|

काठमाडौं : कोरोना संकटका कारण अस्तव्यस्त काठमाडौंमा लगातारको झरीले गरिब र सुकुम्बासीको झन् बिजोग भएको छ। कोरोना संकटका नाममा सरकारले लकडाउन र निषेधाज्ञा गरेपछि दुई छाक टार्न नसक्नेहरुको त बिचल्ली नै भएको छ।

यिनै बिचल्लीमा परेकाहरुलाई  ७ महिनादेखि उपत्यकाको पुरानो बसपार्कमा हन्ड्रेड ग्रुपले खाना खुवाइरहेको छ। दैनिक दुई छाक खाना गरिबहरुलाई खुवाइरहेको यो ग्रुपलाई न झरीले छेक्छ न घाम र आँधी हुरीले नै।

अविरल वर्षासँगै बिहीबार उपत्यकाका विभिन्‍न क्षेत्रबाट भोको शरीर खानाका लागि बसपार्कमा लाम लाग्‍ने भीड उस्तै थियो। २४ वर्षदेखि असनमा भारी बोकेर जीवन धानिरहेका हरि सुवेदी पनि यो झरीमा खानाको लाइनमा थिए।

'पेटले झरी भनेन। भोको पेट भर्न रुझ्दै बसपार्क आएको हुँ', उनले प्लाष्टिकको तरकारी देखाउँदै भने, 'श्रीमती भने आज आउन सकिन। त्यसैले तरकारी र थोरै चिउरा लिएर कोठा फर्किँदै छु।' ७ महिनादेखि खानाको लाइनमा बसेर पेट भरिरहेका उनले प्रधानमन्त्रीलाई समृद्धिको गफ नलगाउन आग्रह गरेका छन्।

'देशमा कम्युनिस्ट सरकार छभन्दा मलाई लाज लाग्छ। यदि प्रधानमन्त्रीले मेरो आवाज सुन्‍नुहुन्छ भने कृपया अबदेखि समृद्धिका गफ गर्न छोडिदिनुस्।' हण्ड्रेड ग्रुपमा अध्यक्ष अन्शु यादवले दशैं नजिकिँदै जाँदा खाना खानेको कमी हुँदै आएको बताए।

उनले भने, 'धेरैलाई त हामीले गाडी खोजेर गाउँ पठाएका छौं। अझै दिनको ३ सय जतिलाई भने खाना खुवाइरहेका छौं। 'उनी भने सरकारप्रति कुनै गुनासो राख्दैनन्, सरकारले आफ्नो काम गरिरहेको होला। 'हामीले आफ्नो काम गरिरहेका छौं', उनले भने, 'कुनै दिन त यो सरकारको आँखा गरिबमाथि पर्ला नि।'​

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.