|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ। 

पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको  उच्च स्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो। 

पर्यटन मन्त्रालयका सह-सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी  सदस्य रहेको एक समिति निर्माण गरिएको छ।

जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरूलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने भएको हो। 

त्यस्तै बैठकले पशुपति मन्दिर लुम्बिनी,सङ्ग्रहालय खोल्न सम्बन्धमा प्रोटोकल तयार गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा पेश गर्ने निर्णय गरेको छ। 

बैठकले, बंगलादेश,ईन्डोनेसिया, रसिया, कोरिया फिनल्यान्डसँग भएको हवाई सम्झौता असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णयसमेत गरेको छ। 

त्यस्तै पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रुपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णय गरेको छ। 

बैठकले हप्ता दिन भित्र हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई  निर्देशन दिएको छ। 

मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.