोलाउने अवस्था छैन।’ गाउँपालिकाले क्‍वारेन्टाइन हटाउने विषयमा सकारात्मक रहेको बताउँदै प्रअ शर्माले भने, ‘अहिले विद्यालयमा प्रशासनिक कामबाहेक केही गर्न सकिएको छैन, विद्यालय सञ्चालन गर्ने अन्य विकल्प पनि छैन।’

सरकारले विद्यालयबाट क्‍वारेन्टाइन हटाउने निर्णय गरेसँगै गाउँपालिकाले पनि भदौ १२ गते विद्यालयको क्‍वारेन्टाइन हटाउने निर्णय गरिसकेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतले जानकारी दिए। दुई वटा विद्यालयको क्‍वारेन्टाइन हटाउने विषयमा गाउँपालिकासँग कुरा गर्न उनको भनाइ छ। विद्यालयको क्‍वारेन्टाइन हटाई लक्ष्मी मावि क्याम्पसको निर्माणाधीन भवनमा क्‍वारेन्टाइन बनाउनेबारे गाउँपालिकाले निर्णय गरिसकेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए। 

असोज २० गतेभित्र क्‍वारेन्टाइन व्यवस्थापन गरी सकिन्छ, उनले भने, ‘त्यहाँ ५० देखि ६० बेड क्षमताको क्‍वारेन्टाइन बनाउने काम तीव्र गतिमा भइरहेको छ। त्यहाँ बनेपछि विद्यालयको क्‍वारेन्टाइनमा राखिएकाले त्यहाँ सारिने छ।’

यादवका अनुसार अहिले लक्ष्मी माविमा तीन जना र पथरिया माविमा २६ जना बसेका छन्। उनीहरूको स्वाब सङ्कलन भइसकेको छ। रिपोर्ट नेगेटिभ आएपछि त्यो खाली हुन्छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.