|

काठमाडौं : चिकित्सा शिक्षा सुधार लगायतका बिभिन्न माग गर्दै १९ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यावस्था कमजोर बनेको छ। दुई दिन अघि साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका डा. केसीको यो पटकको सत्याग्रहको आज ११ औं दिन पुगेको छ।

सहयोगी प्रितम सुवेदीले डा. केसी ११ औं दिनमा आइपुग्दा एकदमै गलेको र बोल्नसक्ने अवस्थामा समेत नरहेको थाहाखबरलाई जानकारी दिए।

यसपटकको सत्याग्रह जुम्लामा थालेका डा. केसीको स्वास्थ्यावस्था कमजोर बनेपछि सरकारकै बलमा नेपालगञ्जबाट काठमाडौं ल्याइएको थियो।

त्यस क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले उपचारका लागि भन्दै जवरजस्ती ट्रमा सेन्टर लगेको थियो। प्रहरीको व्यवहारको चौतर्फी आलोचना भएपछि उहाँ मंगलबार साँझै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

यसैबीच, सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

झरीको परवाह नगरी सडकमा उत्रिएका युवाहरुले ‘लुटतन्त्र बन्द गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनका क्रममा प्रहरीले युवाहरुको समूहलाई तितरबितर पारेको थियो । सो समुहले भोली पनि प्रदर्शन गरिने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.