|

जनकपुरधाम :  जनकपुर (कुर्था)-जयनगर रेल संचालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले आह्वान गरेको कर्मचारी भर्ना प्रक्रिया स्थगित भएको हल्ला फैलिएको छ।

जनकपुरमा विगत दुई दिनदेखि फैलिएको हल्लाका कारण विज्ञापन भर्नेहरू हतोत्साहित भएका हुन्। कतिपयले फारम नै नभर्ने मनस्थिति बनाइसकेका छन्। यसबारे नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले कर्मचारी भर्ना प्रक्रिया स्थगित नभएको स्पष्ट पारेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल रेल्वे कम्पनीको भर्ना प्रकृया रद्द भयो भनेर २ नम्बर प्रदेशमा हल्ला फिँजाइएको छ भन्ने कुरा जनकपुरस्थित सञ्चारकर्मीहरु मार्फत जानकारीमा आएको छ। कोही कुनै भ्रममा नपर्नुहोला, भर्ना प्रकृया रद्द भएको छैन।’ उनले भर्ना प्रक्रिया रद्द हुनु पर्ने कुनै कारण पनि नरहेको स्पष्ट गरेका हुन्।

महाप्रबन्धक भट्टराईले आवेदन दिनु हुने साथीहरु तथा आबेदन दिने प्रकृयामा रहनुभएका साथीहरुको भावना भड्काउने यस्ता खालका भ्रम फैलाएको भन्दै त्यसको पछाडी नलाग्न पनि आग्रह गरेका छन्।

जनकपुरको कुर्थादेखि बिहारको जयनगरसम्म रेल संचालनका लागि रेल्वे कम्पनीले विभिन्‍न पदमा १२९ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। विज्ञापन भर्ने समय असोज १२ गतेसम्मका लागि तोकिएको छ। कर्मचारी भर्ना र बोर्डर क्रस रेल संचालनको सम्झौता लगायतका प्रक्रिया पुरा गरी डेढ महिनाभित्रै रेल संचालन गर्ने महाप्रबन्धक भट्टराईको दावी छ।

सरकारले भारतीय कम्पनीबाट ८४ करोडमा खरिद गरेको दुई रेल सेट नेपाल भित्र्याइसकेको छ। अहिले दुवै रेल सिमावर्ती क्षेत्र धनुषाको इनर्वा स्टेशनमा राखिएको छ। रेलको सुरक्षा सशस्त्र प्रहरीले गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.